आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जनयुद्ध संस्मरण

सैनिक हिरासतमा त्योे अन्तिम भेट, त्यसयता उनीहरू बेपत्ता...

बुधबार, २० भदौ २०८०, ११ : ११

आँखामा कालो पट्टी, हातमा हतकडी र खुट्टामा सिक्री बाँधिएको अवस्थामा थिएँ म । ड्युटी बसेको सिपाहीले मलाई एउटा बन्द कोठाभित्र लगेर हुलिदियो र बाहिरबाट चाबी ठोकिदियो ।

आँखामा पट्टी भएकाले बन्द कोठाभित्रको अवस्थाबारे म जानकार थिइनँ । केही समयपछि कसोकसो आँखामा बाँधेको पट्टी थोरैमाथि सारेर दायाँ–बायाँ हेरेँ । कास्कीका प्रदीप खनाल (सुलभ) कोठाको कुनामा लडिरहेका थिए । उनीछेउ गएर बिस्तारै बोलाएँ, ‘हेलो सुलभजी !’ उनले टाउको उठाएर आँखाको पट्टी माथि सारेर आँखा मिच्दै हेरे र भने, ‘ओहो रविन्द्रजी, तपाईं !’ 

‘के छ हालखबर ?’ मैले सोधेँ । 

दाह्री बढेर ढाकिएको अनुहारमा उदास भाव ल्याउँदै उनी बोले, ‘के हुनु ! सेनाको गोदाइ खायो बस्यो ।’ 

सेनाको यातनाले उनको शरीर सुन्निएर हावा भरेको भकुन्डोझैँ भएको थियो । ‘कसरी गिरफ्तार पर्नुभयो ?’ मैले सोधेँ,

‘खै कमरेड, के सुनाउँ तपाईंलाई !’ 

भन्नुस् न, तपाईं हाम्रो अवस्था एउटै त हो !

मैले कर गरेपछि उनले आफू गिरफ्तार परेको बेलिबिस्तार लगाए । उनी पोखराको नयाँ बजारमा डेरा गरी बस्थे । धादिङका सुवास भण्डारी (जितवीर)ले उनलाई फोन गरेछन्, ‘म काठमाडौँबाट आउँदै छु । तपाईंलाई भेटेर केही नयाँ योजनाका बारेमा छलफल गर्नु छ । पोखरा आइपुगेपछि फोन गर्छु ।’ 

पोखरा आएर उनले सुलभजीलाई फोन गरे । बिन्दबासिनी फिल्म हलछेउ भेट्ने कुरा भएको थियो । सुलभजी ट्याक्सी लिएर सम्पर्क स्थानमा पुगेछन् । रेस्टुरेन्टमा बसेर चिया पिउँदै गर्दा पहिले नै तयारी अवस्थामा बसेको शाही सेनाले घेरा हालेर उनीसहित ट्याक्सी ड्राइभरलाई पनि समात्यो । काठमाडौँबाट पिछा गर्दै शाही सेना आएको रहेछ ।

‘अनि, तपाईंलाई गिरफ्तार गर्ने बेला जितवीर पनि हुनुहुन्थ्यो ?’ मैले सोधेँ । 

‘तीन–चारवटा गाडीमा सेनाहरू आएर सबैतिर छरिएर पहिले नै बसिसकेका रहेछन्,’ सुलभ दबेको स्वरमा बोले, ‘म पुग्नेबित्तिकै झ्यापझुप अपहरण ग¥यो । जितवीर आएको वा नआएको थाहा पाउन सकिनँ ।’ 

घटना २०६० सालको हो । स्याङ्जा, चापाकोटको न्यौपानेडाँडाका हिमाल राना (कैलाश), म लगायतलाई शाही सेनाले २०६० कात्तिकमा गिरफ्तार गरी पोखरा फूलबारी ब्यारेकमा राखेको थियो । कैलाशजीलाई चार महिनापछि रुपन्देहीको बुटवल लगेको थियो, तर दोहोरो भिडन्तका नाममा उनको हत्या गरियो । यस्तै, तनहँु भानु नगरपालिका–५ का केशवसिंह ठकुरी (कुसुम)लाई पनि हामीलाई राखेको नजिकै राखेको रहेछ ।

त्यतिबेला शाही नेपाली सेना मध्य पृतना फूलबारीका प्रमुख थिए, चित्रबहादुर गुरुङ । गिरफ्तार गरी ल्याइएका माओवादी बन्दीलाई यातना दिन र बेपत्ता पार्ने कार्यमा कर्नेल रवि थापा सक्रिय भएर लाग्थे । 

विभिन्न समयमा विभिन्न स्थानबाट गिरफ्तार गरिएका माओवादी नेता–कार्यकर्तालाई छुट्टाछुट्टै स्थानमा राखिएको हुन्थ्यो । हामी एक–अर्काबीच बोलचाल गर्न पाउँदैनथ्यौँ, तर साथीहरूले ड्युटी बसेको सिपाहीसँग कुराकानी गरेको सुनेपछि फलानो साथी पनि यहीँ रहेछ भन्ने थाहा हुन्थ्यो । 

कास्की स्यास्श्रीका कम्पनी कमान्डर तथा तेस्रो डिभिजनका इन्टेलिजेन्स विभाग प्रमुख रहेका सुलभ र धादिङ खहरे घर भएका जनमुक्ति सेनाका प्लाटुन कमान्डर सुवास भण्डारी (जितवीर) हामीभन्दा पहिले गिरफ्तार परेका थिए । हामी गिरफ्तार भएको भोलिपल्ट समातिएका कास्की लेखनाथका नेत्रप्रसाद बराल (अमर)लाई पोखरा फूलबारी ब्यारेक मध्य पृतनामा तीन महिनाजति सँगै राखेर गोर्खा लगिएको थियो, उनी अहिलेसम्म बेपत्ता छन् । 

फूलबारी ब्यारेकभित्र एउटा ‘ह्वाइट हाउस’ नाम गरेको पोस्ट रहेछ । ‘ह्वाइट हाउस’नजिक छुट्टाछुट्टै टेन्टमा हामीलाई राखेको करिब पाँच महिना पुग्दै थियो । त्यहीबेला शाही सेनाको सामेल (सबैजना केन्द्रित कार्यक्रम) हुने कार्यक्रम परेछ । विशेष ठाउँमा ड्युटी बसेकाबाहेक प्रायः सेना कार्यक्रममा सहभागी हुन जाने रहेछन् । हामी भएको ठाउँमा पहिले चारजना ड्युटी बस्थे । त्यस दिन एकजना सिपाही ड्युटी बसेर बाँकी कार्यक्रममा गए । 

मलाई र सुलभजीलाई टेन्टबाट एउटा कोठामा लगिएको थियो र कुराकानी गर्ने अवसर मिल्यो । सेनाको त्यस सामेल कार्यक्रम नसकिँदासम्म ड्युटीवाला पनि हाम्रो नजिक आएको थिएन । त्यसैले हामीलाई कुरा गर्ने उपयुक्त अवसर मिल्यो । 

‘के छ बाहिरतिरको खबर ? पार्टीले मलाई के भनेको छ ?’ सुलभजीले सोधे । 

त्यतिबेला चिप्लेढुंगाको एक फेन्सी दोकानबाट १० नम्बर बटालियनका लागि सिल्पिङब्याग, झोला र जकेटहरू किनिएको थियो । यी सामान कहाँ छन् भन्ने सुराकी  गिरफ्तारपछि सुलभजी शाही सेनालाई दिएको चर्चा पार्टीमा चलेको थियो । मैले यही कुरा सुनाएँ । 

‘के गर्नु साथी, सिधै गोली ठोकेर मारे हुन्थ्यो भन्यो, मार्दैन । लगातारको असीमित यातना खप्न नसकी केही कमजोरी मबाट हुन पुग्यो,’ प्रायश्चित भावमा उनले अझ विस्तृत रूपमा बुझ्न खोजे, ‘अरु के भनेको छ ?’ 

उनको बारेमा केही सकारात्मक पक्षबाट पनि पार्टीमा चर्चा भएको थियो । गिरफ्तार पर्नेबित्तिकै उनले भुपेन्द्र (राजकुमार कोइराला, चितवन), जितेन्द्र (विनोद पन्त, जसको २०६५ जेठ ३० गते नवलपरासी र भारतको सिमानामा भारतीय सशस्त्र डाँका समूहबाट हत्या भयो) र अविरल (प्रकाश जिएम, जो जनमुक्ति सेनाका ब्रिगेड कमान्डर तथा तेस्रो डिभिजनका सचिव थिए)लाई आफू गिरफ्तार भएको जानकारी पेजरमार्फत गराएका थिए । त्यतिबेला कास्की लेखनाथ डाँडाको नाक प्रहरी चौकीमाथि कमान्डो आक्रमणको योजना थियो । त्यो कुराको सुराकी भने उनले सेनालाई नदिएका रहेछन् । 

मैले यी कुरा सुनाएपछि उनले बर्रर आँसु झार्दै भने, ‘के गर्नु रविन्द्रजी ! बरु गोरखाको ताकु चौकी रेडमा घाइते हुनुको साटो मर्न पाएको भए अहिले बुबाको रगतको अपमान गर्नुपर्ने थिएन ।’ उनका बुवा चन्द्रप्रसाद खनाललाई तत्कालीन शाही सेनाले घरबाट गिरफ्तार गरी हत्या गरेको थियो । उता बुवाको सहादत, यता छोराको यो अवस्था, अझभनौँ पश्चाताप । 

सुलभजीको अभिव्यक्ति र अवस्थाले मेरो हृदयलाई पनि रापछेउको मैनलाई झैँ पगाल्न पुग्यो । मानिस एउटा कोमल प्राणी, जोसँग भावना, समवेदना, रिस, इष्र्या सबै हुन्छन् । त्यतिखेर म पनि भावनामा बहकिन पुगेँछु । मेरो आँखाबाट झरेको अाँसुले गाला हुँदै खुट्टामा चिसो स्पर्श दिन पुग्यो । 

हामी एक मुठी पानीसँग प्राण धान्न विवश थियौँ । अश्रुधारा आँसु बगाउँदै अनिश्चित जीवनको अनकन्टार गोरेटोको यात्रा गरिरहेका थियौँ ।

२ं०६० कात्तिकदेखि ५–६ महिना हामीसँगै रहेका क. सुलभ, नेत्रप्रसाद बराल, सुवास भण्डारी, केशवसिंह ठकुरी लगायत धेरै साथी अहिले पनि जीवित या मृत कुन अवस्थामा छन्, कसैको कार्यालयमा रेकर्ड छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवीप्रसाद ढकाल ‘रवीन्द्र’
देवीप्रसाद ढकाल ‘रवीन्द्र’
लेखकबाट थप