सीबीडीसीलाई चरणबद्ध रूपमा सुरु गरिनेछ : गभर्नर अधिकारी
मङ्गलबार, २६ भदौ २०८०, १७ : ४८
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)लाई चरणबद्धरुपमा सुरु गरिने बताएका छन् । गभर्नर अधिकारीले ग्लोबल फिनटेक फेस्टलाई सम्बोधन गर्दै सीबीडीसीलाई अघि बढाउने बताएका हुन् ।
‘सीबीडीसीको सुरुवात विभिन्न निकाय जस्तै केन्द्रीय बैंङ्कहरू, सरकारी निकायहरू, वित्तीय संस्थान, बैंङ्कहरू, प्रविधि कम्पनीको सहभागीतामा हुन्छ,’ अधिकारीले भने, ‘यस्तै, यसमा सर्वसाधारणको सहभागिता समेत आवश्यक पर्न सक्छ ।’
गभर्नर अधिकारीले सरकारको प्राथमिकतामा डिजिटल अर्थतन्त्रलाई राखेको समेत बताए । सोही योजनाअनुसार केन्द्रीय बैंकले आफ्नो डिजिटल नेपाल लक्ष्य तयार गरेको उनको भनाई छ । यसै सिलसिलामा भारतको रूपे कार्डको हाराहारीमा नेपालको पे कार्ड जारी गर्ने प्रक्रिया अघि बढेको समेत अधिकारीको भनाई छ ।