आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदका लागि ‘सेफ दी मिसन’, खेल सङ्ख्या र खेलाडीको टुङ्गो

मङ्गलबार, २६ भदौ २०८०, १० : २२
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली टोलीको ‘सेफ दी मिसन’ नियुक्त भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को १६औँ कार्यकारी बैठकले घिसिङलाई ‘सेफ दी मिसन’ नियुक्त गर्ने निर्णय गरेको हो । 

एनओसी बैठक जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको हो । श्रेष्ठ एनओसीका अध्यक्ष हुन् । बैठकले नेपालको ‘डेपुटी सेफ दी मिसन’ मा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य र परिषद्को बोर्ड सदस्य अञ्जन धमलालाई नियुक्त गरेको छ । 

बैठकले ओलम्पिक बडापत्रको धारा २७ र २८ को उपधारा ४ र ५ अनुसार यस्तो निर्णय गरेको हो । त्यसअनुसार, ओलम्पिक कमिटीले ‘सेफ दी मिसन’ को नियुक्ति गर्ने प्रावधान छ । प्रतियोगिताका सहभागी हुने खेलाडी, पदाधिकारी र अरू सदस्य ‘सेफ दी मिसन’ को जिम्मेवारीमा रहने गर्छ ।

प्रतियोगिताका क्रममा ‘सेफ दी मिसन’ खेलाडी भिलेजमा बस्नुपर्ने हुन्छ । ‘सेफ दी मिसन’ को पहुँच चिकित्सकीय क्षेत्र, खेलाडीको प्रशिक्षण तथा प्रतिस्पर्धा स्थल, मिडिया सेन्टर र एसियाली फेमिली होटेलमा पनि हुने गर्छ ।

बैठकले प्रतियोगितामा सहभागी हुने खेल र खेलाडी सङ्ख्याको पनि अन्तिम निर्णय गरेको छ । त्यसअनुसार, नेपालका तर्फबाट एसियाली खेलकुदमा २९ खेलमा दुई सय ५३ जना खेलाडीको सहभागिता रहने छ । गत भदौ १२ गते भएको अनलाइन डेलिगेसन रजिस्ट्रेसन बैठक (डीआरएम) अनुसार यो निर्णय गरिएको हो ।

त्यसमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक वैद्य र कार्यालय सचिव सुजनलाल श्रेष्ठ तथा परिषद्को बोर्ड सदस्य धमलाले भाग लिएका थिए । अब भौतिक उपस्थितिमा अन्तिम डीआएम भदौ ३० गते हाङझाउमा बस्नेछ । 

प्रतियोगितामा नेपालको तर्फबाट बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइङमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई-स्पोर्टसमा २३ जना खेलाडीको सहभागिता रहनेछ ।

यसैगरी फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा आठ, कबड्डीमा १२, कराँतेमा आठ, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा ६, पौडीमा चार, टेबलटेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा चार, भलिबलमा २४, भारत्तोलनमा पाँच, कुस्तीमा चार र उसुमा १२ जना खेलाडीको सहभागिता रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप