आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

विद्यालय शिक्षा विधेयकमाथि रास्वपाले संशोधन प्रस्ताव राख्ने

शिक्षकको तलब सुविधा सबभन्दा धेरै हुनुपर्छ: रास्वपा
बिहीबार, ०४ असोज २०८०, १५ : २६
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा दर्ता भएको   ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ माथि आवश्यक छलफलपछि संशोधन राख्ने जनाएको छ ।  यस सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको भन्दै रास्वपाले सरोकारवाला र विज्ञहरूसँग परामर्श गरी आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्ने स्पष्ट गरेको हो । 

महामन्त्री मुकुल ढकालले बिहीबार जारी गरेको विज्ञप्तिमा विधेयकको विरोध गर्दै देशभरबाट शिक्षकहरूले काठमाडौँमा थालेको आन्दोलनप्रति पार्टी संवेदनशील रहेको जनाएका छन् ।  

रास्वपाले  सम्पूर्ण सार्वजनिक विद्यालयहरूको गुणस्तर उकास्नु पर्ने र ती विद्यालयहरूमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । 

‘राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो’, विज्ञप्तिमा भनिएको छ, ‘शिक्षाको गुणस्तर उकास्न नसके मुलुक भयावह स्थितिमा जान्छ ।नेपालको शिक्षा नैतिक, व्यवहारिक, रोजगारमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’ 

रास्वपाले शिक्षक जस्तो मर्यादित र अति सम्मानित पेसालाई सरकारबाट कहिल्यै उचित व्यवहार नभएको जनाएको छ । समयमै विद्यालयका लागि आवश्यक दरबन्दी नखुलाउने, लाइसेन्सको परीक्षा नलिने तथा सबैलाई खुला पनि नगर्ने,  लिएको परीक्षाको नतिजा वर्षौँसम्म ननिकाल्ने जस्ता कुराले शिक्षक हुन चाहेकाहरूलाई अन्यौलता राखिँदै आएको रास्वपाको ठहर छ।  रास्वपाले शिक्षकको तलब सुविधा सबभन्दा धेरै हुनुपर्ने आफ्नो पार्टीले स्थापनाकालदेखि नै पटक पटक आवाज उठाउँदै आएको पनि जिकिर गरेको छ । 

विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरूको हकहित सुनिश्चित हुनुपर्ने भए पनि शिक्षकहरूले आफ्नो पेसागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ सङ्गठनका रुपमा रहन भने नहुनेमा जोड दिएको छ । 

शिक्षकहरूको पेसागत विकासका मागहरुमा पार्टी एकै ठाउँमा उभिन तयार भएको भन्दै  विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित भने नगर्न अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप