आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

सँगै तरौँ सागरहरू

शनिबार, २३ भदौ २०८०, ११ : ३१
शनिबार, २३ भदौ २०८०

आऊ प्रिया तिमी र म
डाँडै डाँडा उकालो
पाखै पाखा भिरालो
होस्टेमा हैँसे मिलाउँदै
सँगै काटौँ भिरहरू ।

मलाई सानो अडेसो देऊ
एक कदम माथि जानेछु
अनि, तिम्रा हात देऊ
एक कदम माथि तान्नेछु
अनि, सँगै काटौँ ढिस्काहरू ।

तिम्रो हातको छानामा
झरीमा सँग ओतौला
उर्लिँदो बाढी खोलामा
मेरो यो टेकन टेकौँला
अनि, सँगै तरौँ खोलाहरू ।

चौतारी छेउ घाम चर्को 
भुटेको मकै, अचार
मिलेर हामी छायामा
गफिँदै खाऔँ मिलेर
अनि, सँगै खोलौँ पिरहरू ।

खुसीका सिमेन्ट, बालुवा
मिहिन बनाइ म मोल्छु
तिमीले एउटा खुसीको
दरिलो इँटा थपिदेऊ
अनि, सँगै बनाऔँ महलहरू ।

आशाको सानो डुङ्गामा
बुनेर चित्रा बिछ्याइदेऊ
भरोसा ठुलो बोकेर
बहनाले खियाइ तार्ने छु
अनि, सँगै तरौँ सागरहरू ।

आँधी, हुरीले उडाउला
म ढुङ्गा बनेर आड दिन्छु
पानी परेर भिजाउला
तिमी छाता बनेर ओत देऊ
अनि, सँगै काटौँ दिनहरू ।

गन्तव्य दूर क्षितिजमा 
आँधी र हुरी चल्देला
बाढी भेल र वर्षात्ले
गोरेटो सबै भत्काउला
तैपनि,
आऊ प्रिया तिमी र म
प्रेमको गीत गाएर
बाँसुरी धुनको लयमा
सँगै जाऔँ अनन्तसम्म
नछुट्टिएर सयौँ जुनी ।

जन्तेढुङ्गा–६, खोटाङ, हालः काठमाडौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पुमा चिन्तन
गणेश पुमा चिन्तन
लेखकबाट थप