आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकको ‘माइक्रो म्यानेजमेन्ट’ले पुँजी बजार समस्यामा

मङ्गलबार, ०२ असोज २०८०, १६ : ४१
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । माइक्रो लेबलमा गएर नेपाल राष्ट्र बैंकले पुँजी बजारको ‘माइक्रो म्यानेजमेन्ट’ गर्दा पुँजी बजार नेप्सेले गति लिन नसकेको सरोकारवालाहरूले बताएका छन् । 

राष्ट्र बैंकले कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको भन्दै आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत अर्थतन्त्रमा महामारीको असर न्यूनीकरण गर्न अवलम्बन गर्ने शेयर बजारलाई कडाइ गरेको थियो । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा ४/१२ को नीति लिएको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोड सीमा हटाए पनि १२ करोडको सीमा कायमै राखेको छ । 

शेयर बजार ४/१२ को नीतिको कारण संकटमा परेको लगानीकर्ताहरूको दाबी छ । पछिल्लो समय वर्तमान सरकार शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउने पक्षमा सकात्मक देखिएपनि राष्ट्र बंैक आफ्नो अडानमा कायम राखेको छ । 

अर्थमन्त्री डा.प्रकाशरण महतले समेत सार्वजनिक कार्यक्रमहरूमा १२ करोडमा सीमा हटाउनुपर्ने बताउँदै आएका छन् । अर्थमन्त्रीले समेत नेपाल राष्ट्र बैंकले पुँजी बजार र अर्थतन्त्रको माइक्रो म्यानेजमेन्ट गर्ने काम गर्न नहुने बताएका छन् । 

चालु आर्थिक वर्षको मौद्रिक नीति गत साउन ७ मा आएपछि नेप्से परिसूचक ८ साउनबाट घट्न थाल्यो । मौद्रिक नीतिमा राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर कर्जाको जोखिम भार घटाउने बताए पनि सोही दिन गभर्नर महाप्रसाद अधिकारीले सबै कर्जाको नभई ५० लाखसम्मको कर्जाको मात्रै जोखिम भार घटाउने बताएपछि नेप्से घट्न लागेको थियो । गत साउन ७ गतेदेखि असोज २ गते मंगलवारसम्म नेप्सेपरिसूचक २४१.९२ अंकले गिरावट आएको छ । पुँजी बजार लगानीकर्ता तथा जानकारहरूले पुँजी बजारको पछिल्लो गिरावटको प्रमुख कारण राष्ट्र बैंकले पुँजी बजारको ‘माइक्रो म्यानेजमेन्ट’ गर्नु भएको जिकिर गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य समेत रहेका शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले राष्ट्र बैंकले गरेको माइक्रो म्यानेजमेन्टको कारण शेयर बजार माथि उठ्न नसकेको दाबी गरे । 

उनले राष्ट्र बैंकले मौद्रिक नीतिमा मार्जिन प्रकृतिको शेयर धितो कर्जामा १२ को नीति लिने मात्रै नभएर बैंकहरुको प्रडक्ट कम्पनी नै किटान गरेर कर्जा दिनु भन्नु गलत भएको बताए । उनले पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुको शेयर कर्जाका प्रोडक्टहरुमा समेत चासो दिने गरेको भन्दै असन्तुष्टि जनाए ।  उनले राष्ट्र बैंकले नै शेयर बजारमा लगानी गर्ने प्रडक्ट पेपर बनाउने र माइक्रो म्यानेजमेन्ट गर्ने कुरा गलत भएको बताए । पौडेलले पुँजी बजारमा कति लगानी गर्ने भन्ने विषयमा बैंकका सिइओहरु राष्ट्र बैंकका कर्मचारी जस्तो भएको पनि टिप्पणी गरे । 

उनले नियमनकारी निकायहरूले यस्तो गर्दा  पुँजी बजार तलमाथि हुनु लगानीकर्ताहरूको विमति  भएको बताए । उनले १२ करोडको शेयर धितो कर्जाको सीमा व्यक्तिगत लगानीकर्ताको लागि प्राप्त भए पनि संस्थागत लगानीकर्ताहरूको हकमा लागू गर्नु नेप्से परिसूचक गिरावटको प्रमुख कारण रहेको बताए । उनले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा व्यक्तिगतको लागि १२ करोड ठिक भएको भन्दै संस्थागत लगानीकर्ताको लागि पनि एउटै नीति लागू राम्रो नभएको उल्लेख गरे । 

 सार्वजनिक निष्कासन गर्ने कम्पनी १० कित्ते नीतिले गर्दा आईपीओ भर्ने २७ लाख आवेदकको पछि लागेर बुक बिल्डिङ प्रणालीमा जान खाजेकाहरु प्रिमियमतर्फ लागेको बताए । पौडेलले संस्थागत लगानीकर्तालाई शून्य बनाएर व्यक्तिगत लगानीकर्तालाई प्रोत्साहन गर्ने अहिलेको अवस्थालाई सन्तुलन गर्नुपर्नेमा जोड दिए । लगानीकर्ता पौडेलले शेयर बजार घट्नै हुँदैन भन्ने मास साइकोलोजी हुनुले बजारको आधारभूत ज्ञान छैन भन्ने बुझ्नुपर्ने बताए । उनले पुँजी बजार घट्ने र बढ्ने प्रक्रिया प्राकृतिक भएको बताए । 

त्यस्तै,नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारको माइक्रो म्यानेजमेन्ट राष्ट्र बैंक वा बोर्डले गर्ने विषयमा विवाद गर्न नहुने बताए । उनले पुँजी बजार लागनीकर्ताहरु पुँजी बजारको माइक्रो म्यानेजमेन्टको विषयमा कन्सल्टेन्सी (एकरुपता) हुन आवश्यक रहेको बताए । उनले पुँजी बजारको विकास र बिस्तारको लागि लगानीकर्ताहरूको  व्यवहारमा सोचमा र हाम्रो फिलोसोफीमा कन्सल्टेन्सी आउनुपर्ने बताए । उनले धितोपत्र बजारको रिफर्म गर्ने आँट र विज्ञता आफ्नो टिममा रहेको बताए । उनले समग्र अर्थतन्त्रमा देखिएको निराशाले शेयर बजारमा कन्फिडेण्टमा कमी देखिएको बताए । अध्यक्ष हमालले सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधिमा चाँडै ब्रेक थ्रु हुने बताए । उनले सार्वजनिक निष्कासनमा १० कित्ते नीतिमा पनि केही पुनरावलोकन गर्ने बताए । 

निर्वाचनपछि बनेको नयाँ सरकारले पुँजी बजारप्रति देखाएको चासोले लगानीकर्ताहरूको मनोबल बढाए पनि बजेट तथा मौद्रिक नीतिपछि लगानीकर्ताहरू चरम निराशामा रहेका छन् । मन्त्रिपरिषद्को पहिलो बैठककै निर्णयमा पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने भनेसँगै लगानीकर्तामा एक किसिमको आत्मविश्वास बढे पनि पछिल्लो तीन महिना शेयर बजार उच्च रूपमा गिरावट आएको छ । सरकारले नेपाली पुँजी बजारको थप विकास र बिस्तारको लागि विगतमा गरेका कडा नीति परिमार्जन गरी लगानीकर्ताको मनोबल उच्च बनाउन आवश्यक देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप