आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाह्य लगानी भित्र्याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौंः अर्थमन्त्री महत

शुक्रबार, २२ भदौ २०८०, १३ : १६
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । 

शुक्रवार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औँ वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् । अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको पनि जानकारी दिए । 

 त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा सङ्केतहरू देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे । नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढ्ने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले बताए । उनले भारतमा १० हजार मेगावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए । 

अर्थमन्त्री महतले भने,  ‘हाम्रो देश आर्थिक समस्याले विभिन्न कारणबाट गुज्रेको छ । तर राम्रो दिन आउँदै छ । यसको राम्रो सङ्केतहरू देखा पर्न थालेका छन् । यसको मतलब यो होइन कि हामी समस्यारहित भइसक्यौँ भन्ने होइन । समस्याहरू छन् । तर ती समस्याहरूलाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरू अब सुरु हुन्छ । र, त्यसका सङ्केतहरू देखिएका छन् । हाम्रो विदेशी मुद्राको सञ्चिति राम्रो छ । पर्यटक आगमन वृद्धि भइराखेको छ । त्यसले पनि आर्थिक गतिविधि बढाउँछ । हाइड्रोपावरमा एउटा प्रगति लय पक्रिराखेको छ । र, इन्डियासँग जुन सम्झौता भएको छ । १० हजार मेगावाटसम्म विद्युत् खरिद गर्ने दश वर्षमा । त्यसले लगानीकर्ताहरूलाई एउटा सुनिश्चित मार्केट प्रदान गरेको छ । त्यस्तै खालको समझदारी हामी चीनसँग पनि आगामी दिनमा हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । त्यसले एउटा थप बजारको सम्भावना छ । हामी पहिला पर्यटनको कुरा गर्दा पश्चिमी देशहरूको पर्यटकको कुरा मात्रै हाम्रो दिमागमा आउँथ्यो । अथवा जापानको हाम्रो दिमागमा आउँथ्यो । अहिले हाम्रो छिमेकी देशहरूमा आर्थिक उन्नति, प्रगति भइराखेको छ । त्यसले एउटा धेरै ठुलो सम्भावना टुरिजममा छ । तेस्रो सम्भावना हाम्रो यो एग्री सेक्टरमा पनि ठुलो सम्भावना छ । जुन हाम्रो टोपोग्राफी छ । भेराइट क्लाईमेट छ । त्यसले एउटा सहज वातावरण दिन्छ नेपालमा लगानी गर्ने र त्यसको बजार विदेशमा समेत प्राप्त गर्ने सम्भावना त्यसले दिएको छ । त्यस्तै गरेर अहिले आईटी सेक्टर यो वृहत सम्भावनाको क्षेत्र छ । त्यसमा मेजर इन्भेष्टरहरुलाई विदेशमा जुन स्थापित आईटी सेक्टरका कम्पनीहरू छन् । तिनीहरूलाई हामीले ल्याउन सक्नुपर्दछ । र, हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौँ । त्यसको लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि सुरु गर्छौ । बजेटमा पनि हामीले बोलेका छौँ ।’

अर्थमन्त्री महतले नेपालमा बाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढङ्गले पहल गर्ने विश्वास समेत व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप