आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिको सुरक्षामा हुन्छ यस्तो प्रोटोकल

सिक्रेट सर्भिसका एजेन्टले त्यो अवस्थामा राष्ट्रपतिको आदेश पनि मान्ने छैनन्
शुक्रबार, २२ भदौ २०८०, १३ : ३७
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । भारतमा जी–२० शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुख आउने भएसँगै सुरक्षाको कडा प्रवन्ध गरिएको छ ।

विदेशी अतिथिमध्ये अमेरिकी राष्ट्रपति जो बाइडेनको सुरक्षा प्रवन्ध खास हुनेछ । अमेरिकी राष्ट्रपतिको सुरक्षाका विषयमा हलिउडमा कयौं चलचित्र बनेका छ । सुन्नमा त अमेरिकी राष्ट्रपतिको सुरक्षा कवच फिल्मीजस्तै लाग्न सक्छ तर त्यो सत्य हो ।

अमेरिकी राष्ट्रपतिको सुरक्षामा युनाइटेड स्टेट्स सिक्रेट सर्भिसको भूमिका महत्त्वपूर्ण हुन्छ । यो एजेन्सी सन् १८६५ मै गठन भएको हो तर सन् १९०१ देखि यसलाई अमेरिकी राष्ट्रपतिको सुरक्षाको जिम्मेवारी दिइएको हो ।

लगभग ७ हजार एजेन्ट र अधिकारीहरु सिक्रेट सर्भिसमा काम गर्दछन्, जसमा महिला पनि उल्लेख्य हुन्छन् । यो एजेन्सीका लागि गरिने तालिम विश्वकै सबैभन्दा कठिन तालिममध्ये मानिन्छ ।

राष्ट्रपतिको भ्रमण हुनुभन्दा तीन महिना अघिदेखि हुन्छ तयारी

अमेरिकाको राष्ट्रपति सर्वाधिक शक्तिशाली मानिन्छन् तर उनको सुरक्षाका बारेमा निर्णय लिने अधिकार भने सिक्रेट सर्भिससँग हुन्छ । अमेरिकी राष्ट्रपतिले चाहेर पनि उनलाई एक्लै छाडिदैन । आफूलाई एक्लै छाड्न राष्ट्रपतिले आदेश दिए पनि त्यस्तो अवस्थामा सिक्रेट सर्भिसका एजेन्टले उक्त आदेश मान्दैनन् ।

अमेरिकाको राष्ट्रपतिले कुनै देशको भ्रमण गर्ने निर्णय लिएपछि भ्रमण हुनुहुन्छ करिब तीन महिना अघिदेखि नै सिक्रेट सर्भिसले आफ्नो काम सुरु गर्दछ ।

राष्ट्रपति एक प्रकारको सुरक्षा कवचमा हुन्छन् जसमा ‘मल्टीलेयर सेक्युरिटी’को व्यवस्था गरिएको हुन्छ । यो सुरक्षा घेरा निकै मजबुत त हुन्छ नै, महँगो पनि उत्तिकै हुन्छ ।

अमेरिकाले आफ्नो चार राष्ट्रपतिको हत्या भोगिसकेको छ । सन् १८६५ मा अब्राहम लिंकन, १८८१ मा जेम्स गारफिल्ड, १९०१ मा विलियम म्याकिनली, १९६३ मा जोन एफ केनेडीको हत्या भएको थियो । त्यसैले पनि अमेरिकाले आफ्नो राष्ट्रपतिको सुरक्षालाई निकै गम्भीरतापूर्वक लिने गरेको छ ।

तेहरो सुरक्षा व्यवस्था

अमेरिकी राष्ट्रपतिको सुरक्षाका लागि तीन वटा ‘लेयर’ (तह) हुन्छन् । सबैभन्दा भित्र राष्ट्रपतिको प्रोटेक्टिभ डिभिजन एजेन्ट, बिचमा सिक्रेट सर्भिस एजेन्ट र बाहिरी घेरामा प्रहरी हुन्छन् ।

भारत भ्रमणमा रहँदा अमेरिकी राष्ट्रपतिका लागि दिल्ली पुलिस, सेन्ट्रल रिजर्भ पुलिस फोर्सको पनि सुरक्षा लेयर हुनेछ ।

सिक्रेट सर्भिस र ह्वाइट हाउसका स्टाफ दुई–तीन महिना अघि नै आएर स्थानीय सुरक्षा एजेन्सीसँग घुलमिल गर्दछन् । उनीहरुले स्थानीय इन्टेलिजेन्स ब्यूरोका भीभीआईपी सेक्युरिटी विज्ञसँग पनि छलफल गर्दछन् ।

सिक्रेट सर्भिसले नै अमेरिकी राष्ट्रपति कहाँ बस्ने भन्ने तय गर्दछन् । राष्ट्रपति बस्ने ठाउँको गहन छानबिन गरिन्छ र होटल कर्मचारीको पृष्ठभूमिसमेत अध्ययन गरिन्छ ।

सुरक्षा प्रोटेकल

अमेरिकी राष्ट्रपतिको भ्रमण अघि विमानस्थलमा एयरस्पेसको पनि ख्याल गरिन्छ । किनकि अमेरिकी राष्ट्रपतिको विमान ‘एयरफोर्स वान’ का अतिरिक्त अन्य विमान पनि हुन्छन्, जसमा विभिन्न अधिकारीहरु, स्टाफ र हेलिकोप्टरसहित बन्दोबस्तीका सामान ल्याइन्छ ।

अमेरिकी राष्ट्रपतिको भ्रमणका क्रममा उनले चढ्ने गाडी पनि विमानबाटै ल्याउने गरिन्छ ।

सिक्रेट सर्भिस र स्थानीय सुरक्षा एजेन्सीले अमेरिकी राष्ट्रपतिको सवारी रुट तय गर्दछन् । यस क्रममा कुनै आपतकालीन अवस्थामा कसरी जोगिने भन्ने विषयलाई पनि प्राथमिकताका साथ अध्ययन गरिन्छ । कुनै प्रकारको हमला भएमा सुरक्षित लोकेसन कहाँ हुन सक्छ भन्नेबारे पनि पहिला नै योजना बनाइएको हुन्छ ।

यस अतिरिक्त नजिकै कुन कुन अस्पताल छन् भन्ने पनि विचार गरिन्छ । राष्ट्रपति बस्ने ठाउँबाट अस्पतालको ट्रमा सेन्टर १० मिनेटको दुरीभन्दा टाढा नहोस् भन्ने पनि ख्याल गरिन्छ ।

सिक्रेट सर्भिसको एउटा एजेन्ट आसपासको प्रत्येक अस्पतालमा तैनाथ हुन्छ ताकि आपतकालीन अवस्थामा डाक्टरसँग समन्वय गर्न सकोस् । यस्तै, अमेरिकी राष्ट्रपतिको ब्लड ग्रुपको रगतको पनि बन्दोबस्त गरिन्छ ताकि आपतकालीन अवस्थामा रगत आवश्यक परेमा खोजबिनका लागि पर्खनु नपरोस् ।

अमेरिकी राष्ट्रपति बस्ने होटलमा हुन्छ विशेष तयारी

अमेरिकी राष्ट्रपति बस्ने होटलमा पनि विशेष प्रकारको तयारी गरिन्छ । राष्ट्रपति बस्ने तलाका अतिरिक्त माथिल्लो र तल्लो तला पनि खाली गरिन्छ । अमेरिकी अधिकारीहरु तथा भ्रमण टिमका हिस्सा रहेकाहरुबाहेक त्यहाँ अरुलाई बस्न दिइँदैन ।

राष्ट्रपति बस्ने कोठाको सुक्ष्म ढंगले जाँचपड्ताल गरिन्छ ताकि कुनै क्यामेरा वा रेकर्डिङ डिभाइस लुकाएर राखिएको नहोस् । टेलिभिजन र होटलको फोन पनि त्यहाँबाट हटाइन्छ । झ्यालमा बुलेट प्रुफ शिल्ड लगाइन्छ ।

अमेरिकी राष्ट्रपतिका भान्छे पनि भ्रमणमा सँगै आएका हुन्छन् । उनीहरुले नै खाना बनाउने गर्दछन् । सिक्रेट सर्भिसले यस क्रममा कुनै प्रकारको गडबडी वा लापरवाही नहोस् भनेर निगरानी गरिरहेको हुन्छ ।

सिक्रेट सर्भिसले अमेरिकी राष्ट्रपतिका अतिरिक्त उनीसँग हमेसा साथ रहने अमेरिकी सेनाको एक व्यक्तिको सुरक्षामा पनि उत्तिकै ध्यान दिएको हुन्छ, जोसँग न्यूक्लियर मिसाइल प्रहार गर्ने ब्रिफकेस हुन्छ ।

अमेरिकी राष्ट्रपति आफ्ै लिमोजीन कारमा सवार हुन्छन् । यो कारलाई ‘दि बीस्ट’ भनिन्छ । यो कारमा अत्याधुनिक प्रविधि र सुरक्षा उपकरण जडित हुन्छ । यो कार बुलेटप्रुफ हुनका अतिरिक्त अन्य सुरक्षा उपकरण जस्तैः स्मोक स्क्रिन्स, अश्रु ग्यास, नाइट भिजन, केमिकल अट्याकबाट सुरक्षा र ग्रेनेड लञ्चरबाट सुसज्जित हुन्छ ।

अमेरिकी राष्ट्रपतिको कार चालकलाई विशेष तालिम दिइएको हुन्छ, जसले आपतकालीन अवस्थामा कारलाई १८० डिग्रीमा मोड्न सक्छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप