आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लन्डनमा मिसेस नेपाल युनिभर्स २०२३ को तयारी अन्तिम चरणमा

शुक्रबार, ०५ असोज २०८०, ०७ : ५५
शुक्रबार, ०५ असोज २०८०

लन्डन । लन्डनमा हुन गइरहेको मिसेस नेपाल युनिभर्स २०२३ को औपचारिक घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । मिसेस नेपाल युनिभर्स आयोजक लन्डन फेसन हाउसले यही २४ सेप्टेम्बर आइतबार आयोजना गर्न लागिएको ‘कोरोनेसन नाइट’को तयारी पूरा भएको जनाएको छ ।

मिसेस नेपाल युनिभर्स २०२३ ले नेपालको प्रतिनिधित्व गर्दै आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औं मिसेस युनिभर्स प्रतियोगितामा भाग लिन पाउनेछिन् ।

विगतमा प्रतिस्पर्धाद्वारा छनोट गरिँदै आए पनि यस पटक भने आन्तरिक छनौट प्रक्रियाबाट विजेता चयन गरिएको र यसको औपचारिक घोषणा आइतबार गरिने लन्डन फेशन हाउसकी संस्थापक तथा सन् २०१८ की मिसेस नेपाल युनिभर्स मनीषा डङ्गोलले जानकारी दिइन् ।

बेलायतस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागितामा विशेष कार्यक्रमबीच मिसेस नेपाल युनिभर्स २०२३ घोषणा गर्न लागिएको उनले बताइन् ।

आइतबार मिसेस नेपाल युनिभर्स २०२२ की फस्ट रनर अप विमला बुढाथोकीलाई मिसेस नेपाल युनिभर्स २०२३ का रूपमा औपचारिक घोषणा गरिंदैछ ।

बुढाथोकीले फिलिपिन्सको  मनिलामा हुने ४६ औं मिसेस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्, जहाँ विश्वका सय बढी मुलुकबाट मिसेस सुन्दरीहरूले प्रतिस्पर्धा गर्दै छन् ।

 सन् २०१० देखि बेलायतमा बस्दै आएकी बुढाथोकीले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर गरेकी छन् । क्याबिन क्रुको तालिम सम्पन्न गरेकी विमलाले दुई वर्ष सिंगापुर एअरलाइन्स नेपालमा काम गरिसकेकी छन् । म्यानेजरको रूपमा बेलायतमा कार्यरत  विमला बेलायतको नेपाली समाजमा विभिन्न इभेन्ट्समा नृत्य एवम् सामाजिक कार्यहरूमा आबद्ध रहँदै आएकी छन् भने विभिन्न च्यारिटेबल संस्थासँग आबद्ध भएर काम गरिसकेकी छन् । फिलिपिन्समा हुन गइरहेको मिसेस युनिभर्समा सहभागिता जनाउन आफू निकै उत्साहित रहेको जनाउँदै उनले सबैको साथ र सहयोगका लागि आग्रह पनि गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप