आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आइतबारदेखि बीपी साहित्य महोत्सव

शनिबार, २३ भदौ २०८०, २१ : २३
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र यही भदौ २४ गते बिहान ९ बजे कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट महोत्सवको उद्घाटन गरिने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

महामानव बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बिपी साहित्य महोत्सव’ हुन लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले बीपी जन्मजयन्तीका अवसरमा बीपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक बीपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बीपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । 

राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा उनले पुर्याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत बीपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्ष स्थानमा रहेका छन् ।

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

पहिलो दिन बिहान ‘हाइज्याकिङ फर डेमोक्र्यासी’ वृत्तचित्र प्रदर्शन गरी सुरु हुनेछ । त्यसपछि बीपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा अभि सुवेदीले सम्भाषण दिनेछन् ।

त्यसपछि बीपीका दृष्टिमा बीपी, बिपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग अलग सत्र सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । पहिलो दिनको अन्तिममा २० कविबाट कविता साँझको आयोजना गरिने छ ।

दोस्रो दिन भदौ २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ । मार्क्स, गान्धी र बीपी, आजको लोकतान्त्रिक समाजवादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दिनेछन् । त्यसपछि बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । दोस्रो दिनको अन्तमा ३० जना गजलकारबाट गजल साँझको आयोजना हुने छ ।

तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि बीपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनेछन् । त्यसपछि समावेशीता, समाजिक रुपान्तरण र बीपी, समय र सबाल्र्टन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन् । तेस्रो तथा महोत्सवको अन्तिम दिनमा धन्यवाद ज्ञापन र साङ्गीतिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ ।

पहिलोपटक आयोजना गर्न थालिएको यस साहित्य महोत्सवमा कांग्रेसले सहभागिताका लागि प्राज्ञिक तथा विद्वान् वुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप