आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

मङ्गलबार, ०२ असोज २०८०, २० : ५९
मङ्गलबार, ०२ असोज २०८०

आज २०८० असोज २ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

४५ मिनेटको रत्नपार्क–सूर्यविनायक ‘डेडिकेटेड लेन’

 सरकारले सार्वजनिक यातायातलाई विश्वसनीय, छिटो र छरितो बनाउन काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म डेडिकेटेड लेनमा डेडिकेटेड बस चलाउने भएको छ ।  संविधान दिवसको अवसर पारेर असोज ३ देखि यो सेवाको उद्घाटनको तयारीमा मंगलबार सडकमा लेन निर्माणको काम धमाधम भइरहेको छ । 

प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्रीको चीन भ्रमणको मिति नजिकिँदै जाँदा आधा दर्जन मन्त्रालयले आफ्नो एजेन्डा लगभग टुङ्ग्याएका छन् । विकास मन्त्रालयहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको एजेन्डा टुङ्ग्याएर परराष्ट्र पठाएका हुन् । तर, परराष्ट्र मन्त्रालय र स्वयं मन्त्रीपरिषद्को बैठकले भने अहिलेसम्म चीन भ्रमणमा उठाउने एजेन्डा टुङ्गो लगाइसकेको छैन ।

शेखर समूहको निष्कर्ष

नेपाली कांग्रेसको शेखर कोइराला समूहले नेपाली कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष निकालेको छ । सो समूहको मंगलबार बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । साथै बैठकले पार्टी नेताहरुको कारबाही र निलम्बन प्रक्रिया विधान अनुसार गर्नुपर्नेमा त्यसो नभएको पनि निष्कर्ष निकालेको केन्द्रीय सदस्य गोविन्द पोखरेलले बताए । 

४५ मिनेटको रत्नपार्क–सूर्यविनायक ‘डेडिकेटेड लेन’

न्याय परिषद्ले नवनियुक्त न्यायाधीशहरुको पदस्थापन गरेको छ । न्याय परिषद्को गत शुक्रबारको बैठकले नवनियुक्त न्यायाधीशहरुको पदस्थापन गरेको सूचना सोमबार सार्वजनिक गरेको हो ।  

 न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो ।  

६७० जना कैदीको सजाय माफी

राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदीको सजाय माफी गरेका हुन् ।

छोटा राजनका सहयोगी पक्राउ

सन् २०११ मा मुम्बईमा पत्रकार ज्योतिरमोय डे (जे डे) को हत्यामा दोषी ठहर गरिएका ग्याङ्गस्टर छोटा राजनका प्रमुख सहयोगीलाई भारतको उत्तराखण्ड प्रहरीले नेपाल–भारत सीमा नजिकैको चम्पावत जिल्लाबाट पक्राउ गरेको छ ।

कोशी प्रदेश एमाले अधिवेशन

नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशन अन्तरगत प्रतिनिधि छनौटको प्रक्रिया मंगलबारदेखि सुरु भएको छ । प्रतिनिधि छनौट प्रक्रिया असोज ५ गतेभित्र सम्पन्न हुने एमालेले जनाएको छ । 

संसदीय सभापति चयनमा सकस

लुम्बिनी प्रदेश सभामा मिनी संसद् मानिने विषयगत समितिका सभापति  अझै चयन हुन सकेका छैनन् । दुईवटा सरकार परिवर्तन भइसके पनि दलहरूकै भागबण्डा नमिलेका कारण सभापति चयन गर्न कठिन भएको हो । अहिले ज्येष्ठ सदस्यलाई सभापति बनाएर संसदीय समितिको बैठक बस्ने गरेको छ । 

क्यानडा–भारत तनाव 

भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् ।

समाजवादीमा असन्तुष्टि

नेकपा एकीकृत समाजवादीका केही नेताहरूलाई जिम्मेवारीको खातैखात रहेको छ भने केही एउटै जिम्मेवारी पनि नपाएर पुर्पुरोमा हात लगाउन बाध्य भएका छन् । अध्यक्ष माधवकुमार नेपालले गरेको नेताहरूको पछिल्लो जिम्मेवारी हेरफेरलाई लिएर कतिपय नेताहरूले असन्तुष्टि जनाउँदै पद अस्वीकार गरिसकेका छन् भने केहीले पार्टी नै परित्याग गरेको घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप