आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘शिक्षा विधेयक संविधान विपरीत छ, अदालतले खारेज गर्न सक्छ’ (भिडियोसहित)

बुधबार, ०३ असोज २०८०

लामो समयको प्रतीक्षापछि ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयक संसद्‍मा दर्ता भएको छ । यो विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संसद् सचिवालयमा भदौ २७ गते दर्ता गराएको थियो । दर्ता भएसँगै अब ऐन आउने आशा पलाएको छ । तर, यसको विरोध पनि उत्तिकै भइरहेको छ । शिक्षक, कर्मचारीहरू, शिक्षा क्षेत्रका सरोकारवाला निकायहरूले विरोध जनाइरहेका छन् । नेपाल शिक्षक महासंघले त बुधबारदेखि आन्दोलनको घोषणा नै गरेको छ । 

कतिपय विज्ञहरूले यो विधेयकलाई संविधानको भावना र मर्म विपरीतको संज्ञा दिएका छन् । विधेयकमा भएका कुन कुन प्रावधानहरू संविधान विपरीत छन् ? यस सन्दर्भमा सरोकारवालाले उठान गरेका मुद्दाहरू संशोधन हुन सक्ने सम्भावना लगायतका विषयमा रातोपाटीले शिक्षाविद् तथा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ का सदस्य विमल फुयालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः

विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता भएको छ । विधेयक संसद्मा दर्ता भएसँगै यसको विरोधसमेत सुरु भएको छ । विधेयकमा के कस्ता विषयहरू छन्, जो विरोधको कारण बनेको छ ?

सर्वप्रथम विधेयक आउन निकै ढिला भएको हो । ५२ वर्षपछि २०२८ सालको शिक्षा ऐन पछिलाई समय र परिस्थितिअनुसार अपडेट गराउने प्रयत्नमा छौँ । त्यही आधारमा विधेयक संसद्मा दर्ता भएको छ । यसलाई हामीले स्वागत गर्नुपर्छ । 

प्रस्तावित विधेयक भएकाले थुप्रै त्रुटि तथा कमजोरी छ । हाम्रो आफ्नै अध्ययनमा पनि समीक्षा गर्दा यसमा सुधार गर्नुपर्ने धेरै कुरा छन् । यो प्रस्तावित विधेयक भएकाले यसमा सुधार हुन्छ भन्नेमा हामी आशावादी छौँ । संसद्भित्र जनप्रतिनिधि र राजनीतिक दलहरूले शिक्षासम्बन्धी जुन खालको धारणा आइरहेको छ । त्यो आधारमा हुनुपर्छ । 

विभिन्न क्षेत्रबाट समेत विधेयकमा सुधार गर्नुपर्ने आवाजहरू आइरहेका छन् । त्यही आधारमा सांसदहरूले संशोधन गरेर संविधानले दिएको मार्गदर्शन अनुसारको बाटोमा लैजानुपर्ने देखिन्छ । त्यही आधारमा ऐन बन्नेछ भन्नेमा आशावादी छौँ । यसको प्रस्तावनादेखि नै थुप्रै विषय संशोधन गर्नुपर्ने, केलाएर हेर्नुपर्ने देखिन्छ । 

विधेयकलाई कतिपयले संविधान विरोधी भयो, प्रतिगामी भयो भनिरहेका छन् । खासमा कुरा के हो ? 

यसमा दुई तीन वटा प्रावधान आपत्तिजनक नै छ । खासगरी, अहिलेको वर्तमान संविधानले नचिन्ने संस्थाहरूलाई ठाउँ दिन खोजिएको छ । त्यो निकै गम्भीर विषय हो । तोकिएर भन्नुपर्दा अहिलेको संविधानले स्थानीय तह अथवा स्थानीय सरकारलाई २२ वटा एकल अधिकार दिएको छ । 

त्यो एकल अधिकारभित्र १२ कक्षासम्मको शिक्षाको व्यवस्थापनको जिम्मा छ । यो विधेयकमा धेरै ठाउँमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह भने  अहिलेको संविधानभन्दा पूर्वावस्थाको भनेर हेरिएको छ । 

दोस्रो कुरा,  जिल्ला शिक्षा कार्यालयहरूलाई ब्युँताउने कुरा धेरै अर्थमा आपत्तिजनक कुरा हुन् । किनकि भोलि कोही सर्वोच्च अदालत गयो भने ऐन नै खारेज वा निलम्बन हुने अवस्था आउँछ । त्यसैले, यो विधेयक संविधानअनुसार छैन । यो विषयमा हाम्रा सांसदहरूले ध्यान दिनुहुन्छ होला । 

जिल्ला प्रशासन कार्यालय राख्न मिल्ने ? जिल्ला प्रहरी कार्यालय राख्न मिल्ने तर, जिल्ला शिक्षा कार्यालय राख्न किन नमिल्ने भन्ने खालको तर्कहरू पनि अघि सारिएको देखिन्छ नि ? 

नयाँ संविधानअनुसार जति ऐन कानुन बन्नुपर्ने हो, त्यो बनिनसकेको अवस्थामा छ । अहिले तल्लो तहमा हेर्ने हो भने स्थानीय सरकारमा स्वास्थ्यका कर्मचारीहरू समायोजन भइसकेका छन् । स्थानीय सरकारअन्तर्गत सेवा दिनुपर्ने कतिपय संरचनाहरू समायोजन हुने प्रक्रिया धेरै अगाडि बढिसकेको छ । यही सन्दर्भमा शिक्षा ऐन संविधानअनुसार नै बन्नुपर्ने भएको, जिल्ला शिक्षा कार्यालय पुरानो संरचनाअनुसार नै राख्नुपर्छ भन्ने कुरा तर्क संगत देखिँदैन । 

दोस्रो कुरा, १२ कक्षासम्मको शिक्षाको व्यवस्थापन स्थानीय सरकारलाई दिएपछि हिजो जिल्ला शिक्षामा रहेको अधिकार तथा संयन्त्र अब स्थानीय सरकारमा नै विकास गर्नुपर्छ । सबै ठाउँमा छैन भनेर पछाडि फर्किने कुरा पनि होइन । 

अब हामीले ७५३ वटै स्थानीय सरकारलाई अरू विषय जस्तै शिक्षा क्षेत्रमा समेत स्रोत साधन सम्पन्न बनाउँदै लैजाने हो । आजको केही स्थानमा हेरेर यो ठिक भएन, जिल्ला शिक्षा कार्यालयमै फर्किनुपर्छ भनेर हुँदैन । 

जिल्ला शिक्षा कार्यालय राख्ने कसको चाहनामा आयो ? यसको समाधान के  हो ? 

यो विधेयक कर्मचारीतन्त्रबाट ड्राफ्ट भएको छ । यो मात्र नभई प्रायः विधेयक कर्मचारी संयन्त्रबाटै ड्राफ्ट हुन्छन् । यसमा विभिन्न स्वार्थ समूहको आ–आफ्नो दृष्टिकोणबाट टिप्पणी गर्नु स्वाभाविक हो । अब राजनीतिज्ञहरूको काम जे ऐन बनाउँछौँ, त्यो माग आयो भन्दैमा संविधानको बर्खिलाप जान सकिँदैन ।

अहिले शिक्षक सङ्गठनहरूले स्थानीय तह मातहत बस्न सक्दैनौँ भनिरहनु भएको छ । त्यसो हो भने उहाँहरूले अरू तरिकाबाट संविधान नै संशोधन गर्नुपर्‍यो भन्ने प्रस्ताव ल्याउनुपर्‍यो । तर, यो ऐनले चाहेर पनि उहाँहरूको माग सम्बोधन गर्न सक्दैन । 

शिक्षक महासंघ आन्दोलनको तयारीमा छ । अन्य सरोकारवाला निकायहरूले समेत ध्यानाकर्षण गराइरहेका छन् । यस्तो अवस्थामा यो विधेयक पुनः विधेयककै रूपमा मात्र रहने हो कि ?

शिक्षक संगठनहरूको अगुवापंक्तिले आफू प्रष्ट के हुनुपर्‍यो भने संविधानकै प्रावधानमा नभएको कुरा हामीले यति बेला माग राख्न हुने हो कि होइन सोच्नुपर्‍यो । यसमा राजनीतिक दलहरूले समेत बोल्नुपर्छ । किनभने उहाँहरूले पनि चुनावको बेला शिक्षाका विषयमा आ–आफ्नो धारणा ल्याउनु भएको छ । उहाँहरूले यो विधेयकमा दलगत रूपमा केही न केही त बोल्नुपर्‍यो नि । 

मलाई आशा के छ भने उहाँहरूले जुन खालको आन्दोलनको घोषणा गर्नुभएको छ । त्यो भन्दा पनि ठुलो कुरा उहाँहरूले ल्याउनु भएको एजेन्डाको विषयमा एक एक बुँदामा छलफल हुनुपर्‍यो । 

उहाँहरूको जायज कुरा जे जे छ, त्यो कुरामा हाम्रो पनि समर्थन छ । यो ऐन ल्याउनुको कारण के हो भने नेपालको विद्यालय शिक्षा कस्तो हुनुपर्छ ? त्यो अनुसार विधेयक ल्याउनुपर्छ । तर, अहिलेको विधेयक निकै साँघुरो रूपमा आएको छ । 

bimal phuyal  (2)

अहिले हामीले शिक्षालाई मौलिक अधिकारको रूपमा राखेका छौँ । शिक्षा नागरिकको मौलिक अधिकारको रूपमा राखेपछि राज्यको दायित्व पनि हुन्छ । शिक्षा भनेको बजारू रूपमा किनबेच गर्ने खालको हुनु हुँदैन भनेर आउनुपर्छ । शिक्षालाई स्थानीय तहको एकल अधिकारको रूपमा दिनुपर्छ र त्यही आधारमा सिङ्गो राज्यले सहयोग गर्नुपर्छ । 

दोस्रो कुरा, विद्यालयको दायित्वअन्तर्गत शिक्षक पनि हुन । विद्यालयको केन्द्रमा बालबालिका हुनुपर्छ । यो ऐनले नेपालका सम्पूर्ण केटाकेटीलाई म विद्यालयमा गइरहेको छु, पढ्न पाएको छु भन्ने खालको प्रत्याभूति दिलाउनुपर्छ । 

सार्वजनिक विद्यालयलाई मूलधारमा राखेर भावी नेपाल जस्तो बनाउन खोजेको हो, त्यो आधारमा शिक्षा हुनुपर्छ । यो ऐनबाट हामी सबैको अपेक्षा भनेको सार्वजनिक विद्यालयलाई बलियो बनाउने हो । 

निजी विद्यालयको पक्षमा ऐन आयो भन्ने गरिन्छ । भनेपछि ऐनले नै यिनीहरूलाई संरक्षण गरेको हो ? 

अहिलेको अवस्थामा निजी लगानीका विद्यालयलाई आजको भोलि नै बन्द गराउन खोज्यो भने ठुलो समस्या आउँछ । उहाँहरूलाई लगानी राज्यलाई दिनुपर्छ भनेर भन्न सकिने अवस्था हुँदैन । किनभने यति बेला राज्यले नै उनीहरूलाई कम्पनी ऐनअन्तर्गत दर्ता गराएको हो । अहिले आएर यति वर्षमा बन्द गराउँछु भनेर भन्न सकिँदैन । 

त्यसैले, राज्यले के गर्नुपर्‍यो भने विद्यार्थीहरूलाई त्यस्तो किसिमको निजी विद्यालयमा जान नपर्ने गरी सार्वजनिक विद्यालयहरूलाई नै सुदृढीकरण गर्नुपर्छ । ऐनले त्यो बाटो देखाउनुपर्छ । 

तिनीहरूले पनि देशैभरका शिक्षालाई जिम्मा लिन्छौ भनेका छैनन् । त्यसैले, यो ऐन सार्वजनिक विद्यालयलाई सक्षम बनाउन सक्ने हुनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया