आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधान सेनापतिले सार्वजनिक गरे बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’

मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखन रहेको ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सेनाको हेडक्वाटर जंङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथि प्रभुराम शर्माले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् ।

नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानको चर्चा गरिएको गीतमा युवा संगीतकार राजेन्द्र बजगाइले संगीत दिएका छन् । गायिका गीता पाण्डे, गायक सुभाष तिम्सिनाको युगल स्वर रहेको गीतमा कोरस गायन नारायण थापा, रवीन्द्र लामिछाने, राज कुमार आले मगर, राजीव परियार हेमन्त रामजेली मगरको छ । गीतको संगीत संयोजना दिनेश सुनामले गरेका छन् । 

निकै कर्णप्रिय गीतको भिडियो पनि बनेको छ । भिडियोमा नेपाली सेनाद्वारा गरिएको विभिन्न साहसिक, मानवताका कार्यहरूको भिडियो फुटेज राखिएको छ । भिडियोको निर्देशन विशेष पौड्यालले गरेका हुन् । संगीतकार, गायक गायिकालाई प्रशंसा पत्र समेत वितरण गरिएको कार्यक्रममा गीतकार श्रेष्ठले नेपाली सेनाले स्थापना कालदेखिनै देशको सेवामा दिएको योगदानको चर्चा गर्न मन लागेकोले गीत लेखेको बताए ।

‘देशको संविधानले दिएको विभिन्न जिम्मेवारी बहन गर्न नेपाली सेनाले आजसम्म कुनै कसर बाँकी राखेको छैन’, उनले अगाडि भने ‘नेपाली सेनाका कर्तव्यपरायण कर्मठ सैनिकहरु तथा हाम्रा पुर्खाहरूको योगदान र बलिदानका बारेमा सबै नेपाली नागरिकको बुझाइमा एकरूपता पाइँदैन । म एक सैनिक भएको हिसाबले सधैँ यो विषयले घचघच्याई रह्यो ।’ अहिले सूचना र सञ्चारको युग भएकोले नेपाली सेनाको योगदानलाई शब्द मार्फत गीतमा ल्याउन प्रेरणा मिलेको उनले धारण राखे । गीतको छायाङ्कन जीतबहादुर थापा र निरज पुडासैनी हुन् भने सम्पादन प्रकाश हुमागाई, किशोर दंगाल र रमेश विष्टले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया