आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी अभियान

माओवादीको प्रारम्भिक निष्कर्ष : पुरानाभन्दा युवा अल्छी !

अन्तरविरोध तत्काल हल गर्न सुझाव
सोमबार, ०१ असोज २०८०, १२ : ०७
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले  विशेष रूपान्तरण अभियानमा युवाहरू आकर्षित हुन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ । पार्टीका  सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले विशेष रूपान्तरण अभियानमा युवाहरू आकर्षित हुन नसकेको स्वीकार गरेका छन् । शनिबार काठमाडौँस्थित महाराजगञ्जमा सीमित पत्रकारसँग उनले रूपान्तरण अभियान, समसामयिक राजनीति, युवा पुस्तामा देखिएको निराशा, गठबन्धन सरकारको भविष्य, नयाँ दलहरूको उदय लगायत विषयमा खुलेर कुराकानी गरे ।

माओवादीभित्र पुराना पुस्ताको तुलनामा नयाँ पुस्ता अल्छी र निष्क्रिय देखिएको उनको बुझाइ थियो । तीन घण्टा लामो बसाइको क्रमममा उनले झण्डै ८२ वर्ष उमेर भएका दीनानाथ शर्मा चार दिनसम्म गाउँगाउँ पुग्दा युवाहरू एक दिन पनि टिक्न नसकेको सुनाए ।

‘साथीहरू पुस्तान्तरणका कुरा गर्नुहुन्छ । सामाजिक सञ्जालबाट पुराना पुस्ताका कारण पार्टी कमजोर भयो भन्नुहुन्छ । उमेरले झण्डै ८२ वर्ष पुगेका दीनानाथ शर्मा चार दिनसम्म पर्वतको गाउँगाउँ पुगेर अभियान चलाउँदा युवा साथीहरू एक दिन टिक्न सक्नुभएन’, पार्टीभित्र युवाहरूको हालतबारे उनको प्रतिनिधिमुलक टिप्पणी थियो ।

आफैँ सहभागी भएको कार्यक्रममा समेत ५०/१०० जना मुस्किलले उपस्थित हुने गरेको उनले खुलासा गरे । यद्यपि सरकारले सुशासनको पक्षमा चालेको कदमबाट जनतामा केही उत्साह पलाएको उनको बुझाइ छ ।

बालेन, रवि लामिछानेप्रति संकेत गर्दै सचिव पौडेलले वैधानिक प्रक्रियाबाट जनताले अराजकतालाई अंगीकार गर्छन् भने दलहरूले स्वीकार्नुको विकल्प नभएको उनले बताए ।

पौडेलको अभिव्यक्तिबाट माओवादी यतिबेला गम्भीर मोडमा उभिएको प्रस्ट हुन्छ । शान्ति प्रक्रियामा आएपश्चात् माधव नेपाल, खिलराज रेग्मी, सुशील कोइराला नेतृत्वको सरकारबाहेक प्रत्येक सरकारमा माओवादी सहभागी भएको छ । प्रचण्ड अहिलेसम्म तीन पटक र बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री भइसकेका छन् । तर, अहिलेसम्म शान्ति प्रक्रिया टुङ्गिएको छैन । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी समस्या ज्युँका त्युँ छन् । अर्थतन्त्र चलायमान हुन नसक्दा जनताको जीवनस्तर र आर्थिक समृद्धि हुन सकेको छैन । क्रान्तिकारी शीर्ष नेताहरू नै विभिन्न प्रकरणमा मुछिँदा माओवादीप्रति जनताको विश्वास खस्किँदै गएको चुनावी परिणामले देखाएको छ ।

परम्परागत दलहरूमाथि जनताको बढ्दो वितृष्णा, तीब्र निराशा तथा आक्रोसकाबिच माओवादीले थालेको रूपान्तरण अभियानले नेता तथा कार्यकर्तामा केही उत्साह जगाए पनि विश्वस्त हुन सकेका छैनन् ।

अभियान सुरू भएको १५ दिनको समीक्षा रिपोर्टमा बागमती प्रदेशका १३ जिल्लामा माओवादी कमजोर हुनुमा मुख्य समस्या आन्तरिक गुटबन्दी, अन्तरविरोध, अन्तर्घात र जनताबाट पार्टी टाढिनु मुख्य समस्या भएको औंल्याइएको छ ।

संघ र प्रदेश चुनावमा भएको चुनावी खर्चको व्यवस्थापन देखिएको मनमुटाव, पूर्वमाओवादी र एकता प्रक्रियामा जोडिका जनमोर्चाबिच अझै सम्बन्ध सुधार नदेखिएको, पार्टीको विधि, पद्धति र सिद्धान्त मान्न छोडेको, नेतृत्व अस्वीकार गर्ने क्रम बढेको, नेताहरू सुगममा मात्र जाने गरेको जस्ता समस्या देखिएको रिपोर्टमा उल्लेख छ ।

जनता र नेताबिचको सम्बन्ध टाढिएको, चुनावमा बाहेक नेताहरूको फोन उठ्न छोडेको, विकास निर्माणको काममा ध्यान नदिने, ठेक्कापट्टा तथा विकास निर्माणमा भएका अनिमियतामा ध्यान नदिएको लगायत जनस्तरबाट गुनासा आएकाले तत्काल अन्तरविरोध हल गर्नुपर्ने सुझावसहित बागमतीका इन्चार्ज जनार्दन शर्मासमक्ष रिपोर्ट पेस भएको छ ।

तर अभियानको क्रममा जनता तथा कार्यकर्ताहरूबाट केही गुनासा आए पनि समग्रमा अभियान उत्साहजनक रहेको अध्यक्ष सरल सहयात्री पौडेलले जिकिर गरे ।

‘अहिले हामी आन्तरिक बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, अन्तरविरोधहरूको पहिचान र समाधान लगायत विषयमा केन्द्रित छौँ’, उनले भने, ‘समग्रमा अभियान  उत्साहजनक छ । यद्यपि नेताहरूको कार्यशैली, जीवनशैली लगायत विषयमा गुनासा आएका छन् । आगामी दिनमा त्यसलाई हल गर्ने गरी योजना बनाउँछौँ ।’

यस्तै अभियानको क्रममा पश्चिम रूकुम पुगेकी स्थायी कमिटी सदस्य कमला रोकाले अभियानबाट जनता उत्साहित भएको दाबी गरिन् । स्थानीय नेता तथा कार्यकर्तास्तरमा समस्या नभइ नेतृत्वमा समस्या रहेकाले पार्टी कमजोर भएको गुनासो आएको उनको भनाइ छ । रुकुमका परिवार नै माओवादी युद्धमा होमिएकाले सहभागितालाई लिएर अन्तजस्तो समस्या नदेखिएको उनको जिकिर छ ।

‘समस्या तलका नेता तथा कार्यकर्तामा होइन, शीर्ष नेताहरूमा देखिएको छ । नेताहरू रूपान्तरण नभएसम्म पार्टी रूपान्तरण हुन सक्दैन । जनयुद्धकालमा पार्टी जनताकाबिच भएकाले बलियो थियो । अहिले जनताबाट टाढिएको छ’, जनस्तरबाट आएको गुनासोबारे जानकारी दिँदै उनले भनिन्, ‘व्यवस्था परिवर्तनको एजेण्डा माओवादीले ल्याएको हुनाले प्राप्त उपलब्धिको रक्षा पनि माओवादीले नै गर्न सक्ने जनता तथा कार्यकर्ताहरूको धारणा छ ।’

कोशी प्रदेशको धनकुटालाई कार्यक्षेत्र बनाएर खटिएकी धर्मशीला चापागाईँले नेतृत्वको कार्यशैलीलाई लिएर जनतामा गुनासो भए निराशाजनक अवस्था नरहेको जिकिर गरिन् । अभियानले युवाहरूलाई आकर्षण गर्न नसकेको स्वीकार गरिन् । विदेश जानका लागि हातहातमा पासपोर्ट लिएर बसेको उल्लेख गर्दै उनले देशमा केही हुँदैन भन्ने युवाहरूको मनोविज्ञान देखिएको बताइन् ।

पहिलो चरणको कार्यक्रम संगठन सुदृढीकरण, सदस्यता नवीकरण, नयाँ सदस्य वितरणमा, भेला प्रशिक्षणमा केन्द्रित रहेकाले दसैँपछि मात्र जनतामा पुग्ने उनले बताइन् ।

उनले भनिन्, ‘बाहिर भाष्य निर्माण भएजस्तो स्थानीय नेता तथा कार्यकर्ताहरूका निराशा छैन । अभियानबाट जनताहरू उत्साहित देखिन्छन् । यद्यपि नेताहरूको कार्यशैलीप्रति कार्यकर्ताहरूको गुनासो छ । सरकारले चालेको सुशासनको अभियानले पनि जनतामा राम्रो प्रभाव परेको देखिन्छ । तर हातहातमा पासपोर्ट बोकेर बसेका युवाहरूमा देशमा बसेर केही हुँदैन भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ ।’

दोस्रो चरणको अभियानबाट प्रत्यक्षसँग जनतामा जोडिने गरी जाने चापागाईंले जनाइन् ।

यसैगरी मधेसको बारामा खटिएका नेता प्रह्लादकुमार बुढाथोकीले रूपान्तरण अभियानले जनतामा उत्साह देखिएको दाबी गरे । केन्द्रीय नेता मात्रिका यादव र गिरिराजमणि पोखरेलबिच नेतृत्वको टकराव केही देखिए पनि बाहिर प्रचार गरेजस्तो गुटबन्दी नभको उनको जिकिर छ ।

‘दुवै नेता उपमहासचिव हुनुहुन्छ । नेतृत्वको प्रभाव देखिए पनि बाहिर प्रचार गरेजस्तो आन्तरिक गुटबन्दी मधेसमा छैन’, उनले भने, ‘दलहरूप्रति युवाहरूको निराशा, वितृष्णा देखिएकाले नयाँ आयामबाट उनीहरूलाई सम्बोधन हुनेगरी कार्यक्रम ल्याउनुपर्छ । रूपान्तरण अभियानले जनता उत्साहित भएका छन् ।’

माओवादी मात्र नभइ कांग्रेस र एमालेमाथि नै युवा पुस्तामा देखिएको चरम वितृष्णा, निराशा र नकारात्मक टिप्पणी झाङ्गिरहेको अवस्थामा माओवादीले थालेको पार्टी रूपान्तरण अभियानमा गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ । पार्टीभित्रको अन्तरविरोध, अन्तर्घात, गुटबन्दी अन्त्य गरी पार्टीभित्र र बाहिर निराशामा रहेका निष्क्रिय जनताहरूको माग सम्बोधन हुनेगरी समायनुकुल नीति, नेतृत्व र संगठन निर्माण गरी कार्यक्रम ल्याउन माओवादीलाई चुनौतीपूर्ण देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप