आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

द्रुत बस सेवा राजधानीका अन्य क्षेत्रमा पनि विस्तार गरिने

बुधबार, ०३ असोज २०८०, १२ : १७
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्य विनायकसम्म मात्रै सीमित नरहने बताएका छन् । 

बुधवार संविधान दिवसको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सीमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगन्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए ।  

उनले बिहान र बेलुका अफिस समयमा धेरै यात्रुको चाप हुने र धेरै बसहरूको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरूको सहजताको लागि बिहान–बेलुका दुई–दुई घण्टा द्रुत बस सेवा शुभारम्भ गरिएको बताए । उनले द्रुत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने बताए । उनले द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ सुरु गरेको र त्यही उत्साह निरन्तर रूपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडी बढाउने बताए । 

उनले बस सेवालाई सरकारले निरन्तर अनुगमन र फलोअप गर्दै जाने र कुनै पनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिबद्धता जनाए । मन्त्री ज्वालाले बस सेवालाई निरन्तरता र बिस्तार दुवै  गर्ने बताए । 

उनले भने,‘राजधानीको केन्द्रबिन्दुमा रहेको सिंहदरबार लगायतका स्थानहरूमा बिहानको समयमा यात्राहरू धेरै आउन र बेलुका जाने समयमा यातायातको ठुलो आवश्यकता पर्ने र ट्राफिक चाप पर्ने अवस्थालाई ध्यानमा राख्दै बिहान दुई र बेलुका दुई घण्टा द्रुत बस सञ्चालन गर्ने निष्कर्षमा पुग्यौँ । रत्नपार्कदेखि सूर्य विनायकसम्म मात्रै यो बस सेवा सीमित हुँदैन । सरकारले यसलाई विस्तार गर्दै लैजान्छौँ ।’

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासंघले सार्वजनिक यातायातलाई छुट्टै लेनको व्यवस्था हुनुपर्छ भन्ने धेरै लामो समय देखिको माग आज सम्बोधन भएको बताए ।

उदघाटन पश्चात द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला,बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् । यात्रुहरुका लागि भने असोज चार गते बिहीवारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुनेछ । अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा अब द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्न सक्नेछ । द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप