आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अधिवेशन

एमाले लुम्बिनीले दिएको सन्देशले अरु प्रदेशमा तरंग

मङ्गलबार, १९ भदौ २०८०, १८ : १७
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेको नेतृत्वको चाहानाविपरित लुम्बिनी प्रदेशमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको छ ।

‘सहमतिमा नेतृत्व चयन गर्न अथक र अनवरत कोसिस गरेपनि सम्भव भएन । र, लुम्बिनी प्रदेशमा बडो सौहार्द्र वातावरणमा मतदान सम्पन्न भएको छ’, नेकपा एमालेका प्रतिनिधि सभा सदस्य समेत रहेका नेता सूर्य थापाले मंगलबार मतदान सकिएपछि आफ्नो फेसबुक पेजमा अधिवेशनबारे लेख्दै सहमतिको अथक प्रयास असफल भएकोमा केही असन्तुष्टिको संकेत गरे । 

साथै उनले लुम्बिनी प्रदेश कमिटी अध्यक्षका प्रतिस्पर्धी हरिप्रसाद रिजाल र राधाकृष्ण कँडेलसँगै उभिएको तस्बिर पोष्ट गर्दै निर्वाचन अव मतगणनाको चरणमा पुगेको बताए । नेता थापा लुम्बिनी प्रदेश कमिटीको निर्वाचनका लागि झण्डै एक सातादेखि केन्द्रबाट खटिने नेतामध्येमा पर्छन् ।

त्यसो त भदौ १६ गते अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सकभर सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर प्रदेश अध्यक्षका आकांक्षीद्धय कँडेल र रिजाल ‘टसकोमस’ नभएपछि अन्ततः अधिवेशनको समय नै लम्ब्याएर मतदानमा जान निर्वाचन कमिटी बाध्य भयो । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् । कँडेल र रिजाल प्यानल नै बनाएर निर्वाचनमा जाने संकेत बुझेका अध्यक्ष ओलीले लुम्बिनीको अधिवेशन प्रदेशहरुको सुरुवात भएको र त्यसको प्रभाव अन्य प्रदेशमा पनि पर्ने भएकाले सकभर सर्वसम्मत नेतृत्व छनोटमा जोड दिएका थिए । 

कँडेल र रिजाल उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसँग जोडिएपछि पौडेल र पोखरेलले समेत अधिवेशनको उद्घाटन शत्रमा आफूहरुले कुनै गुट नचलाएको भनेर स्पष्टीकरण नै दिनु परेको थियो ।

‘नेतृत्वले पार्टी हित विपरीत केही पनि सोच्दैन । तपाईँहरू एकताबद्ध भएर जानुपर्छ’, अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्न सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्याललाई भएको भन्दै सबै नेता कार्यकर्ता र सिंगो पार्टी एकताबद्ध भएर अघि बढ्न सार्वजनिक रुपमै आह्वान गरेका थिए ।

‘फैसला दिनु प¥यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस्’, प्रदेश इन्चार्ज अर्याललाई समेत ओलीको निर्देशन थियो । यद्यपि ओलीले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताएका थिए । त्यसबखत अध्यक्ष ओलीले पार्टीभित्र आम रूपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेकोमा असन्तुष्टि समेत जनाएका थिए ।

तर, अध्यक्ष ओलीको निर्देशन लुम्बिनीको हकमा लागु हुन सकेन ।

एमाले उपाध्यक्ष समेत रहेकी अष्ट लक्ष्मी शाक्य अध्यक्षले त्यसरी दिएको निर्देशनमा ठूलो अर्थ रहेको बताउँछिन् । ‘अध्यक्षले दिएको निर्देशनमा ठुलो अर्थ रहन्छ तर लुम्बिनीमा त्यो लागु भएन । यसले अरु प्रदेशलाई पनि प्रभाव पार्ने नै देखिन्छ’, शाक्यले भनिन्, ‘संकटपूर्ण अवस्थामा सहमतिमै प्रदेश कमिटी चयन गर्न सकेको भए अझ राम्रो हुने थियो तैपनि निर्वाचन हुनु नराम्रो नै मान्न भने सकिदैन ।’ उपाध्यक्ष शाक्यले लुम्बिनीमा जस्तो अन्य प्रदेशमा गर्न नहुने पनि बताइन् ।

‘मेरो विचारमा अहिलेको समयमा सर्वसम्मत नै नेतृत्व छनोट गरेर जानुपर्ने हो । लोकतान्त्रिक विधिमा सर्वसम्मत हुनु नै सबैभन्दा राम्रो हो’, शाक्यले रातोपाटीसँग भनिन्,‘अहिले अप्ठेरो अवस्था छ । प्रदेशहरुलाई जोगाउन नै गाह्रो भैरहेको छ ।’ उनले निर्वाचनमा गएपछि थोरै भएपनि यताउता हुनसक्ने पनि बताइन् । लुम्बिनीको हकमा सर्वसम्मत नेतृत्व छनोट गर्न नेतृत्वले अलि बढी छलफल गर्नुपर्नेमा त्यो गर्न नसकेको स्वीकार गरिन् ।

‘कसैलाई पनि निषेध नगरी अलि बढी छलफल गरेर योगदान भएको, पाको पुस्ता र युवा पुस्ता दुवैलाई समेट्नेगरी सर्वसम्मत नेतृत्व छनोट गर्न सक्नुपथ्र्यो’शाक्यले भनिन्,‘ त्यसका लागि अलि अभाव भएको हो कि भन्ने मलाई लागेको छ ।’

उनले बागमतीको सवालमा लुम्बिनीको जस्तो नहुने पनि बताइन् । ‘बागमतीको सवालमा लुम्बिनीको जस्तो हुँदैन । योगदानको आधारमा सबैलाई मिलाएर जानुपर्छ भनेर हामीले कुरा गरिरहेका छौ ।’

एमालेका अर्का पोलिटब्युरो सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य समेत रहेका खिमलाल भट्टराईले भने लुम्बिनीको नेतृत्व छनोटमा अपनाएको प्रक्रियालाई लोकतान्त्रिक अभ्यासका रुपमा अर्थ्याएका छन् ।

‘हामीले लोकतान्त्रिक अभ्यास गरेका छौ । यसलाई सिंगो पार्टीपंक्तिले असाध्यै सहजरुपमा लिन्छ र एकताबद्ध भएर सुदृढ पार्टी निर्माणमा क्रियाशील हुनेछ’, भट्टराईको भनाई छ ।

कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका सचिव लेखराज भट्टले भने अध्यक्षले सर्वसम्मत नेतृत्व चयन गर भनेर भन्नु स्वाभाविक रहेको भन्दै निर्वाचन प्रक्रिया पनि लोकतान्त्रिक पद्धति नै भएकाले अन्यथा लिन नहुने बताए । लुम्बिनीको असर अन्य प्रदेशमा नपर्ने समेत भट्टको भनाइ छ । ‘लुम्बिनीको असर अन्य प्रदेशमा पर्छ जस्तो लाग्दैन’, नेता भट्टले रातोपाटीसँग भने,‘अव अरु प्रदेशमा नेतृत्वले थप छलफल र परामर्श पनि नगर्ला र लुम्बिनीको जस्तो नहोला भन्ने मेरो विश्वास छ ।’

लुम्बिनीपछि असोज ८ र ९ बागमती प्रदेश, १० र ११ गते कर्णाली प्रदेशमा नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुँदैछ । त्यस्तै असोज १२ र १३ मा कोशी, १५ र १६ गण्डकीको, १९ र २० मा उपत्यका विशेष प्रदेश असोज २१ र २२ मा सुदूरपश्चिम प्रदेश र २४ र २५ गते मधेस प्रदेशको अधिवेशन गर्ने एमालेको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप