आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रिजालको निधनले कांग्रेस र राष्ट्रलाई अपूरणीय क्षति : सभापति देउवा

मङ्गलबार, ०२ असोज २०८०, १९ : ५३
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

स्व रिजालको १३औँ दिनको पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जली सभामा उनले स्व रिजालले वडाध्यक्षका रुपमा भए पनि राम्रो काम गरेको र ती कामको सधैँ स्मरण रहिरहने उल्लेख गरे ।

सभापति देउवाले विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित जुझारु नेताका रुपमा परिचित स्व रिजालको वडाध्यक्षका रुपमा काम गर्दागर्दै असामयिक निधन भएको बताए । सभापति देउवाले स्व रिजालले गर्न बाँकी रहेका काम कांग्रेस र सबै मिलेर पूरा गर्नुपर्ने उल्लेख गरे । 

रिजालका परिवारजनलाई पार्टीका तर्फबाट आवश्यक साथ र सहयोग रहने बताउँदै सभापति देउवाले परिवारजनमा समवेदना प्रकट गरे । सभामा सहभागी कांग्रेसका नेताहरूले स्व रिजाललाई स्मरण गर्दै उनका अपूरा काम सम्पन्न गर्नसके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे  । 

वडाध्यक्ष  रिजालको उपचारका क्रममा गत भदौ २१ गते निधन भएको हो । विसं २०२७ कात्तिकमा जन्मिएका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा रहेका थिए । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका स्व रिजालले मानव अधिकारवादी सङ्घसंस्थामा समेत आबद्ध भएर कार्य गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप