आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ इतिहास रच्दै गदर–२ मात्र २४ दिनमा ५ सय करोड क्लबमा प्रवेश

मङ्गलबार, १९ भदौ २०८०, १२ : २३
मङ्गलबार, १९ भदौ २०८०

मुम्बई । सन्नी देओल स्टारर फिल्म ‘गदर–२’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको हो । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारतीय रुपैयाँ संकलन गरेको छ ।

फिल्मको कुल कलेक्सन ५०१ करोड भारु रहेको छ । अब चलचित्रको नजर बाहुबली–२ को कलेक्शन रेकर्डमा छ । बाहुबली २ को हिन्दी संस्करणले भारतीय बक्स अफिसमा ५१०.९९ करोड रुपैयाँ कमाएको थियो।

२४ दिनमा ५०० करोड क्लबमा सामेल भएसँगै यो फिल्म सबैभन्दा छिटो ५०० करोड कमाउने फिल्म पनि बनेको छ । यसबाहेक यो ५०० करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म पनि बनेको छ । यसअघि बाहुबली–२ र पठान मात्र यो क्लबमा आबद्ध हुन पाएका थिए । ५ सय करोड कमाउन पठानलाई २८ तथा बाहुबली २  (हिन्दी संस्करण) लाई ३४ दिन लागेको थियो ।

गदर–२ ले स्वदेशमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरेको छ । बलिउड हंगामाका अनुसार फिल्मले विश्वभर ६५० करोड भारुभन्दा बढी कमाइसकेको छ । अष्ट्रेलिया, जर्मनी, अमेरिका र बेलायत जस्ता देशहरूमा यसले राम्रो आम्दानी गरिरहेको छ।

अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी–२’सँगै ‘गदर–२’ रिलिज भएको थियो । ‘ओएमजी–२’ ले पनि बक्स अफिसमा राम्रो कमाई गरे पनि ‘गदर–२’ लाई खासै प्रभाव पार्न सकेन । त्यसको दुई सातापछि आयुष्मान खुराना स्टारर फिल्म ‘ड्रिमगर्ल–२’ रिलिज भएको थियो र यो नयाँ फिल्म रिलिज भएपछि पनि ‘गदर–२’ ले राम्रो कमाई गरिरहेको छ ।

‘ड्रिम गर्ल–२’ ले पनि आइतबार ८.१० करोड कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ८६.१६ करोड पुगेको छ । आयुष्मान खुराना र अनन्या पाण्डे अभिनित यो फिल्म अहिले १०० करोड क्लबमा सामेल हुन लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप