आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेटअघि अस्ट्रेलियाको निर्णय : ब्याट्सम्यानका लागि ‘नेक प्रोटेक्टर’ अनिवार्य

बिहीबार, २८ भदौ २०८०, १४ : ४२
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । विश्वकै लोकप्रिय खेलमध्ये पर्छ, क्रिकेट । क्रिकेटलाई जोखिमपूर्ण खेल पनि मानिन्छ । तीव्र गतिका बलरहरुले फालेको बल एक सय ५० किलोमिटरभन्दा तीव्र गतिमा हुइँकिएर ब्याट्सम्याननजिक पुग्छ । अनि त्यो बललाई ब्याट्सम्यानले उपयुक्त स्थानमा खेल्नुपर्ने हुन्छ ।

क्रिकेट मैदानमा तीव्र गतिमा हुइँकिएर आएको बलले लागेर थुप्रै ब्याट्सम्यानको निधन पनि भएको छ । त्यसैले क्रिकेट खेलमा खासगरी ब्याट्सम्यानहरुले सुरक्षाको विभिन्न उपाय अपनाएका हुन्छन् । बलले चोट लाग्नसक्ने शरीका संवेदनशील भागहरुको सुरक्षाका लागि फरक—फरक सुरक्षाकवच प्रयोग गरेका हुन्छन् ।

आईसीसी एकदिवसीय विश्वकपको मिति नजिकिँदै जाँदा अस्ट्रेलियन क्रिकेटमा ब्याट्सम्यानका लागि हेलमेटसँगै ‘नेक प्रोटेक्टर’ पनि अनिवार्य गरिएको छ । ब्याट्सम्यानको घाँटीको सुरक्षाका लागि यो नियम लागू गरिएको अस्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । 

अस्ट्रेलियन क्रिकेट बोर्डले अक्टोबर १ तारिखदेखि बाध्यात्मक रुपमा ब्याट्सम्यानहरुले ‘नेक प्रोटेक्टर’ लगाउनु पर्ने नियम लागू गरेको हो । ‘यो नियम बाध्यात्मक हो र यसलाई खेलाडीहरुले कडाइका साथ पालन गर्नुपर्नेछ,’ बोर्डले भनेको छ । यो नियम लागू भएपछि मध्यमतेज र तेजगतिका बलरको सामना गर्दा हरेक ब्याट्सम्यानले ‘नेक प्रोटेक्टर’ लगाउनै पर्ने हुन्छ ।

अस्ट्रेलियन टोलीका केही चर्चित खेलाडीले ब्याटिङ गर्दा सुरक्षा संवेदनशीलतालाई खासै ध्यान नदिएको पाइन्छ । त्यसैले पनि बोर्डले खेलाडीहरुको सुरक्षासँग सम्बन्धित नियमलाई बाध्यात्मक बनाएको समाचारमा जनाइएको छ । 

अस्ट्रेलियन क्रिकेट बोर्डले निकैअघि आफ्ना खेलाडीलाई ‘नेक प्रोटेक्टर’ लागाउन सुझाव दिएको थियो । खासगरी सन् २०१४ को नोभम्बरमा बलले चोट लागेर अस्ट्रेलियन क्रिकेटर फिल ह्युग्सको निधन भएपछि बोर्ड खेलाडीको सुरक्षाप्रति गम्भीर बनेको थियो । 

सिड्नीमा खेलिएको सेफिल्ड शिल्डका क्रममा बलले ह्युग्सको घाँटीमा गम्भीर चोट लागेको थियो । सोही कारणले उनको निधन भएको थियो । तर, यसअघि ‘नेक प्रोटेक्टर’ लगाउनु पर्ने नियम खेलाडीका लागि बाध्यकारी भने थिएन ।

ब्याट्सम्यानले टाउकोको सुरक्षाका लागि लगाउने हेलमेटमै ‘नेक प्रोटेक्टर’ जोडिएको हुन्छ । खेलाडीको सुरक्षामा ‘नेक प्रोटेक्टर’ थप प्रभावकारी हुने बोर्डको विश्वास छ । सन् २०१९ मा स्टिभन स्मिथलाई पनि बलले चोट लागेको थियो । 

लर्डसमा खेलिएको इङ्ल्यान्डविरुद्घको टेस्ट शृंखलाका क्रममा जोफरा आर्चरले फालेको बाउन्सरले लागेर उनी घाइते भएका थिए । त्यसपछि उनी सुरक्षाको विषयलाई लिएर गम्भीर बनेका थिए । त्यसअघि बेलाबेलामा उनी हेलमेटसमेत नलगाई ब्याटिङ गर्न आउँथे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप