आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा ३ वर्षमा १९ हजारभन्दा बढी मुद्दा दर्ता

सबैभन्दा धेरै रुपन्देहीमा, कम रुकुम पूर्व जिल्लामा
बुधबार, २७ भदौ २०८०, ०८ : १३
बुधबार, २७ भदौ २०८०

बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षलाई हेर्दा प्रत्येक वर्ष आपराधिक घटना वृद्धि भएको पाइन्छ ।

आर्थिक वर्ष २०७७-०७८ देखि पछिल्लो आर्थिक वर्ष सम्म हेर्दा प्रदेशमा विभिन्न अपराधका घटना वृद्धि भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले तीन वर्षको अवधिमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी १९ हजार १९४ मुद्दा दर्ता भएको जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७-०७८ मा ज्यान सम्बन्धी, आत्महत्या सम्बन्धी, सङ्गठित अपराध, सार्वजनिक अपराध, सार्वजनिक अपराध, महिला तथा बालबालिका सम्बन्धी र सवारी लगायत गरी ५ हजार ३५ मुद्दा दर्ता भएका छन् ।

यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ६ हजार ३६२ र २०७९-०८० मा ६ हजार ९९७ मुद्दा दर्ता भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले प्रत्येक वर्ष अपराधसँग सम्बन्धित मुद्दाको संख्या बढ्दै जानुमा सहरीकरण एउटा कारण हो । अर्को कारणका रुपमा उनले प्रहरीको सक्रियतालाई देखाए । उनका अनुसार प्रहरी जति सक्रिय हुन्छ, त्यति धेरै मुद्दाको संख्या वृद्धि हुन्छ ।

कुन जिल्लामा कति मुद्दा ?

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै मुद्दा रुपन्देहीमा र सबैभन्दा कम रुकुम पूर्वमा दर्ता भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा रुपन्देहीमा मात्रै ३ हजार ८४६ मुद्दा दर्ता भएका छन् भने रुकुम पूर्वमा यही अवधिमा १९४ मुद्दा दर्ता भएका छन् ।

नवलपरासी पश्चिममा १ हजार २७९, कपिलवस्तुमा २ हजार १८३, गुल्मीमा ७१७, अर्घाखाँचीमा ५०२ र पाल्पामा ७९३ मुद्दा दर्ता भएका छन् ।

rupandehi-hatya (1)

यस्तै, दाङमा ३ हजार ४७१, प्युठानमा ६३३, रोल्पामा ५६७, बाँकेमा ३ हजार ४४९ र बर्दियामा १ हजार ५६० मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा जघन्य अपराधका घटनासँगै प्रहरीलाई पछिल्लो समय आत्महत्याको अवस्थाले चुनौती थपिदिएको छ । यहाँ आत्महत्याको अवस्था डरलाग्दो रहेको डीआइजी उमेशराज जोशीले बताए ।

digअपराध गर्ने विभिन्न विधि र कारण हुने भए पनि त्यसका लागि प्रहरी सतर्क नै रहने उनको भनाइ छ । यद्यपि अपराधीहरूले अनेक ढङ्गबाट विश्वभरि अपराध गर्ने उनी बताउँछन् ।

उनले महिनामा ३० देखि ३५ जनाले प्रदेशमा आत्महत्या गरिरहेको तथ्याङ्क प्रहरीमा देखिएको पनि जानकारी दिए । त्यसको रोकथामका लागि सबै मिलेर समाजमा सचेतना अभियान चलाउनुपर्ने उनले बताए ।

बुटवलका मनोचिकित्सक डाक्टर मनोज ढुङ्गानाले पनि सचेतना र व्यक्तिलाई परामर्शको अभावका कारण समाजमा आत्महत्याका घटना वृद्धि भइरहेको बताए ।

उनले समयमै मनोरोगीलाई परामर्श गर्दा आधा आत्महत्या रोकिने बताए । त्यसमा घरपरिवार, समाज र सरकार सबै जिम्मेवार हुनुपर्ने डा ढुङ्गानाको भनाइ छ ।

प्रहरीले केन्द्रीय नीति अनुसार लागु औषध, ठुला अपराध हत्या, सङ्गठित अपराधका सम्बन्धमा विभिन्न अपरेसनको नाम दिएर काम गरिरहेको डीआईजी जोशीले बताए ।

लुम्बिनी प्रदेशका आधाजसो जिल्ला भारतसँग सिमाना जोडिएकाले नेपालमा अपराध गर्ने र भारत गएर लुकेर बस्ने तथा भारतमा अपराध गरेर नेपाल आउनेहरू पनि उत्तिकै रहेको भन्दै जोशीले यसका लागि भारतीय प्रहरीसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिए ।

rupandehi-crime

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप