आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नाडा अटो शो २०२३

कमेट भर्सेज सेरेस ई–१ : अटो शोमा देखिनेछ मिनी ईभीमा प्रतिस्पर्धा

सोमबार, २५ भदौ २०८०, १० : ५१
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । पेट्रोलियम गाडीको विकल्प विद्युतीय गाडी (ईभी) को प्रयोग ब्यापक बढिरहेका बेला व्यवसायीहरु थप ईभीमा पनि सस्तो र कमर्सियल गाडीको खोजीमा लागेका छन् । यसैको उदाहरण पछिल्लो समय नेपाली बजारमा एकपछि अर्को कम मूल्यका मिनी ईभी भित्रिरहेका छन् । 

नाडा अटो शो, २०२३ को अवसर पारेर दुई प्रतिस्पर्धी ब्राण्ड एमजी र सरेसले आकर्षक कम मूल्यका दुई वटा नयाँ मिनी ईभी मोडल ‘कमेट’ र ‘सेरेस ई–१’ बजारमा उतारेका छन् । 

एमजीले १७ किलोवाट ब्याट्री क्षमतामा कमेट ईभी ल्याएको छ भने नेपालका लागि न्यू ब्राण्ड सेरेसले सोही सेग्मेन्टमा १३ किलोवाट क्षमतामा ई–१ बजारमा उतारेको छ । 

ब्याट्री क्षमता, उपलब्ध रेन्ज र बजार मूल्यका हिसाबले यी दुई मोडल नै द बिगेस्ट शो अफ नेपाल ‘नाडा अटो शो, २०२३’ को मिनी ईभीको आकर्षण र प्रतिस्पर्धी दुबै हुने प्रायः निश्चित छ ।

कमेट भर्सेज सेरेस ई–१

सन् २०१७ देखि नेपाली बजारमा निरन्तर ईभीको ब्यापार गरिरहेको एमजीका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजीको मिनी ईभीमा दुई भेरियन्ट कमेट ईभी–पेस र ईभी–प्ले बजारमा उतारेको हो । 

३१.२६ किलोवाट मोटरक्षमतामा १७.३ किलोवाट ब्याट्री क्षमता उपलब्ध यी दुई भेरिएन्टले २३० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । जुन गाडीले ११० एनएमको टक्र्यू उत्सर्जन गर्ने क्षमता राख्दछ । 

दुई भेरिएन्टमा उपलब्ध कमेट पिस १७ लाख ९९ हजार रुपैयाँ र कमेट प्ले २० लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने कम्पनीले घोषणा गरेको छ । 

यता सँगै नाडा अटो शो, २०२३ लाई नै लक्षित गरेर तीनवटा भेरिएन्टमा सोही सोग्मेन्टको मिनी ईभी उपलब्ध गराएको सेरेसका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले १३ लाख ९९ हजार रुपैयाँमा नै कार उपलब्ध गराउने बताइसकेको छ । 

१८० किलोमिटर रेन्ज दिने ई–१ वेस र फुल अप्सनमा उपलब्ध छ । जसको मूल्य १३ लाख ९९ हजार र १४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसमा १३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । 

यसै गरी, लङ रेन्ज मिनी ईभीको मूूल्य १७ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ । १६ किलोवाट आवरको ब्याट्री जडान गरिएको कारले सिङ्गल चार्जमा २२० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दावी छ । 

सेरेसमाथि विश्वासको चुनौती

उसो त एमजीको तुलनामा सेरेसले कम मूल्यमा मिनी ईभी उपलब्ध गराएपनि कम्पनीमाथि विश्वासको चुनौती देखिन सक्ने आकलन गर्न सकिन्छ । किनकि सेरेस आफैमा नेपालका लागि नयाँ ब्राण्ड हो । 

अटो शोमार्फत् नै नेपालमा नयाँ ब्राण्ड भित्र्याउन लागेको एमएडब्लू वृद्धिलाई ब्राण्ड स्थापित गराउन पक्कै केही कसरत गर्नु पर्नेछ । 

तथापि, सेरेस अन्तर्राष्ट्रिय बजारका लागि भने नौलो ब्राण्ड भने होइन । चीनसँग विश्व बजारमा सेरेसले आफ्नो उत्पादन र प्रयोग बढाइरहेको छ । तर पनि नेपालका लागि स्थापित एमजी जस्तो ब्राण्डसँग प्रतिस्पर्धा गर्न कम्पनीले केही पापड पेल्नैपर्ने देखिन्छ ।

कम्पनीले मिनी ईभीसँगै मध्यम रेन्जको सेरेस–३ समेत बजारमा उतारेको छ । ९९ किलोवाट मोटरको साथमा ५२.७ किलोवाट ब्याट्री क्षमतामा उपलब्ध सेरेस–३ ले ४०५ किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दावी छ । 

दुई भेरियन्टमा उपलब्ध सेरेस–३ को बजार मूल्य अप्सनअनुसार ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

बजार मूल्य, क्यापासिटी, पर्फमेन्स र सेग्मेन्टवाइस यो कारको प्रतिस्पर्धा एमजी जेटएस ईभी, एमजी–४ सँगै बीवाईडी अट्टो–३ सँगसमेत प्रतिस्पर्धा हुने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप