आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम

बिहीबार, ०४ असोज २०८०, १७ : १३
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको कोर एरियामा दिनभर सवारी जाम भएको छ । काठमाडौँको बानेश्वरदेखि माइतीघर तर्फ ओहोरदोहोर गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रोकेको छ । त्यसको असर चक्रपथसम्म नै परेको छ ।

शिक्षकहरू बिहान साढे ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका थिए । ११ बजेपछि आन्दोलनकारीको चापका कारण ट्राफिक प्रहरीले सो रुटमा चल्ने सवारीलाई रोक लगाएको थियो ।

माइतीघर हुँदै बानेश्वर र सिंहदरबार चोकतर्फ आवतजावत गर्ने सवारी साधनलाई दिनभर रोकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले रातोपाटीलाई बताए । उनले भने, ‘थापाथली चोकबाट सवारी साधनलाई त्रिपुरेश्वरतर्फ डाइभर्सन गरिएको छ ।’

ठुला सवारी साधनलाई ट्राफिक प्रहरीले तीनकुनेबाट नै डाइभर्सन गरेको छ । साना सवारी साधनलाई बानेश्वर चोक र थापाथलीबाट डाइभर्सन गरिएको एसएसपी भट्टले बताए । यात्रुवाहक बसलाई प्रहरीले रिङरोडबाट नै डाइभर्सन गरेको छ ।

नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक काठमाडौँमा प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौँको कोर एरियामा आन्दोलन भएको हुनाले चक्रपथसम्म दिनभर सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

ट्राफिक प्रहरीले बानेश्वर चोकबाट सवारी डाइभर्सन गरेर शंखमुल र पुरानो बानेश्वरतर्फ पठाएको छ । डाइभर्सनका कारण करिडोरको सडकमा पनि अत्यधिक चाप परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप