आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

एमाले लुम्बिनी प्रदेश अधिवेशन : सैद्धान्तिक रूपमा बलिया शंकर सांगठनिक रूपमा कमजोर

शंकर र विष्णुको गुटबन्दीले अब कस्तो रुप लिन्छ ?
बुधबार, २० भदौ २०८०, १९ : ४०
बुधबार, २० भदौ २०८०

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन बुधबार बिहान नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । एमालेले प्रदेश अधिवेशनको सुरुवात नै लुम्बिनीबाट गरेको हो । जनमत हिसाबले लुम्बिनी प्रदेशको ठुलो पार्टी भएकाले पनि एमालेको अधिवेशनलाई धेरै चासोका साथ हेरिएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिएका थिए । पार्टी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा अध्यक्ष मण्डल बनाउँदै  सर्वसम्मत नेतृत्व चयनको प्रयास नभएको होइन । तर महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको गुटबन्दीका कारण अन्ततः मतदानका माध्यमबाटै नेतृत्व चयन भयो ।

अध्यक्षका आकाङ्क्षी राधाकृष्ण कँडेल र हरि रिजालमध्ये कोही पनि ‘ब्याक’ हुन नचाहेपछि मतदान गर्नुपरेको थियो । कँडेललाई उपाध्यक्ष पौडेल र रिजाललाई महासचिव पोखरेलको समर्थन थियो ।

निर्वाचनमा पौडेल पक्षका कँडेलले २ मतको झिनो अन्तरले बाजी मारे । प्रदेश अधिवेशनबाट कँडेलको प्यानलले पदाधिकारीमा एउटाबाहेक सबै सिट जितेको छ ।

उपाध्यक्षमा कँडेल पक्षका भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित विजयी हुँदा रुपन्देहीकै विश्वराज बराल ३०६ मत पाएर पराजित भए । बराल महासचिव पोखरेल पक्षका हुन् ।

खुला उपसचिवमा रोल्पाका पूर्णबहादुर बुढामगर ४१८ मत पाएर विजयी भएका छन् । उनी महासचिव पोखरेल निकटका हरि रिजालको प्यानलबाट उम्मेदवार बनेका थिए ।

महिला उपसचिवमा लीला राना ३५२ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी बसन्ती अधिकारीले ३५१ मत पाएर पराजित भइन् ।

सचिवमा निर्विरोध निर्वाचित लक्ष्मण आचार्य पनि कँडेल पक्षका हुन् । यहाँ दुवै पक्षबिच प्रतिस्पर्धा हुने भएपछि  लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य बनेकाहरूले समेत खुलेर कँडेल र रिजालको पक्षमा भेला गर्ने, भोट माग्ने काम गरेका थिए ।

सैद्धान्तिक रूपमा बलिया शंकर सांगठनिक रूपमा कमजोर

नेकपा एमालेभित्र सैद्धान्तिक रूपमा बलिया मानिन्छन् महासचिव शंकर पोखरेल । उपाध्यक्ष विष्णु पौडेल भने  कुशल व्यवस्थापकीय क्षमता भएका नेता मानिन्छन् । लुम्बिनी प्रदेशमा यी दुई नेताबिच गुटबन्दी रहँदै आएको छ । यद्यपि, दुवै नेता भने गुटबन्दी नरहेको अभिव्यक्ति सार्वजनिक रूपमा दिने गर्दछन् ।

१६ गते अधिवेशन उद्घाटन समारोहमा एमाले सचिव गोकर्ण विष्टले लुम्बिनी प्रदेशमा पौडेल र पोखरेल पक्षको भनेर कार्यकर्ता नबाँडिने भन्दै तमाम एमालेका कार्यकर्ताहरू रहेको उल्लेख गरेका थिए ।

अर्कोतिर उपाध्यक्ष पौडेलले पछिल्लो निर्वाचन एमालेले जित्नु पर्ने ठाउँमा हार्ने, भारी मतान्तर आकलन गरिएको ठाउँ निकै कम मत आएको भन्दै यसमा अन्य पार्टीलाई दोष दिनुभन्दा आफ्नो पार्टीभित्र गम्भीर रूपमा छलफल गर्नुपर्ने बताएका थिए ।

पौडेलले पार्टीमा कमजोर नेताहरूले क्षणिक फाइदाको लागि गुट चलाउने गरेको भन्दै गर्दा महासचिव शंकर पोखरेलले निकै ध्यान दिएर सुनेका थिए ।

त्यसो त पोखरेलले गुट चलाउन नहुने भन्दै विष्णु पौडेलसँग आफ्नो कुनै मतभेद नभएको धारणा राखेका थिए । तर उनै पोखरेलले विष्णु पौडेलको जिल्ला रुपन्देहीका नेताहरू भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतलाई समेटेर आफ्नो टिम बनाएका छन् भने उपाध्यक्षमा रुपन्देहीकै विश्वराज बराललाई मैदानमा उतारेका थिए ।

कसरी सुरु भयो गुटबन्दी ?

खासगरी माओवादी र एमालेबिचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा महासचिव थिए विष्णु पौडेल । उक्त पार्टी विघटन भइ नेकपा एमाले पूर्ववत् अवस्थामा फर्किएपछि स्वाभाविक रूपमा महासचिव पदको दाबेदार थिए पौडेल । तर पौडेललाई महासचिव बन्नबाट शंकर पोखरेलले रोके ।

२०७९ को संसदीय निर्वाचनमा विष्णु पौडेलको क्षेत्रमा कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतको गठबन्धनबाट उम्मेदवार नै नहुँदासमेत एमालेकै केही नेताको असहयोग भएको पौडेल पक्षका नेता–कार्यकर्ताको ठहर छ । यद्यपि उक्त निर्वाचनमा पौडेल झिनो मतान्तरले विजयी भए ।

अहिले प्रदेश अधिवेशनमा विष्णु पौडेल निकट अध्यक्ष कँडेल, उपाध्यक्ष भोज प्रसाद श्रेष्ठ लगायतको टिमको जितले नै पार्टीभित्र पौडेल फेरि शक्तिशाली बनेको विश्लेषक हरि लम्सालले रातोपाटीलाई बताए ।

उनले भने, ‘शंकर पोखरेल र विष्णु पौडेलबिचको द्वन्द्वकै क्रममा प्रदेश समितिमा आफ्नो पक्षको प्यानलको जितले पौडेललाई ठुलो बल पु¥याएको छ ।’

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक वसन्तराज खनालले लुम्बिनी प्रदेशमा एमालेले अहिलेको अधिवेशनले लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गरेको बताए । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न निर्देशन दिएको अवस्थामा समेत पार्टीभित्र लोकतान्त्रिक विधिबाट प्रतिस्पर्धा गरेर कार्यसमिति चयन गर्नु प्रशंसनीय रहेको उनको भनाइ छ ।

अहिले नेताहरूको नाममा आएका गुट, उपगुट स्थायी नभएको पनि प्रस्ट पारे । उनले जिल्लामा एउटा पद नपाएर नेतासँग रिसाउँदै अर्को जिल्लाको नेतासँग जोडिन जाने समूह मात्रै यस्तो गुटमा केन्द्रित रहेको बताए ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री बैजनाथ चौधरीले एमालेमा पछिल्ला वर्ष  निर्वाचनभन्दा पनि नेतृत्वबाट पदाधिकारी गर्ने अभ्यास हुन थालेको बताए । सोही क्रममा लुम्बिनी प्रदेशमा एमाले अधिवेशनले निर्वाचनबाटै पदाधिकारी र सदस्य निर्वाचित गरेको उनको भनाइ छ ।

निर्वाचनबाट नेतृत्व चयन हुँदा कसको हैसियत के छ र कार्यकर्तामा को कति लोकप्रिय छ भन्ने मापन हुने पनि चौधरीले प्रस्ट पारे ।

गुटबन्दीका आधारमा प्यानल खडा गरी निर्वाचनमा प्रतिस्पर्धा गरे पनि एउटै प्यानलभित्र विभिन्न पदमा समान खालको मत आएको देखिँदैन । त्यसैले पनि कार्यकर्ताले प्यानल हेरेरभन्दा पनि उम्मेदवार हेरेर मत दिएको तर्क गर्ने ठाउँ पनि उत्तिकै छ ।

एमाले लुम्बिनी प्रदेश सदस्य मोहन चापागाइँले पनि एमाले लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप