आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

बिहीबार, २१ भदौ २०८०, १२ : ३३
बिहीबार, २१ भदौ २०८०

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिए । 

“एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुन सकेन । हाम्रो देश पछि पर्नुको मुख्य कारण पनि यही हो”, उनले थपे। राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उनले बताए । 

माडीवासीको समस्याप्रति आफू जानकार रहेको बताउँदै उनले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटक–पटक छलफल गरी पहिलो प्रथामिकतामा राखेको बताए । सो अवसरमा सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता जनाए । 

फरक प्रसङ्गमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने गरी काम गर्न निर्देशन दिए । उनले भने, “भ्रष्टाचार र सुशासनलाई कायम गर्ने हकमा ध्यान केन्द्रित गरेर काम गर्नुस् ।” सुशाशन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउँदै उनले यसअनुसार अघि बढ्न सबैलाई आग्रह गरे । 

नगरपालिका प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठकुर ढकाल, देवेन्द्र श्रेष्ठ माडीमा क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप