आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाँचौ बाह्रखरी कथा लेखन प्रतियोगिता घोषणा

आइतबार, ३१ भदौ २०८०, २१ : ३४
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । बाह्रखरी मिडियाले ‘डिसहोम पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरेको छ । बाह्रखरी मिडियाले आज पत्रकार सम्मेलन गरी आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारको प्रतिभालाई प्रोत्साहन गर्नका लागि कथा प्रतियोगिता आयोजना गरेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले बाह्रखरी मिडियाले नयाँ स्रष्टा जन्माउन र कथा विधालाई अगाडि बढाउन विगत पाँच वर्षदेखि कथा प्रतियोगिता गर्दै आएको जानकारी दिए ।

नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो राशि रहेको उक्त प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले आगामी असोज ३० गतेसम्म कथा पठाउन सकिने बताइएको छ । बाह्रखरी कथा प्रतियोगिताको निर्णायक समूहको संयोजकमा प्राडा सावित्री कक्षपति, सदस्यमा कथाकार महेशविक्रम शाह र कथाकार सुविन भट्टराई रहेका छन् ।

यस्तै, बाह्रखरी मिडियामा प्राप्त भएका सबै कथालाई पहिलो चरणमा बाह्रखरी मिडियाका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा रहेको आन्तरिक समूहले छाँट्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउने बाह्रखरी मिडियाले जनाएको छ ।

उक्त मिडियाले प्रथम, द्वितीय र तृतीयका साथै अन्य २२ गरी २५ कथा र स्थापित कलाकारका पाँच कथालाई समावेश गरी पुस्तक प्रकाशन गर्ने जनाएको छ । कथा प्रतियोगितामा प्रथम हुने कथाालाई रु एक लाख, द्वितीय हुने कथाालाई रु ६० हजार र तृतीय हुने कथाालाई रु ४० हजार नगद र प्रमाणपत्र तथा मेडल प्रदान गरिने बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापाले जानकारी दिए ।

यस्तै, सङ्ग्रहमा समावेश हुने २२ कथालाई समेत जनही रु पाँच हजार सम्मानस्वरुप प्रदान गरिने सो मिडियाले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता निर्णायक समूहकी संयोजक प्राडा कक्षपतिले बाह्रखरीले समाचारमात्र नभई कथालाई समेत प्राथमिकता दिएर राम्रो काम गरेको बताइन् । “कथाकारले राम्रो प्लेटफर्म नपाएको अवस्थामा कथाकारलाई अगाडि बढाउन बाह्रखरीले खेलेको भूमिका सराहनीय छ”, उनले भनिन् ।

सोही कार्यक्रममा प्रतियोगिता निर्णायक समूहका सदस्य सुविन भट्टराईले विचार र भाषालाई सन्तुलित बनाएर कथा लेख्न सबैलाई आग्रह गरे । यस्तै, डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, फाइन प्रिन्टका सञ्चालक निरज भारीलगायतले देश विदेशमा रहेका साहित्यकारको साहित्यलाई उजागर गर्न बाह्रखरी मिडियाले खेलको भूमिकाको प्रशंसा गरे ।

कथा प्रतियोगिताको नतिजा आगामी पुस ६ गते प्रकाशन गरिने बाह्रखरी मिडियाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप