राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको पनि आर्थिक पारदर्शिता हेर्नुपर्छः सांसद भट्टराई
काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राष्ट्रिय मान्यता प्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताएका हुन् । उनले राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरूको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी राजनीतिक पार्टीहरूलाई पारदर्शी र जबाफदेही बन्नुपर्ने बताए ।
समितिले दलको खर्चको स्रोत ,पार्टी सञ्चालन खर्च हेर्नुपर्ने बताए । भट्टराईले दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरुजु सम्बन्धित दलमा पठाउनुपर्ने र पुनः मन्त्री बन्ने/नबन्ने, टिकट दिने/नदिने सम्बन्धित दलले निर्णय गर्ने बताए ।
उनले पार्टीमा काम गरेपछि त्यो व्यक्तिले गरेको कामको प्रतिवेदन दललाई बुझाउनुपर्ने बताए । सांसद भट्टराईले समितिले निर्णयकर्ता र कार्यान्वयन कर्तालाई जिम्मेवार बनाउन आवश्यक रहेको बताए ।
उनले आर्थिक कार्यविधि ऐनमा समस्या भए सरकारले संशोधन गर्नुपर्ने बताए । उनले लेखा सुशासनसँग जोडिएको समिति भएकाले आवश्यक परे कारबाही गर्नेसम्मको सिफारिस र निर्देशन दिइनुपर्ने बताए ।