आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
‘परिवारले बुझेका बिपी’

एउटै मञ्चमा कोइरालात्रय : घोचपेचसहित कुरा मिलनका

बुधबार, ०३ असोज २०८०, २० : १६
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा तितर–वितर भएका कोइराला परिवारका तीन जना नेतालाई बुधबार एउटै मञ्चमा देखा परे ।

कांग्रेसले बिपी साहित्य महोत्सवको अन्तिम दिनको अन्तिम सेसनमा कोइराला परिवारका शेखर, शशांक र सुजातालाई एउटै मञ्चमा उभिएयो । पत्रकार जगत नेपालको सहजीकरण रहेका ‘परिवारले बुझेका बिपी’ विषयक छलफलमा उनीहरू वक्ता थिए । बिपी पुत्र शशांक, केशवपुत्र शेखर र गिरिजाप्रसादकी छोरी सुजाताको कुरा सुन्न सानेपामा उपस्थितहरु उत्साहित देखिन्थे । तीन जनाबीचको बहस बिपी कोइरालासँग स्मरण र आगामी राजनीतिकबारे केन्द्रित भयो । 

सेसनको सुरुमै शशांकले कोइराला परिवार मिल्नुपर्ने पक्षमा आफू रहँदै आएको बताए । सुजाताले पनि कोइराला परिवार एक नै रहेको बताइरहिन् । यसबारे सुरुमा शेखर भने मौन थिए ।  

१४ औँ महाधिवेशनमा शेखर सभापति पदमा उठ्दा सुजाता प्रकाशमान सिंह प्यानलबाट उपसभापतिको उम्मेदवार बनेकी थिइन् । शशांक पनि शेखरको पक्षमा खुलेनन् । शेखर र सुजाता पराजित हुँदा शशांक कुनै समूहमा नखुली केन्द्रीय सदस्यमा लोकप्रिय मतल्याएर निर्वाचित भए ।

१५ औँ महाधिवेशनमा कोइराला परिवार एक हुन्छ कि हुँदैन भनेर फ्लोरबाट प्रश्न उठे । शशांकले १४ औँ महाधिवेशनको प्रसंग जोडेर प्रश्नको जवाफ दिए । 

शशांकले सभापतिमा आफू उपयुक्त पात्र भएपनि परिस्थितिले उम्मेदवार हुने अवस्था नबनेको बताए । १५ औँ महाधिवेशनमा भने सभापति उठ्ने उनको संकेत थियो ।

‘१५ महाधिवेशनअघि म देशैभर जान्छु। साथीहरूका भावना के छन्, मलाई सभापतिमा देख्न चाहन्छन् कि चाँहदैनन् त्यो बुझ्छु,’ उनले भने, ‘राजनीतिमा आफूले चाहेर मात्रै हुन्न। साथीहरूले के भन्छन्।’

कोइराला परिवार एक ढिक्का रहेको  भन्दै शेखर र सुजाताले पनि तयार हुनुपर्ने शशांहको भनाइ थियो ।  ‘हामी एक छौँ, एक भएर जाने कुरा शेखर दा र सुजाताले पनि भन्नुपर्‍यो । हामी तीनै जना एकै ठाउँमा बस्ने हो । एउटा परिवारको सदस्य मिलाउन सक्दैनौँ भने देश र पार्टी मिलाउने कसरी ?’ उनको प्रश्न थियो । शशांकले १४ औँ महाधिवेशनमा सबैलाई मिलाउन लाग्दा शेखरको पक्षमा उभिन नसकेको प्रस्टोक्ति दिए । ‘म त्यसबेला मिलाउन लागेको थिएँ । म सबैलाई मिलाउन सक्ने व्यक्ति पनि हुँ, अरूलाई मिलाउने तर आफू परिवर्तन नहुने स्वभाव छ,’ उनले भने, ‘१४ औँ महाधिवेशनमा म शेखर दातिर पनि लागिनँ, शेरबहादुरजीतिर पनि लागिनँ ।’  

यस्तै सुजाताले आगामी महाधिवेशनमा एक भएर अघि बढ्ने बताइन् । ‘अबको महाधिवेशनमा हामी एक हुन्छौँ, हामी एक नहुँदा पार्टीको दुर्दशा त देखिइहाल्यो,’ उनले भनिन् ।

कोइराला परिवारबाट कोही एक जनालाई सभापति बनाएर जाने कुरामा सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

शेखरले आफू सधैँ एकताकै पक्षमा रहेको भन्दै शशांक र सुजाताले बिगारेको बताए । ‘म सधैँ एक भएर जानुपर्छ भन्नेमै छु, बिगारेको त उहाँहरू (सुजाता र शशांक) ले हो, नत्र समस्या नै आउँदैनथ्यो,’ शेखरले भने । 

शशांक र सुजाताले सात नदिँदा आफू सभापतिमा हारेको भन्दै कार्यकर्ताले दुःख पाएको उनको भनाइ थियो । ‘मैले पाउने सम्मान त तपाईंहरूबाट पाइरहेकै छु, तर दुःख त कार्यकर्ताहरूले हामीहरूले भन्दा धेरै पाउनुभएको छ,’ शेखरले भने ।

१५ औँ महाधिवेशनमा सभापति को लड्ने कुनै कार्यकर्ताहरूले नै निर्णय लिनुपर्ने शेखरको भनाइ थियो ।

‘उहाँहरूले नेतृत्वका लागि हामी प्रयास गर्दैछौं त भन्नुभयो तर १४ औँ महाधिवेशनमा त प्रयास गर्नुभएन,’ उनले भने, ‘१५ औँ मा एक ठाउँमा उभिने कुरा ठिक छ।’

उनले सुशासनका पक्षमा कोइरालाहरू एक रहेको बताए । ‘पदका लागि लडाइँ हुन्छ । लडाइँ राम्रो कि नराम्रो मूल्यांकन हुँदै जाला,’ उनले भने, ‘सुशासन हुनुपर्छ भन्नेमा कोइरालाहरू एक छन्, यसमा ढुक्क हुनुहोस् ।’

आगामी दिनमा मिलेरै जाने भनेर शशांक र सुजाताको कुरामा आफू विश्वस्त भएको शेखरको भनाइ थियो ।

यस्तै शशांकले बिपी कोइरालाले जस्तै अहिले कार्यकर्तालाई माया गर्ने मान्छे पार्टीमा नभएको बताए । ‘बिपी कोइरालाले कार्यकर्ताहरुलाई धेरै माया गर्नुहुन्थ्यो । एक पटक भेटेका मान्छेलाई कहिले बिर्सिनु हुनुहुन्थ्यो । आजकलका नेताहरु कार्यकर्ताको दुःख नबुझ्ने छ ।’ 

सुजाताले कार्यकर्तालाई केन्द्रबिन्दुमा राखेर काम गर्न पार्टीका युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप