आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : गठबन्धन बिथोल्ने षड्यन्त्र भइरहेको माधवको आशंका, प्रचण्डप्रति देउवा विश्वस्त

सोमबार, ०१ असोज २०८०, २० : ५०
सोमबार, ०१ असोज २०८०

आज २०८० असोज १ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा पार्टी एकताका लागि माओवादी केन्द्र आफ्नो नाम फेर्न तयार, सत्ता गठबन्धनबाट आफूहरुलाई निकाल्न षड्यन्त्र भइरहेको माधवकुमार नेपालको दाबी, कांग्रेस नेता शेखरले बोलाएर समूहको बैठक, एमालेले बागमती प्रदेश अधिवेशनका लागि छान्यो प्रतिनिधि, सुन तस्करी प्रकरणको अनुसन्धानमा राहुल महरा र दीपेश पुनको असहयोग, तीज र विश्वकर्मा पूजाको रमझम, डलर निरन्तर बलियो बन्दै गएपछि अर्थतन्त्रमा ‘स्ट्रेस’ लगायत छन् ।

१. पार्टी एकताका लागि माओवादी केन्द्र आफ्नो नाम फेर्न तयार
नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि आफ्नो नाम फेर्नसमेत तयार भएको छ । माओवादीको गत भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले यसबारे ठोस निर्णय गरेर  मातहतका कमिटीमा सर्कुलर पठाएको छ । पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा पठाइएको सर्कुलरमा एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्र नाम हटाउन सकिने उल्लेख गरिएको छ ।

२. सत्ता गठबन्धनबाट आफूहरुलाई निकाल्न षड्यन्त्र भइरहेको माधवकुमार नेपालको दाबी
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताए ।

३. कांग्रेस नेता शेखरले बोलाएर समूहको बैठक
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक नेताले बताए । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ ।

४. एमालेले बागमती प्रदेश अधिवेशनका लागि छान्यो प्रतिनिधि
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम लगभग सकिएको छ । यही असोज ८ र ९ गते हुने अधिवेशनका लागि १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको एमालेले जनाएको छ ।

५. सुन तस्करी प्रकरणको अनुसन्धानमा राहुल महरा र दीपेश पुनको असहयोग
६० किलो सुन तस्करी र भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा आरोपित रहेका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले प्रहरी अनुसन्धानलाई असहयोग गरेको पाइएको छ ।

६. तीज र विश्वकर्मा पूजाको रमझम
हिन्दु धर्मावलम्बीहरुले तीज र विश्वकर्मा पूजा एक साथ मनाएका छन् । तीजमा हिन्दु महिलाले ब्रत बसेर शिव भगवानको पूजा आराधना गर्दछन् भने असोज १ गते मनाइने विश्वकर्मा पूजामा विभिन्न औजार तथा सवारी साधनको पूजा गरिन्छ । 

७. डलर निरन्तर बलियो बन्दै गएपछि अर्थतन्त्रमा ‘स्ट्रेस’
नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य निरन्तर बलियो बन्दै जाँदा अर्थतन्त्रमाथि ‘स्ट्रेस’ थपिँदै गएको छ । नेपाली मुद्रा निरन्तर अवमूल्यन हुँदा पछिल्लो तीन वर्षको अवधिमा मात्रै डलर १५.२५ रुपैयाँले महँगिएको छ ।

८. पेसी तोकिएर पनि सुनुवाइ हुन सकेन सन्दीप लामिछानेविरुद्धको मुद्दा
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा स्थगितको सूचीमा परेको छ । तीज पर्व तथा पर्याप्त संख्यामा न्यायाधीश नहुँदा लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो । 

९. चीन भ्रमणमा सरकार र प्रतिपक्ष उत्तिकै चासो
चीन भ्रमणमा प्रमुख प्रतिपक्ष र सत्तारुढ दल तथा सरकारको उत्तिकै चासो बढेको छ । केही अघि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले चीन भ्रमण गरेको थियो । केही दिनमै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमण गर्दैछन् । त्यसअघि पूर्व सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना नेतृत्वमा छुट्टाछुट्टै टोलीले चीन भ्रमण गरेको थियो ।

१०. ७६ जिल्लामा डेंगु संक्रमण
नेपालमा डेंगु सङ्क्रमितको संख्या साढे २७ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्याङ्कअनुसार २७ हजार ९६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

यो पनि...

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप