आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

राज्यलाई चुनौती दिँदै वैदेशिक रोजगारीमा पठाउने नाममा नक्कली विज्ञापन

सोमबार, २५ भदौ २०८०, १० : ५०
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा अवसर भन्दै नक्कली विज्ञापनको बिगबिगी बढेको छ । राज्य संयन्त्रलाई नै चुनौती दिने गरी नक्कली  विज्ञापन निकाल्दै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती सूचना प्रकाशित हुन थालेको हो । 

कोरियामा मौसमी कामदार पठाउने, जर्मनीमा समेत कामदार माग र इजरायलमा थप केयरगिभरको आवश्यकता जस्ता सूचना प्रकाशित गरिएको हो ।  नियोजित रूपमा शृखंलाबद्ध तरिकाले वैदेशिक रोजगारीका नाममा नक्कली सूचना सार्वजनिक भएका हुन् । 

केही दिन अगाडि कोरियामा मौसमी कामदार माग भएको भन्दै ईपीएस कोरिया शाखाको नक्कली पत्रमार्फत सूचना प्रकाशित गरिएको थियो । त्यस्तै जर्मनीमा समेत ३ हजार जनालाई नेपाली सहायक कामदार (केयरगिभर) को रूपमा माग आएको भन्दै आवेदन आह्वान गरिएको थियो । जसमा तलब मासिक २ हजार अमेरिकी डलर हुने भनिएको थियो । 

त्यस्तै इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको माग भएको भन्दै अर्को सूचना सार्वजनिक भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र यसरी वैदेशिक रोजगार विभागलाई चुनौती दिने गरी नक्कली सूचना सार्वजनिक भइरहेको हो । 

सरकारको तर्फबाट कुनै पनि पहल नभइरहेको अवस्थामा सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सार्वजनिक हुन थालेको हो ।  जर्मनले केही महिना अगाडि नेपाली कामदार लैजाने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावबारे हाल दुवै देशका निकायबीच छलफल भइरहेको छ । तर, हालसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । तर, सामाजिक सञ्जालमा भने ३ हजार कामदारको माग गर्दै नक्कली सूचना सार्वजनिक गरिएको हो । वैदेशिक रोजगार विभागबाट जारी भएको सूचना भन्दै नक्कली विज्ञापन सार्वजनिक भएको हो । 

त्यस्तै दक्षिण कोरियामा समेत मौसमी कामदार माग भएको भन्दै नक्कली सूचना सार्वजनिक गरिएको थियो । मन्त्रालय र विभागले यस्ता सूचनाको पछि नलाग्न सबैमा अनुरोध गरेका छन् । 

उक्त नक्कली विज्ञापन गर्नेलाई विभागले अनुसन्धानको दायरमा ल्याएको जनाएको छ । प्रचलित कानुन विपरीत भएका तथा हुने गतिविधिहरूलाई नियन्त्रण गर्न मन्त्रालय सदैव क्रियाशील रहेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।  हालसम्म १११ वटा मुलुकमा वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरिएको छ । व्यक्तिगत रूपमा भने १७८ वटा देशहरूमा नेपाली नागरिक वैदेशिक रोजगारीका गएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप