आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१ अर्बको अनुसन्धान र नवप्रवर्तनको कोष स्थापना गर्न ऐन बनाइँदै

आइतबार, ३१ भदौ २०८०, १८ : १२
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुसन्धान र नवप्रवर्तनको लागि छुट्टै कोष स्थापना ऐन बनाउने प्रक्रिया अगाडि बढाएको छ । 

बजेट भाषणमार्फत १ अर्बको कोष स्थापना गर्ने घोषणा गरिएको थियो । उक्त कोष स्थापना तथा सञ्चालनार्थ मन्त्रालयले ऐनको प्रक्रिया अगाडि बढाएको हो । 

कोष संचालनको निम्ति मन्त्रालयले अनुसन्धान र नवप्रवर्तन सम्बन्धी कानुनी व्यवस्था गर्न सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा तयार पारेको हो । 

उक्त ऐनलाई अन्तिम रुप प्रदान गर्ने प्रक्रिया चलिरहेको मन्त्रालयका सह–सचिव विश्वबाबु पुडाशैनीले बताए । 

अनुसन्धान र नवप्रवर्तन सम्बन्धी कानुनी व्यवस्था भए पश्चात् विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा यो एक रुपान्तरणकारी कदम हुने उनको विश्वास छ । 

सृजनशील जनशक्तिलाई व्यवहारिक अनुसन्धान मार्फत उद्यमशीलताको अवसर सिर्जना गर्न मन्त्रालयले उक्त कोषको स्थापना गर्न लागेको हो । 

विज्ञान तथा प्रविधिमा शोध, आविष्कार एवं नवप्रवर्तनलाई एकीकृत रूपमा सञ्चालन गरी संस्थागत क्षमता अभिवृद्धि र अनुसन्धानको संस्कार प्रवर्द्धन गर्ने उद्देश्य उक्त कोषको रहेको उनको भनाई छ । 

अनुसन्धान तथा नवप्रवर्तन पारिस्थितिक प्रणाली निर्माण गर्न एवं अनुसन्धान तथा नवप्रवर्तन कोष सञ्चालन गर्ने उद्देश्यले विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी विधेयकको तर्जुमाका लागि २०८० साउन ३० मा बसेको मन्त्रिपरिषद् बैटकबाट सैद्धान्तिक सहमति प्रदान भएको थियो । सोही आधारमा मन्त्रालयले विधेयकको मस्यौदा तयार गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप