आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शैक्षिक परामर्श केन्द्रहरुलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाउँछौँ : श्रममन्त्री भण्डारी

बिहीबार, ०४ असोज २०८०, १८ : ४७
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरुलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय वैदेशिक रोजगारीको लागि व्यक्तिगत र भिजिट भिषाको नाममा जानेहरुमा बढी विकृति देखिएको बताए । उनले उक्त काम मेनपावरहरु भन्दा पनि कन्सल्टेन्सीहरुमार्फत अध्ययन र कलेजको नाममा भइरहेको पाइएको बताए । 

मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसायी संघमार्फत वैदेशिक रोजगारीमा जानेहरुमा समस्या नभएको दाबी गरे । उनले शैक्षिक परामर्श केन्द्रहरुले वैदेशिक रोजगारीमा पठाउने श्रमिकहरुको रेकर्ड सरकारसँग पनि नभएको बताए । उनले त्यस्ता संस्थाहरुको कुनै उत्तरदायित्व नहुने भएको भन्दै सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले श्रम स्वीकृत लिएर मात्रै जानुपर्ने व्यवस्था प्रतिकुल हुनेगरी शैक्षिक परामर्श केन्द्रहरुले गर्ने यस्तो कार्य रोक्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने तयारी रहेको बताए । उनले पछिल्लो समय ९९ प्रतिशत भिजिट भिषामा जाने महिला कामदारहरु समस्या रहेको बताए । उनले घरेलु कामदारको विषयमा सरकारले रोके पनि जाने क्रम भने नरोकिएको बताए । 

मन्त्री भण्डारीले घरेलु कामदार रोक्नको लागि समितिको निर्देशन आवश्यक रहेको बताए । उनले सरकारले सम्बन्धित मुलुकको अवस्था  र सुरक्षाको मापदण्ड अपनाएर मात्रै घरेलु कामदार पठाउने निर्णय गरेको बताए । उनले सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई अनिवार्य रोजगारीमा जाने देशको भाषा र सीप तालिम दिएर मात्रै पठाउने व्यवस्था गरिने बताए । उनले सरकारले वैदेशिक रोजगारीमा देखिएका वर्तमान समस्या समाधान गर्ने गरी काम गरिरहेको पनि बताए ।

मन्त्री भण्डारीले फ्रि भिषामा विगतका वर्षहरुमा १५ हजार मानिसहरु वैदेशिक रोजगारीमा गएको बताए । उनले वार्षिक रुपमा १५ हजार मानिसहरु वैदेशिक रोजगारीमा गएको बताए । उनले फ्रि भिसामा कामदारको माग भए अनुसार पठाउने गरिएको बताए ।

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप