आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, ३१ भदौ २०८०, २० : ५८
आइतबार, ३१ भदौ २०८०

आज २०८० भदौ ३१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता, अर्थतन्त्र सुधारका संकेत देखिए, गैह्री गाउँ हत्याकाण्डमा पक्राउ परेका भण्डारीको स्वीकारोक्ति, चिकित्सक संघको आन्दोलनले बिरामी मर्कामा, नेतृत्व हस्तान्तरणको विषयमा ओलीले खोले ‘फायर’, प्रधानमन्त्रीको चीन भ्रमणबाट कस्तो अपेक्षा ?, विराटनगरका केही क्षेत्रमा २ महिनासम्मका लागि निषेधाज्ञा, सेयर बजारमा ४२.१४ अंकको गिरावट लगायत छन् ।

१. ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता
६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार ३ जना फरारसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

२. अर्थतन्त्र सुधारका संकेत देखिए
चालु आर्थिक वर्षको पहिलो महिना मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा गएको छ । आइतबार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँ र चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँ बचतमा रहेको देखाएको हो । यसका साथै रेमिट्यान्स भित्रिने दर पनि उल्लेख्य बढेको छ ।


३. गैह्री गाउँ हत्याकाण्डमा पक्राउ परेका भण्डारीको स्वीकारोक्ति
काठमाडौँको तिनकुने, गैह्रीगाउँमा भएको सामूहिक हत्यामा संलग्न आरोपमा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्वीकार गरेका छन् । सिन्धुपाल्चोक घर भएका भण्डारीले सामूहिक हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

४. चिकित्सक संघको आन्दोलनले बिरामी मर्कामा
चिकित्सक संघको आह्वानमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ । हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त बिडारी ड्युटीमा रहेको अवस्थामा कुटिएको विरोधमा संघको आह्वानमा आइतबार अस्पताल बन्द गरिएको हो ।

५. नेतृत्व हस्तान्तरणको विषयमा ओलीले खोले ‘फायर’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिएको एउटा अभिव्यक्तिले नेतृत्व हस्तान्तरणबारे फेरि चर्चा चुलिएको छ । उनले आफू अझै २० वर्ष सक्रिय रहने तर यसको मतलब नेतृत्व ओगटेर नबस्ने प्रस्ट पारे ।

६. प्रधानमन्त्रीको चीन भ्रमणबाट कस्तो अपेक्षा ?
उत्तरी छिमेकी चीनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उच्चस्तरीय भ्रमण हुँदैछ । प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट न्यूयोर्क हुँदै असोज ५ मा चीन पुग्ने भ्रमण तालिका छ । राजनीतिक दलका नेता र परराष्ट्र विज्ञले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्सा र आपसी विश्वासको वातावरणलाई प्राथमिकता दिनुपर्ने सुझाएका छन् ।

७. विराटनगरका केही क्षेत्रमा २ महिनासम्मका लागि निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेदेखि निश्चित क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाइने जनाउँदै निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखेर विविध समूहलगायतबाट विरोध, धर्ना, जुलुस आयोजना गरिएको जनाउँदै असोज १ गते बिहान ६ बजेदेखि २ महिनासम्मका लागि निषेधित क्षेत्र तोकेका हुन् ।

८. सेयर बजारमा ४२.१४ अंकको गिरावट
आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । गत साताको बुधबार ३९ अंकले बढेको नेप्से परिसूचक आज आइतबार ४२.१४ अंकले घटेर बन्द भएको हो ।

९. शिक्षक महासंघलाई आन्दोलन छाडेर वार्तामा आउन आह्वान
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकका विरुद्धमा असोज ३ गतदेखि आन्दोलनको घोषणा गरेको महासंघलाई मन्त्रालयले वार्तामा आउन आग्रह गरेको हो ।

१०. एसिया कपको उपाधि भारतलाई
भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । भारतले प्रतियोगिताको उपाधि हात पारेको यो आठौँ पटक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप