आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म

बिहीबार, ०४ असोज २०८०, २३ : ०३
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । आज मिति २०८० साल असोज महिनाको ४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा समेटिएको छ–

चर्कियो शिक्षक आन्दोलन
विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले राजधानी आएर आन्दोलन चर्काएका छन् । आन्दोलनका कारण देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ । यसैबीच बिहीबार सरकार र शिक्षक महासंघबीचको वार्ता विफल भएको छ । 

कांग्रेसको केन्द्रीय कमिटीमा कमजोर शेखर–गगन
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले करिब पूर्णता पाएको छ । तर, केन्द्रीय समितिमा शेखर–गगन समूह थप कमजोर बनेका छन् । केन्द्रिय समितिमा दुई सदस्यमात्रै मनोनीत हुन बाँकी रहँदा यसअघिको भन्दा पनि कमजोर प्रतिनिधित्व शेखर–गगन समूहमा देखिएको हो ।  बिहीबार मात्रै सभापति शेरबहादुर देउवाले ८ जना सदस्य मनोनीत गरेका छन् । 

एमालेमा रिक्तता
नेकपा एमालेमा एक पार्टी उपाध्यक्ष, एक सचिव र संसदीय दलको उपनेता पद रिक्त भएको छ । यसअघि संविधान सभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङले उपाध्यक्ष र संसदीय दलको उपनेता दुई पद सम्हाल्दै आएका थिए । 
नेम्वाङको गत भदौ २६ गते निधन भएसँगै दुवै पद रिक्त हुन पुगेका हुन् । त्यस्तै पार्टी सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी सचिव पदबाट निलम्बनमा परेका छन् । विधान त एमालेमा सात जना सचिवको व्यवस्था छ । रायमाझीको मुद्दा चाँडै टुङ्गो लागे र सफाइ पाए उनले पुन सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

न्याय परिषद्मा मनोमानी
जिल्ला र उच्च अदालतमा न्यायाधीशको नियुक्ति र सर्वोच्च अदालतका लागि न्यायाधीशको सिफारिस गर्ने निकाय हो, न्याय परिषद् । पाँच सदस्य रहने न्याय परिषद्मा प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष रहन्छन् भने वरिष्ठतम न्यायाधीश स्वतः सदस्य हुने व्यवस्था छ । 
अन्य सदस्यहरूमा कानुन मन्त्री, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने अधिवक्ता र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस हुने व्यक्ति न्याय परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ । तर मनोनयनमा परिषद्ले मनोमानी गरेको रहस्य खुलेको छ । 

कर्जा सुरक्षण कोष
कर्जा सुरक्षणको मामिलामा बैंक तथा वित्तीय संस्थाहरुमा नै विश्वासको खडेरी देखिएको छ । समग्र वित्तीय क्षेत्रको निक्षेप र कर्जाको सुरक्षण हेर्ने गरी ‘वित्तीय बीमा’को अवधारणअनुरुप २०३१ सालमै ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’ को स्थापना भएको थियो । तर, त्यसमा बैंक तथा वित्तीय क्षेत्रको सहभागिता अत्यन्त न्यून देखिएको हो ।

भारत जाँदै सेना प्रमुख
सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधान सेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । नयाँ दिल्लीमा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने तेह्रौँ संस्करणको इन्डो–प्यासिफिक आर्मिज् चिफ कन्फरेन्स (आईपीएसीसी) मा सहभागिताका लागि उनी असोज ७ गते भारत प्रस्थान गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।

नेपाली सेनाले जनमुक्ति सेनाबाट नेपाली सेना बनेका यमबहादुर अधिकारीको पदावधि थप गरेको छ । सहायक रथीको विशेष पदमा कार्यरत अधिकारीको सैनिक ऐन तथा नियमावलीको आधारमा तीन वर्ष थप गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसबारेमा हालै बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक स्वीकृति समेत प्रदान गरिसकेको थियो ।

जलहरी प्रकरण 
पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले शक्तिकेन्द्रमा दौडधुप बढाएकै बेला उनकी श्रीमती सुमित्राले समेत राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएको खुलेको छ ।

कर्प्यु आदेश
सर्लाही सदरमुकाम मलंगवामा (पुरानो मलंगवा) स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज राति १ बजदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि मलंगवाका निश्चित क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो ।

नेपाल पराजित
यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ खेलिएको खेलमा पाकिस्तानले नेपाललाई १—० गोलले हराएको हो ।

‘फिफिया’ नामको एप मार्फत अनलाइन बेटिङ गराएर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएकी २८ वर्षीय दादिकि शेर्पा राई छिन् ।

प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधी मण्डलको स्वागत एवं सम्मानमा आज नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् । 

यो पनि...
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इङ्गित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् ।

पौने चार करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरिएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी गरेको भन्दै सिनामंगलमा रहेको ‘विस एचआर सोलुसन’ को लाइसेन्स खारेज गरेको हो ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप