आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रमा मतसंख्या र सदस्यसंख्या वृद्धिको पिरलो, कुन प्रदेशमा कस्तो छ अवस्था ?

मङ्गलबार, १९ भदौ २०८०, १९ : ३१
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले भदौ १६ देखि ७५३ वटै पालिकाको वडास्तरीय जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गरेको छ । 

साउनको तेस्रो साता राजधानीमा सकिएको केन्द्रीय समिति बैठकमा संगठन अस्तव्यस्त भएको, प्रत्येक निर्वाचनमा माओवादीले धक्का खाँदै गएको, राष्ट्रिय राजनीतिमा माओवादी कमजोर भएको निष्कर्ष निकाल्दै शक्ति आर्जनका लागि जनतामा जाने निर्णय गरेको थियो । 

सोही बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको पछिल्लो सांगठनिक अवस्थाबारे प्रतिवेदन पेस गरेका थिए । माओवादी सदस्य बराबर पनि भोट नआएकोमा उनले गम्भीर चिन्ता व्यक्त गरेका थिए । माओवादीमा मतसंख्या र सदस्य संख्या ज्यामितीय अंकमा घट्नेक्रम रहेका भन्दै नेताहरूले चिन्ता  व्यक्त गरेका छन् । 

प्रदेशसमितिले दिएको प्रतिवेदन अनुसार अध्यक्ष प्रचण्डले हाल माओवादीको सदस्य संख्या ७ लाख ५२ हजार ९५६ तथ्य प्रस्तुत गरेका थिए । जसअनुसार प्रदेश कोशी प्रदेशमा ९ हजार ६०१, मधेस प्रदेशमा १ लाख १६ हजार ९७५, बागमती प्रदेशमा १ लाख ४७ हजार ३५३, गण्डकी प्रदेशमा ६६ हजार ६८७, लुम्बिनी प्रदेश १ लाख १२ हजार ९१० रहेको छ । 

त्यस्तै कर्णाली प्रदेशमा ८५ हजार ७७४, सुदूरपश्चिम प्रदेश ८० हजार ४८२, सम्पर्क समन्वय प्रदेश १९ हजार ३१२, उपत्यका विशेष प्रदेशमा १ लाख ८ हजार ३२५, र प्रवास समन्वय प्रदेश ५ हजार ५३७ देखिन्छ । यसलाई अद्यावधिक गर्नुपर्ने तथा संगठन विस्तारको अभियान सञ्चालन भएको उनले प्रतिवेदनमा उल्लेख गरेका थिए । 

गएको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले समानुपातिकतर्फ जम्मा ११ लाख ७५ हजार ६८४ मत ल्याएर तेस्रो स्थान कायमै राखेको थियो । उक्त मत माओवादीको जम्मा सदस्यसंख्याभन्दा ४ लाख २२ हजार ७२८ बढी मत देखिन्छ । कतिपय प्रदेशमा सदस्यसंख्या थोरैले मात्र मत अगाडि रहेको छ । अधिकांश जिल्लामा माओवादीको सदस्य संख्या बराबर पनि मत खसेको देखिँदैन । 

गएको निर्वाचनमा समानुपातिकतर्फ माओवादीले कोशी प्रदेश जम्मा १ लाख ८१ हजार २४५ मत पाएको थियो । मधेसमा १ लाख ८० हजार ८६०, बागमतीमा २ लाख ९० हजार ७२३ मत पाएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । त्यस्तै गण्डकीमा १ लाख १६ हजार ९४५, लुम्बिनीमा १ लाख ९८ हजार ४५०, कर्णालीमा १ लाख ३७ हजार ६२९, सुदूरपश्चिममा १ लाख २१ हजार ४३१ मत पाएको थियो । 

अध्यक्ष प्रचण्डले धेरै जिल्लामा पार्टी सदस्य संख्या बराबर भोट नआउनुमा गुटगत प्रभाव, अन्तघार्त प्रमुख कारण रहेको उल्लेख रहेका थिए । 

माओवादी केन्द्रमा अहिले तीन आयोगका साथै ३४ विभागहरू क्रियाशील रहेका छन् । त्यस्तै विशेष प्रदेशहरूसहित दश प्रदेश समिति, भौगोलिक र गैरभौगोलिक गरी ११० जिल्ला समन्वय समिति छन् ।  नगर र गाउँपालिका समितिहरू र वडाहरूमा पार्टी समितिहरू विस्तार भएको, जबस, मोर्चा र पेशागत संगठन गरी जम्मा २९ वटा संगठन क्रियाशील रहेको  गरेका छन् । 

विशेष अभियानपछि माओवादी फेरी शक्तिशाली संगठन बन्ने दाबी नेताहरूले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप