आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले बैठक

नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने, सबै कार्यक्रम स्थगित

मङ्गलबार, २६ भदौ २०८०, १२ : ४८
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिएको बताए ।

पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको उनले बताए । 

उनले पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको पनि बताए। त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए। 

पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले बताए । उनका अनुसार बैठक नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप