आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनमा घट्यो आन्तरिक र बाह्य माग, अगस्टमा ८.८ प्रतिशत खुम्चियो निर्यात

बिहीबार, २१ भदौ २०८०, १४ : ०९
बिहीबार, २१ भदौ २०८०

एजेन्सी । ‘विश्वको उद्योग’ उपनाम पाएको चीनको निर्यात लगातार चौथो महिना घटेको छ । चीनको आन्तरिक र बाह्य माग घटेपछि विश्वभर टाउको दुखाइको विषय बनेको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
अगस्टमा चीनको निर्यात ८.८ प्रतिशत घट्यो भने आयात ७.३ प्रतिशतले घटेको बीबीसीले उल्लेख गरेको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा उल्लेख्य गिरावट हो । यद्यपि, यो गिरावट चीनको सरकारी निकायले गत महिना गरेको प्रक्षेपणभन्दा नराम्रो भने होइन ।

हाल चीनले कोरोना महामारीपछिको कठिन समय भोगिरहेको छ । यतिबेला चीनमा घरजग्गाको कारोबारमा मन्दी आएको छ भने आन्तरिक खपत र माग समेत घटेको छ । चीनको आन्तरिक बजारसँगै अमेरिका, युरोपसहित विश्वभरबाट आउने चिनियाँ वस्तुको मागमा समेत गिरावट आएको छ ।

अमेरिकाको तथ्यांक कार्यालयको एउटा रिपोर्टअनुसार चीनबाट आयात हुने सामान सन् २००६ यताकै न्यून अवस्थामा पुगेको छ । अहिले अमेरिकामा हुने कूल आयातको १४.६ प्रतिशत हिस्सा छ । जुन, सन् २०१८ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिले अमेरिका–चीन व्यापार युद्ध छेड्नु अघिसम्म २१.८ प्रतिशत थियो ।

यसबाहेक चीनमा घरजग्गाको कारोबारमा पूर्णरुपमा मन्दी छाएको छ । चीनको सबैभन्दा ठुलो घरजग्गाको कारोबारी कम्पनी ‘एभरग्रान्डे’ आर्थिकरुपमा सङ्घर्ष गर्दैछ । जबकी, बेइजिङले आफ्नो खस्कँदो अर्थतन्त्रलाई पुनः उत्थान गर्ने विशेष कार्यक्रमको थालनी सुरु गरिसकेको छैन ।

यद्यपि, चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले पश्चिमा मिडिया र राजनीतिज्ञले आफ्नो अर्थतन्त्रमा देखाइरहेको अनावश्यक चासोको विरोध गरेको छ । समाचारमा लेखिएको छ, ‘चीनको अर्थतन्त्र सुधारतर्फ उन्मुख छ । यद्यपि, विश्वभर देखिएको मन्दीका कारण केही समस्या देखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप