आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा ‘भारत’ लेख्दा विवाद

मङ्गलबार, १९ भदौ २०८०, १६ : २२
मङ्गलबार, १९ भदौ २०८०

नयाँ दिल्ली । जी–२० शिखर सम्मेलनको अवरमा भारतीय राष्ट्रपतिको तर्फबाट दिइने रात्रिभोजका लागि छापिने कथित निमन्त्रणा पत्रलाई लिएर विवाद भएको छ । राष्ट्रपतिको तर्फबाट पठाइएको निमन्त्रणा पत्रमा कथित रूपमा ‘भारत’ को अङ्ग्रेजी नाम ‘इन्डिया’ को प्रयोग नगर्दा विवाद भएको हो ।

कांग्रेसले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा लेखेको छ, ‘जी–२० सम्मेलनका लागि राष्ट्रपतिद्वारा पाहुनाहरूलाई पठाइएको निमन्त्रणा पत्रमा ‘प्रेसिडेन्ट अफ इन्डिया’ को साटो ‘प्रेसिडेन्ट अफ भारत’ शब्दको प्रयोग गरिएको छ ।’ पार्टीले प्रश्न गरेको छ, ‘इन्डियासँग यत्रो डर किन ? यो विपक्षीका लागि मोदी सरकारको घृणा हो या डर वा आत्तिएको एक तानाशाहको सनक हो ?’

आम आदमी पार्टीका नेता राघव चड्ढाले आफ्नो ट्विटर अकाउन्टबाट कथित निमन्त्रणा पत्रको स्क्रिनसट सेयर गर्दै यो देश कुनै एक राजनीतिक पार्टीको नभएको जिकिर गरेका छन् । उनले लेखेका छन्, ‘जी–२० को निमन्त्रणामा भाजपाको तर्फबाट प्रेसिडेन्ट अफ इन्डियाको साटो प्रेसिडेन्ट अफ भारत उल्लेख गर्दा बहस सुरु भएको छ । भाजपा ‘इन्डिया’ माथि कसरी हमला गर्न सक्छ ? यो देश कुनै एक राजनीतिक पार्टीको होइन । यो १३५ करोड भारतीयको हो । हाम्रो राष्ट्रिय पहिचान भाजपाको निजी सम्पत्ति होइन जसले आफ्नो मर्जीले बदलोस् ।’

कांग्रेस महासचिव जयराम रमेशले आफ्नो ट्विटर अकाउन्टमा लेखेका छन्, ‘अब भारतीय संविधानको अनुच्छेद १ पढ्न सक्नुहुन्छ – भारत, जुन इन्डियो हो, राज्यको एक संघ हुनेछ ।’

उता नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि केन्द्र सरकारमाथि निशाना साधेका छन् । उनले भनेका छन्, ‘यदि भोलि हाम्रो ‘इन्डिया’ गठबन्धनले आफ्नो नाम फेरेर भारत राख्यो भने, के फेरि भाजपाले भारतको नाम पनि बदल्नेछ ? फेरि भारतको नाम बीजेपी राख्नेछ ? यो के मजाक हो ?’

विपक्षीको ‘इन्डिया’ गठबन्धन बन्दैमा हजारौँ साल पुरानो देशको नाम बदल्न खोजिएको उनको आरोप छ । ‘भाजपालाई लाग्दैछ यसो गर्दा ‘इन्डिया’ गठबन्धनको थोरै भोट कम हुनेछ । यो त देशको लागि गद्दारी हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप