आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खगेन्द्र लामिछानेको पानीफोटो पुस्तक लोकार्पण

सोमबार, २५ भदौ २०८०, २० : ४०
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । कलाकार खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो लोकार्पण भएको छ । काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा सोमबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो ।

कलाकार नीर शाह, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, अभिनेत्री ऋचा शर्मा, निर्देशक मनोज पण्डित, निश्चल बस्नेत, निर्देशक दीपेन्द्र के खनाल, अशोक शर्मा, सौरभ राई, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, ‘पानीफोटो’का लेखक एवम् निर्देशक खगेन्द्र लामिछानेलगायतले पुस्तकको संयुक्त लोकार्पण गरे ।

कार्यक्रममा लेखक एवम् निर्देशक लामिछानेसँग लेखक एवम् सञ्चारकर्मी शिवानीसिंह थारुले पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिन् । चलचित्रका प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको यो पुस्तकले नयाँ किसिमको सन्देश प्रवाह गर्ने शिवानी सिंहको भनाइ छ ।

वरिष्ठ कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको चलचित्रप्रतिको प्रतिबद्धता सराहनीय रहेको बताए । नेपालमा पहिला भएका कृतिका आधारमा चलचित्र बन्ने गरेको सन्दर्भमा चलचित्र बनिसकेपछि पुस्तकको आवरणमा आएकामा खुसी लागेको उनले जनाए । ‘पानीफोटो’ ले सम्पूर्ण योग्यता बोक्छ, यसले चलचित्र पढ्ने विद्यार्थीहरूलाई ग्र्याजुएसन गर्न चाहिने विषयवस्तु बोकेको छ,’ उनले भने । चलचित्र बनाउँछु भनेर हिँड्नेहरूले एक पटक पानीफोटो अवश्य पढ्नुपर्नेमा उनले जोड दिए ।  

निर्देशक मनोज पण्डितले ‘पानीफोटो’ चलचित्र बन्नु आफैँमा विशेष रहेको र यसरी डकुमेन्टेसन हुनु चलचित्र क्षेत्रका लागि महत्त्वपूर्ण योगदान रहेको जनाए । ‘चलचित्रमा ब्याकग्राउन्डमा रहेर ककसले के के काम गर्छन् भनेर पुस्तकले प्रस्ट्याएको छ,’ उनले भने, ‘यो पुस्तक चलचित्र क्षेत्रका हरेक व्यक्तिले पढ्नैपर्छ । चलचित्र पढाउने कलेज र यससँग सम्बन्धित रहेर काम गर्ने संस्थाले यो पुस्तक राख्न जरुरी छ ।’

नेपालीमा आफ्नो माटो सुहाउँदो चलचित्र कसरी बन्छ भन्ने सन्दर्भमा पुस्तक कमै मात्रामा लेखिएको र त्यसको अभाव पूर्ति गर्न आफूले पानीफोटो पुस्तक लेखेको लेखक एवं निर्देशक खगेन्द्र लामिछानेले बताए । चलचित्र निर्माणका क्रममा आफूले केही घटना एवम् यात्रालाई नोट गरेको र कोरोनाकालमा त्यसलाई लिपिबद्ध गरेको उनको भनाइ छ । अनि पछि पुस्तकका रूपमा ल्याएको उनले जनाए । प्रकाशन गृह फाइनप्रिन्टका लागि यो पुस्तक खास रहेको प्रकाशक नीरज भारीले बताए । 

‘पानीफोटो’ मा नेपालमा १२ वर्ष चलेको माओवादी जनयुद्धको समयमा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरूले छोरा खोज्न गरेको प्रयत्नको कथा हो । यस कथाका लेखक खगेन्द्रले ‘पानीफोटो’ नाटकलाई सन् २०१० मा आरोहण गुरुकुलमा मञ्चन गरेका थिए । यही नाटकलाई कलाकार लामिछानेले आफ्नै निर्देशनमा चलचित्रको स्वरूपमा प्रस्तुत गरेका हुन् । चलचित्र ‘पानीफोटो’ गत वर्ष साउन १३ मा प्रदर्शन भएको थियो ।

यस पुस्तकमा खगेन्द्रले नाटकदेखि सिनेमासम्मको यात्राकथा उतारेका छन् । कथालाई एउटा माध्यमबाट अर्कोमा लैजाँदा केके परिवर्तन गर्नुपर्छ, त्यो देखाएका छन् । यो पुस्तक नाटक र सिनेमाका विद्यार्थी, नाट्यकर्मी, फिल्मकर्मी र सिर्जनात्मक प्रक्रियामा रुचि राख्ने सबैका लागि रुचिकर हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप