आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाका कारण शेयर बजार प्रभावित’

बिहीबार, २१ भदौ २०८०, १७ : १६
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताएका छन् । 

बिहीवार बसेको प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले पछिल्लो समय लगातार रुपमा शेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको बताए । 

अर्थमन्त्री महतले राष्ट्र बैंकले शेयर कर्जामा लगायएको १२ करोडको सीमाले प्रभावित बनाएको दाबी गरे । उनले शेयर कर्जा सहज बनाउन सरकारले राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा आवश्यक संवाद गरिरहेका उल्लेख गरे । 

महतले सरकार शेयर कारोबारले सहज रुप लिनुपर्छ भन्ने पक्षमा रहेको भन्दै  लगानीकर्ताहरुको लगानी डुब्न नदिने बताए ।  शेयर बजारमा परेको नकरात्मक प्रभावका विषयमा सरकार गम्भिर रहेको भन्दै यसलाई पारदर्शी,नीतिगत,प्रक्रिया र प्रणालीगत सुधार ल्याउने उनको भनाइ छ । उनले शेयर बजारमा सबैखाले मानिसहरुले हैसियत अनुसार पुँजीका आधारमा लगानी गर्नसक्ने कानूनले छुट दिएको बताए । 

उनले भने, ‘शेयर बजारमा सबैखाले मानिसहरुले हैसियत अनुसार पुँजीका आधारमा लगानी गर्न कानूनले छुट दिएको छ । शिक्षक,डाक्टर,इन्जिनियर अन्य पेशा व्यवसायमा लगायत सबैले शेयर बजारमा लगानी गर्नसक्छन् ।कसैले पूर्णकालिन व्यवसायीको रुपमा लगानी गर्छन् । कसैले बचेको पुँजी शेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले पनि लगानी हुन्छ । यस्तो लगानीलाई हामीले अनुचित मान्नु हुँदैन । त्यही कारणले शेयर कारोबार र मूल्य घट्यो वा आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न हुँदैन । शेयर कारोबारमा कोही पनि अनुचित रुपमा नगिउन । केही व्यक्तिहरुले शेयर कारोबारमा मेनुपुलेशन गर्न नपाउन इन्साइडर ट्रेडिङ गर्न नपाउन र सूचना चुहाएर शेयर बजार प्रभावित बनाउन नपाउन भन्ने बारेमा सरकारले निगरानी गरिरहेका छौं । शेयर कारोबारमा मूल्य गिरावट आएको छ । त्यसको विविध कारणहरु छन् । केही कारोबारमा राखिएका प्रतिवन्धले पनि बजार प्रभावित भएको छ । तथापी यसलाई सहज बनाउन सरकारको तर्फबाट र सँगै राष्ट्र बैंकको नियमन बाट परेको प्रभावका विषयमा हामीले आवश्यक संवाद गरिरहेका छौं । हामी चाहन्छौं यो शेयर कारोबारले सहज रुप लियोस् । लगानीकर्ताहरुको लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भिर छ । यसलाई पारदर्शी बनाउने,नीतिगत र प्रक्रियागत प्रणालीगत सुधार ल्याउनेतर्फ सरकार गम्भिर छ ।’

उनले पूर्णकालिन व्यवसायीको रुपमा लगानी गर्ने र कसैले बचेको पुँजी शेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले गरेको लगानीलाई सरकारले अनुचित मान्न नसक्ने बताए । उनले अन्य पेशा व्यवसायीका मानिसहरुले शेयर कारोबार गरेर मूल्य घट्यो र आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप