आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीन र रुसको प्राथमिकतामा परेन जी- २० सम्मेलन, भारतलाई झट्का

बिहीबार, २१ भदौ २०८०, १३ : ५१
बिहीबार, २१ भदौ २०८०

एजेन्सी । सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुने जी- २० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपति उपस्थित नहुने भएका छन् । युक्रेनसँगको युद्धमा फसेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित हुनेछैनन् ।

पुटिनलाई युद्ध अपराधको विषयमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परेको छ । सोही कारण, पुटिन ब्रिक्स शिखर सम्मेलनमा समेत दक्षिण अफ्रिका पुगेका थिएनन् ।

तर, चीनका राष्ट्रपति सी जिन पिङ समेत जी- २० मा उपस्थित नहुने भएपछि भारतीय उच्च अधिकारीसहित जी- २० राष्ट्र चिन्तित बनेका छन् । उनीहरुले चीन जी- २० लाई प्रभावहीन बनाउन लागि परेको समेत बताउन थालेका छन् ।

जी- २० विश्वका २० ठुला अर्थतन्त्र भएका मुलुकहरूको समूह हो । हाल यो समूहको अध्यक्षता गरिरहेको भारत वर्षको सुरुदेखि नै सम्मेलन सफल बनाउन लागि परेको थियो । यसको बाबजुद यो वर्ष भारतमा आयोजित जी- २० को कुनै पनि सम्मेलनले संयुक्त वक्तव्य जारी गर्न सकेन ।

भारतले यसको दोष चीन र रुसलाई दिइरहेको छ । अर्थात चीन र रुसका कारण नै भारतमा आयोजित अघिल्ला जी- २० सम्मेलनले संयुक्त वक्तव्य जारी गर्न नसकेको बताइन्छ । र, यही सेप्टेम्बरमा हुने सम्मेलनमार्फत समेत साझा वक्तव्य जारी गर्न नसक्ने स्थिति देखिएको छ । चीन र रुसका राष्ट्रप्रमुखको उपस्थिति बिना संयुक्त वक्तव्य जारी गर्न सम्भव छैन ।

जसको चिन्ता भारतले मात्र नभई अमेरिकाले समेत जनाइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बिले बुधबार जी- २० सम्मेलनमा संयुुक्त वक्तव्य जारी गर्ने सम्भावना न्यून रहेको बताए । किर्बिले भने, ‘हामी आसा गर्छौँ कि संयुक्त वक्तव्य जारी होस । तर, हामी सबैलाई थाहा छ संयुक्त वक्तव्य जारी गर्न मुस्किल छ ।’

जी- २० सम्मेलनमा सहभागी सम्पूर्ण राष्ट्रलाई मिलाएर संयुक्त वक्तव्य जारी गर्न भारत हरसम्भव प्रयासरत छ । आफ्नो अध्यक्षतामा हुने यो सम्मेलनमा भारत विश्व समुदायलाई सहमतिमा ल्याएर अब्बल साबित हुन चाहन्छ । तर, यो चाहना चीन र रुसका कारणले असम्भव देखिन थालिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप