आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा

शनिबार, ३० भदौ २०८०, १७ : ४१
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौँमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । अनुवाद विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रीडको सीइओ सुनिती अमात्यले पुस्तक विमोचन गरे ।

विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेकी थिइन् । कमला ह्यारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र संघर्षमा हमलाले सत्मार्गमा हिँडेको आफूले पाएको बताए । ‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको छ,’ उनले भने ।

 रंगभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानक्रममा उनीहरूको परिस्थितबारे ह्यारिसले गरेको अनुभव आफूलाई मन परेका शाहले बताइन् ।  आप्रवासी आन्दोलनदेखि समलिंगी, तेस्रोलिंगी, आर्थिक व्यवस्था लगायतका विषय पनि महत्वका साथ आएको उनको भनाइ थियो ।

 शाहले प्रतीकलाई अर्को प्रश्न गरिन्, ‘यात्रामा आएका डर वा निराशालाई ह्यारिसले किन नलेखेकी होलिन्, केही छुटेजस्तो लाग्दैन ?’ प्रतीकले अरुलाई निडर बनाउन र अघि बढिरहन प्रेरित गर्न पनि यस्ता सन्दर्भलाई उल्लेख नगरेको हुन सक्ने बताए ।

 ‘पुस्तकको कुनै लाइन वा प्रसंग छोडेर अनुवादकले अनुवाद गर्न मिल्छ मिल्दैन ?’ भन्ने अर्को प्रश्नमा प्रतीकले भने, ‘मैलेचाहिँ यसो गर्न मिल्दैन र गर्दिनँ पनि । अनुवादमा इमानदारी जरुरी छ ।’

शाहले फरक प्रसङ्गमा उपराष्ट्रपतिसम्म आइपुग्दाका अपार सफलता देखाइए पनि त्यसका पछाडि पुरुषहरू दृश्यमा खास नदेखिएको बताइन् । आमाको जति भूमिका बुबाको नदेखिएको उनको भनाइ थियो ।

दुई वर्षअघि नै पुस्तकको काम थालिए पनि विविध प्राविधिक कारण ढिलाइ हुन पुगेको प्रतीकले बताए । ‘अनुवाद गर्न खासै मलाई मन लाग्दैन, तर यो अनुवादले नेपाली शब्द भण्डार बढाउन मलाई धेरै सघायो,’ उनले भने, ‘वर्षौँ प्रयोग भएर नेपालीकरण भइसकेका आयातित शब्दको मिठास नहराओस् भनेर कतिपय ठाउँमा तिनलाई प्रयोग गरेको छु ।’

पुस्तकको शीर्षकबारे भने प्रतीकले आफूले अनुवाद सुरु गर्दा यसबारे नसोचेको बताए । ‘अन्तिममा ४/५ वटा नामबारे सोचेको थिएँ,’ उनले भने, ‘लेखक/अनुवाद वसन्त थापासँग पनि कुरा भइरहेको थियो । अन्तिममा सत्यको जगमा उभिएर नै सही लागेर यही राखिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप