आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तरपार्टी निर्देशन

जिम्मेवारी हेरफेरको विषयलाई लिएर एकीकृत समाजवादीमा तीव्र असन्तुष्टि

जिम्मेवारी दिँदैमा काम गर्नुपर्छ भन्ने छैन : रामकुमारी झाँक्री, अपानि खतरनाकको संकेत हो : झलनाथ खनाल
शुक्रबार, २९ भदौ २०८०, १९ : २६
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)मा जिम्मेवारी हेरफेरको विषयलाई लिएर नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी हेरफेर गरी नेकपा एसले बिहीबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको थियो । तर आफूहरुसँग कुनै छलफल नगरी कार्यविभाजन भएको भन्दै नेताहरूले जिम्मेवारी अस्वीकार गर्ने क्रम बढ्दै गएको छ । 

सम्मानित नेता झलनाथ खनालले जिम्मेवारी हेरफेर गर्ने निर्णय खतरनाक कुरा भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार राजधानीमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्यविभाजन गर्ने निर्णयमा कसैको पनि सहमति नभएको भन्दै बैठकमा छलफल गर्ने उनले बताए । 

‘यसमा कसैको पनि सहमति छैन । पार्टीको कुनै कमिटीले गरेको निर्णय हुँदै होइन । सहमतिबिना अपानि जारी भएको छ । त्यसबारे छलफल गर्दैछौं’, उनले भने ।

भदौ पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा एमालेबाट अलग भएको दुई वर्ष पुगिसक्दा समेत विभाजनको औचित्य पुष्टि हुन नसकेकोमा खनालले पार्टी अध्यक्षको आलोचना गरेका थिए । साथै, उनले १० बुँदे असहमति पत्र पेस गरेका थिए । वैचारिक, सांगठनिक र कार्यदिशाको हिसाबले एमालेभन्दा कुनै फरक नभएको भन्दै खनालले असन्तुष्टि पोखेका थिए । 

त्यस्तै, अहिलेको निर्णयमा केन्द्रीय सचिव रामकुमारी झाँक्रीले तीव्र असन्तुष्टि जनाएकी छिन् । सचिवालयको निर्णयसमेत आफूलाई थाहा नभएको उनले जिकिर गरिन् । जिम्मेवारी दिने विषयमा अध्यक्ष र महासचिवले कुनै परामर्श नगरकोमा झाँक्रीले गुनासो पोखिन् ।

‘पार्टीले दिएको जिम्मेवारी मेरो रोजाइको विषय होइन । पार्टी बनाउनमा मेरो पनि प्रमुख भूमिका छ । जिम्मेवारी नेतासँग माग्ने होइन । मसँग सल्लाह गरेर जिम्मेवारी दिएको पनि होइन । म आफ्नै क्षमताले काम गर्न सक्छु’, उनले भनिन्, ‘म मन्त्री हुँदा एकै व्यक्तिलाई दोहोरो जिम्मेवारी दिन हुँदैन भनेर हटाइयो । अहिले मन्त्री भएकाले नै दोहोरो जिम्मेवारी पाएका छन् । प्रवास त मैले एमालेमा रहँदैमा हेरेको हो । जिम्मेवारी दिँदैमा काम गर्नुपर्छ भन्ने छैन ।’

मन्त्रीबाट फिर्ता बोलाइएपछि अध्यक्ष नेपालसँग बोलचाल नै बन्द गरेकी झाँक्रीले गएको केन्द्रीय समिति बैठकमा आफूलाई भूगोलको जिम्मेवारी दिनुपर्ने मत राखेकी थिइन् । तर सर्कुलरमा प्रवासअन्तर्गत झाँक्रीलाई युरोप, अमेरिका र ल्याटिन अमेरिकाको इन्चार्ज बनाएपछि उनी आक्रोशित भएकी हुन् । 

यसैगरी, यसअघि स्थायी समिति सदस्य श्रीप्रसाद साहलाई दिएको जिम्मेवारी खुम्च्याउँदै एसिया, अष्टे«लिया र अफ्रिकामा सीमित गरिएको छ । प्रायः नेताहरूको असन्तुष्टि देख्दा उनले पार्टीभित्र अनिष्टको संकेत गरे । 

आफ्नो भूमिका खुम्चिएकोमा साह पनि सन्तुष्ट देखिँदैनन् । तर पार्टीले गरेको निर्णय आफूलाई मान्य हुने उनले बताए । एमालेमा रहँदा पनि प्रवासमा झाँक्रीसँग आफूले सहकार्य गरेको भन्दै अहिले पनि सहकार्य गर्न आफूलाई कुनै समस्या नभएको उनको जिकिर छ । जिम्मेवारी तोक्ने विषयमा भने अध्यक्ष र महासचिवबाट आफूसँग कुनै छलफल नभएको उनको भनाइ छ । 

‘नेताहरूको जिम्मेवारी तोक्ने विषयमा केही त्रुटि भएका छन् । महाधिवेशन प्रयोजनका लागि जिम्मेवारी हेरफेर भएकाले पार्टीको निर्णय मान्न तयार छु’, उनले भने । 

राजीनामाको लहरो

हालैको कार्यविभाजन सम्बन्धमा तीव्र असन्तुष्ट जनाउँदै लुम्बिनी प्रदेशका सचिव एवं केन्द्रीय सदस्य राजु गुरुङले राजीनामा घोषणा गरेका छन् । 

बिहीबार सामाजिक सञ्जाल फेसफुकमार्फत् राजीनामा घोषणा गरेको उनले केन्द्रीय समिति, सचिवालय र सर्कुलरमा फरक फरक निर्णय आएकोमा असन्तुष्टि पोखे । 

नेताहरूको जिम्मेवारी केन्द्रीय समितिबाट निर्णय गरौँ भन्दा नेतृत्वले नमानेको, पार्टीले जारी गरेको सर्कुलरमा राजनीतिक, वैचारिक, सांगठनिक तथा समाजवादको यात्रा गर्ने कार्यक्रम नसमेटिएकोले पार्टी परित्याग गरेको गुरुङले जिकिर गरे । 

‘हामीले केन्द्रीय समिति बैठकमा मूलतः तीन विषय तत्काल सम्बोधन गर्न अध्यक्षज्यू समक्ष प्रस्ताव गरेका थियौँ । पहिलो नेताहरूको जिम्मेवारी केन्द्रीय समितिबाट गर्न प्रस्ताव गरेका थियौँ तर नेताहरूले केन्द्रीय समितिभन्दा सचिवालयबाट गर्दा राम्रो हुन्छ भन्नुभयो । त्यसमा हामीले सहमति जनायौँ ।’ उनले भने, ‘तर, पार्टीको नाममात्र भन्न जान्नेलाई महत्त्वपूर्ण जिम्मेवारी दिइयो ।’ 

नेता गुरुङले राजीनामाको कारणबारे अगाडि भने, ‘पार्टीका वैचारिक, राजनीतिक कार्यदिशा स्पष्ट ढंगले लिएर जानुपर्छ भनेका थियौँ । अध्यक्षज्यूले राजनीतिक प्रतिवेदनमा त्यस विषयमा सम्बोधन गर्नुभएन । तेस्रो हाम्रो प्रधान अन्तर्विरोध के हो ? गन्तव्य के हो ? समाजवादमा जाने यात्रा तय गर्ने हो भने त्यही खालको कार्यक्रम चाहिन्छ होला । बुर्जुवा पुँजीवादी कार्यक्रम लिएर समाजवादी यात्रा तय गर्न सक्दैनौं । यी विषय सर्कुलरमा आएन र मैलै राजीनामा दिएँ ।’ 

राजीनामा घोषणापश्चात् महासचिव र उपमहासचिवहरूले निर्णयमा पुनर्विचारका लागि फोन गरेको उनले बताए । पहिला पटक पटक आग्रह गर्दा नमानेको, अहिले राजीनामा दिइसकेपछि पुनर्विचार गर्छु भन्दैमा आफू पार्टीमा नफर्किने जवाफ दिएको उनले बताए । 

दीपक मनाङ्गेबाट समेत पद अस्वीकार

जिम्मेवारी हेरफेरको विषयलाई लिएर असन्तुष्टि जनाउँदै गण्डकी प्रदेशसभा सदस्य रहेका राजीव गुरुङ (दीपक मनाङ्गे)ले समेत पद लिन अस्वीकार गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् आफूलाई दिइएको केन्द्रीय परिषद् सदस्यको पद अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले आफूलाई दिइएको पद पार्टीभित्र क्षमतावान अन्यलाई दिन आग्रह गरेका छन् ।

कार्य विभाजनलाई लिएर नेताहरूले तीव्र असन्तुष्टि जनाएपछि महासचिव घनश्याम भुसालले सचिवालयको निर्णय भएकाले यसमा आफ्नो भूमिका नभएको भन्दै नेताहरूसँग तर्किने गरेका छन् । 

स्रोतका अनुसार भुसालले मनोनीत केन्द्रीय सदस्य बढाउन सचिवालयमा प्रस्ताव गरेपनि सुनुवाइ नभएको पाइएको छ । अपानि जारी भएपछि भुसाल विहीवारै पार्टी कामका लागि सल्यान गएका छन् । 

कार्यविभाजनलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि देखिएपछि उपाध्यक्ष घनेन्द्र बस्नेतले आपसी समझदारीबाट समस्याको हल खोज्नुपर्ने बताउँछन् । पार्टी कामका लागि पूर्वी जिल्लामा रहेका उनले सबै समस्या महाधिवेशनबाट हुने भन्दै त्यति बेलासम्म जिम्मेवारीलाई लिएर असन्तुष्टि पोख्नु उपयुक्त नभएको उनको भनाइ छ । 

‘पछिल्लो सचिवालय बैठकमा म पनि थिइनँ । के भएको हो, मैले राम्रोसँग बुझ्न पाएको छैन । जिम्मेवारी हेरफेरमा केही कमीकमजोरी भएको छ’, उनले भने, ‘महाधिवेशनबाट सबै समस्या हल खोज्न सकिन्छ । त्यति बेलासम्म आपसी समझदारीमा जिम्मेवारी हेरफेर गर्न सकिन्छ । यसबारे बैठकमा छलफल हुन्छ ।’

नेतृत्वमा कार्यशैली, कार्यदिशा, वैचारिक र सैद्धान्तिक विचलन आएको, वाम आन्दोलनलाई समाप्त पार्न दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिको पिछलग्गु भएको आरोप लगाउँदै मुकुन्द न्यौपाने, केदार  न्यौपाने, चुडामणि जंगली लगायत नेताहरू एमालेमै फर्किएका छन् । 

एकीकृत समाजवादी परित्याग गरी ३० जिल्ला भन्दा बढी जिल्ला अध्यक्षहरू एमाले फर्किएका छन् । यसरी पार्टी गठन भएको २ वर्षमै नेता तथा कार्यकर्ताहरूले धमाधम पार्टीबाट अलग हुन थालेपछि नेतृत्व संकटमा परेको छ । यसले महाधिवेशनसम्म नेकपा एसमा ठूलै पहिरो जाने संकेत गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप