आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
वेथिति

सुर्खेत मेडिकल कलेजको कन्सल्टेन्सी छनोटमै आर्थिक चलखेलको आरोप

आइतबार, २४ भदौ २०८०, १० : ३३
आइतबार, २४ भदौ २०८०

सुर्खेत । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाद्वारा स्थापना हुने मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन तयारका लागि कन्सल्टेन्सी छनोटमा आर्थिक चलखेल भएको आरोप लागेको छ । 

‘सफ लिस्टिङ’मा परेका पाँच वटा कन्सल्टेन्सीमध्ये सितारा मुनलाईट एभरसेफ जेभी बालुवाटार काठमाडौँले डीपीआर तयार गर्ने जिम्मेवारी पाएको छ । यद्यपि प्राविधिक मूल्याङ्कन चित्त नबुझेको र त्यहाँ आर्थिक चलखेल भएको भन्दै छानबिनको माग गरिएको हो ।

अन्यायमा परेको परामर्शदाताका तर्फबाट अमृतमणि तुलाधरले मेडिकल कलेज आयोजना सुर्खेतका निर्देशक हेमकुमार ढकाललाई पत्र लेख्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्ने सम्बन्धमा’ पत्र नै लेखेका छन् ।

साथै अख्तियारको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेत, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलाई बोधार्थ समेत लेखिएको छ ।

प्राप्त पत्रअनुसार परामर्श सम्बन्धी कार्यमा सर्ट लिस्टिङमा परेका विभिन्न कम्पनीले पेस गरेको आर्थिक तथा प्राविधिक प्रस्ताव मूल्याङ्कनमा व्यापक आर्थिक चलखेल भएको उल्लेख गरिएको छ ।

‘मिलेमतोमा कम्पनीलाई प्राविधिक मूल्याङ्कनमा उच्च अङ्क र अरू कम्पनीहरूलाई निकै कम अङ्क दिई चलखेल गरेको प्रस्टै देखिन्छ,’ पत्रमा भनिएको छ, ‘एकातिर सबैभन्दा धेरै रकमसहित आर्थिक प्रस्ताव राख्ने र अर्कोतिर चलखेल कै आधारमा सबैभन्दा धेरै अङ्क ल्याई काम हात पार्ने दाउमा सार्वजनिक खरिद नियमको आधारभूत सिद्धान्तलाई चुनौती दिएको देखिन्छ ।’

पाँच वटा कम्पनीमध्ये प्राविधिक नम्बर अनुसार सितारा मुनलाईटले ९४.७६ अङ्क प्राप्त गरेको छ भने बीडीए सिग्नेचर जेभीले ८७.४२, केजईआर एमसी जेभीले ९१.२५, एनट डीबीमल्टी न्यू प्लानेट जेभीले ७३.५९ र इडब्लुइएस डिजिकन एमआरबी जेभीले ७३.५३ अङ्क प्राप्त गरेका छन् ।

अन्यायमा परेका परामर्शदाताहरुले सितारा मुनलाईटले प्राप्त अङ्कप्रति आपत्ति जनाएका छन् । ‘मुख्य कुरा प्राविधिक नम्बरमा चलखेल गरिएको छ, प्राविधिक नम्बर बढी भएपछि उसले (सितारा) पाएको हो,’ स्रोत भन्छ, ‘यतिधेरै नम्बर फरक कसरी आयो ?, धेरै जनामध्ये पाँच जना सेलेक्ट भएर आएको हो । सबै एउटै लेभलको कन्सल्टेन्सी हुन् । तर, यहाँ सबैभन्दा बढी पैसा पनि उही हाल्ने अनि सबैभन्दा बढी अङ्क पनि उसैले कसरी पायो भन्ने मुख्य कुरा हो । यहाँ आर्थिक चलखेल नभएर के हो ?’

सितारा मुनलाईटले २ करोड ६४ लाख १६ हजार २ सय रकम हालेको छ । बीडीए सिग्नेचर जेभीले २ करोड ३४ लाख १३ हजार, केजईआर एमसी जेभीले २ करोड ५० लाख ९ हजार ५ सय, एनट डीबीमल्टी न्यू प्लानेट जेभीले  १ करोड २९ लाख ५८ हजार र इडब्लुइएस डिजिकन एमआरबी जेभीले २ करोड २ लाख ७५ हजार रकम उल्लेख गरेका छन् ।

प्राप्त पत्रमा सितारा मुनलाईट भन्दा मेडिकल कलेज डिजाइनमा कयौँ गुणा अनुभवी कम्पनीहरूलाई सेटिङ्गकै आधारमा पाखा लगाइएको उल्लेख छ ।

सार्वजनिक खरिद ऐनमा जे कामको लागि परामर्शदाता छान्ने हो, सोही बमोजिमको परामर्शदाता शुल्क र अनुभवलाई मान्यता दिनुपर्नेमा मेडिकल कलेज डिजाइन नै नगरेको परामर्शदातालाई आर्थिक चलखेलकै आधारमा सर्वोत्तम मार्क दिई नियम विपरीत कार्य गरेकोले मूल्याङ्कनमा  संलग्न व्यक्तिलाई छानबिन गरी कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।

पत्रमा भनिएको छ, ‘एउटा करार इन्जिनियरको भरमा गरिने करोडौँको बजेटको योजनाको मूल्याङ्कनमा व्यापक चलखेलको सुइँको यसअघि नै उनका साथीबाट बजारमा उक्त सितारा मुनलाइटलाई दिने हल्ला फैलिएको थियो । आर्थिक तथा प्राविधिक मूल्याङ्कनको तुलनात्मक डाटाले पनि थप स्पष्ट पारेको देखिन्छ ।’

आरोप लगाइएका इन्जिनियर सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका इन्जिनियर शंकर प्रसाद तिमिल्सिना हुन् । अन्यायमा परेका परामर्शदाताले मूल्याङ्कन सम्बन्धी सम्पूर्ण फाइल झिकाई छानबिन गरी दोषी उपर कडा कारबाही गर्न अनुरोध गरेका छन् ।

अन्यायमा परेका परामर्शदाताले १२ भदौमा नै कारबाहीको पत्र लेखेका छन् । यद्यपि सुर्खेत मेडिकल कलेजले भने सितारा मुनलाईट एभरसेफ जेभीलाई नै प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना भदौ १८ मा प्रकाशित गरेको छ ।

प्रकाशित सूचनामा परामर्श सेवा खरिद कार्यका लागि विभिन्न मितिमा प्राविधिक तथा आर्थिक प्रस्ताव माग सम्बन्धी सूचना अनुसार दर्ता हुन आएका प्रस्तावहरूको प्राविधिक मूल्याङ्कनमा सफल भएका प्रस्तावदाताको आर्थिक प्रस्ताव खोली प्राविधिक तथा आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कनमा सबैभन्दा धेरै अङ्क प्राप्त गर्न सफल सितारा मुनलाईटको आर्थिक प्रस्ताव सारभूत रूपमा प्रभावग्राही रहेकाले प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना पठाइएको उल्लेख छ ।

उक्त कम्पनीको ३ करोड ४ लाख ८९ हजार ८८६ रुपैयाँ कबोलअङ्कसहित प्रस्ताव स्वीकृत भएको देखिन्छ । यस्तै अन्य कम्पनीहरूले भने त्योभन्दा कम रकममा पनि डीपीआर तयारका लागि तयार रहेको देखिन्छ ।

सुर्खेत मेडिकल आयोजनाका निर्देशक हेम कुमार ढकालले कानुनी बाटोहरू रहेकाले आफूहरूले केही भन्न नमिल्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामीले त्यसमा चलखेल गर्ने कुनै कुरा छैन । हामीले नियमपूर्वक काम गरेका छौँ । हामीले पहिला डकुमेन्टहरूको प्रस्ताव मूल्याङ्कन गर्‍यौँ, हामीले यो–यो योग्यताको फर्म भनेर माग्ने हो । उहाँहरूले पेस गरे अनुसार कामको प्रकृति र उहाँहरूले पेस गरेका डकुमेन्ट अनुसार छनोट गरिएको हो ।’

आर्थिक चलखेल भएको कुरा उनी अस्वीकार गर्छन् । 

‘हामीले विधि, नियम, योग्यताको आधारमा छनोट गरेका हौँ’

इन्जिनियर शंकर प्रसाद तिमिल्सिना

सबै कुरा माथि मन्त्रालयबाट आएको कुरा स्वीकृत गरेको हो । हामीले मात्रै गरेको भए, आर्थिक चलखेल गरे भन्ने शङ्का गर्नु स्वाभाविक हो । सबै कुरा माथि शिक्षा मन्त्रालयबाट आएको हो । कन्सल्टेन्सीको इभ्यालुएसन गर्ने कुराको क्राइटएरिया पनि माथिबाट नै स्वीकृत गर्नुपर्छ । ०७९ पुसमा हो, टेक्निकल विषय सकिएको छ । अस्ति भर्खर स्वीकृत भएको हो । सबै चिज भइसकेपछि अहिले विरोध भएको देखिन्छ । चिठी हामीकहाँ पनि आएको हो । प्रोसेस अनुसार हामीले वार्तामा बोलाउँछौँ । मूल्याङ्कनमा चित्त नुबुझे ७ दिनभित्र निवेदन दिन पाउँछ । त्यसपछि हामीले उत्तर दिनुपर्छ । उत्तर चित्त बुझेन भने आफ्नो प्रोसेसमा जान सकिन्छ ।

एउटा इन्जिनियरको भरमा भनेर बाहिरको मान्छेले भड्काउने काम भयो । हामीले सबै विधि, नियम अनुसार काम गरेका छौँ । चित्त नबुझे पनि विधिवत् रूपमा उहाँहरू यहाँ आउनुभएको छैन । बाहिर बरु हल्ला गरिएको अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप