आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विकास निर्माण

बेलबास–बेथरी सडक : ८ वर्षसम्म अधुरै, ५ पटक म्याद थप

अझै तीन किलोमिटरकाे काम बाँकी
शुक्रबार, ०५ असोज २०८०, ११ : ५७
शुक्रबार, ०५ असोज २०८०

बुटवल । बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालबाट ठेक्का सम्झौता भई काम सुरु भए पनि अझै सम्पन्न हुन सकेको छैन ।

चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोडमा ठेक्का सम्झौता भएको हो । दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । तर, उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन ।

खास गरी त्यो प्याकेज पूरा नहुँदा स्थानीयवासीलाई समेत यात्रा गर्दा कठिन भएको छ । २०७६ असार मसान्तसम्म सम्पन्न गर्नेगरी बुटवल–बेतानी साढे ८ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । तर उसले अझैसम्म काम सम्पन्न गरेको छैन

यो सडक खण्डमा साढे ८ किलोमिटरमध्ये ३ किलोमिटर लामो समयदेखि कालोपत्रे हुन सकेको छैन । कालोपत्रे गर्न पटक–पटक पत्राचार गरेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख लालु गिरीले रातोपाटीलाई बताए ।

44444444444

उनले  भने, ‘२ सय मिटर, ५ सय मिटर गरी फरकफरक ठाउँमा काम गर्न बाँकी छ, त्यसका लागि हामीले पटकपटक पत्राचार गरेका छौँ तर काम अझै भएको अवस्था छैन ।’

बेलवासका लक्ष्मण खड्काले नहरपुरमा सडक निर्माणको काम ठप्प रहेको बताए । उनका अनुसार बेतानीमा पनि उस्तै समस्या छ ।

‘सानासाना काम ठाउँठाउँमा रोकिएका छन्, त्यसले गर्दा हामीलाई सास्ती भएको छ,’ उनले भने ।

८ किलोमिटर सडकका लागि ५ पटक ठेक्का म्याद थप

बज्रगुरुले साढे ८ किलोमिटरको प्याकेजका लागि ६० करोड ८८ लाखमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७६ असार मसान्तमा काम सकिनुपर्ने थियो । तर ५ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

दक्षिणतर्फको एउटा साढे ८ किलोमिटर र अर्को ४ किलोमिटर सडक गरी दुई वटा प्याकेजको ठेक्का रमण कन्स्ट्रक्सनले पाएको थियो । उसले भने अघिल्लो वर्ष काम सम्पन्न गरेको छ । तर बज्रगुरुले पटकपटक विभिन्न बाहाना देखाउँदै म्याद थप गर्ने तर काम नगर्ने देखिएको छ ।

eeee

निर्माण कम्पनीले कहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कहिले आर्थिक समस्या देखाएर काम टार्दै आएको छ । काम गरेको भुक्तानी पाइरहँदा पनि ठेकेदारले काम गर्न नसकेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख गिरीले बताए ।

यो सडक निर्माणको काम हेर्न जिम्मा संघ, प्रदेश, कपिलवस्तु हुँदै रुपन्देहीको सडक पूर्वाधार कार्यालयमा आएको छ ।

बेलबास–बेथरी सडक निर्माणका लागि सुरुमा डिभिजन सडक कार्यालय बुटवलबाट ठेक्का लागेको थियो । देश संघीय व्यवस्थामा गएपछि यो सडक प्रदेश सरकारमा हस्तान्तरण भएको थियो । त्यसपछि यो आयोजना प्रदेश सरकार अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुले हेरेको थियो । २०७८ साल यता भने सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले हेरिरहेको छ ।

666

संघबाट प्रदेश अनि एउटा कार्यालयबाट अर्कोमा जिम्मेवारी हस्तान्तरण हुँदा पनि सडक निर्माणमा ढिलाइ भएको अध्येयता युवराज कँडेल बताउँछन् ।

बुटवलबाट लुम्बिनी जान सहज हुने गरी पर्यटकीय मार्गको परिकल्पनाअनुसार यो सडक निर्माण अघि बढाइएको हो । बिचमा नहर र दुवैतर्फ सात–सात मिटरको डबल लेन सडक बन्नेछ । सडकका दुवै किनारमा दुई मिटरको साइकल लेन र त्यसपछि १.५ मिटरको फुटपाथ हुनेछ ।

त्यस्तै, बिचको नहरको भित्तामा हरियाली बनाउने योजना छ ।

बुटवल उपमहानगरपालिकाको बेलबासबाट सुरु भएको चार लेन सडक मोतीपुर, शुद्धोधन गाउँपालिकाको बेतानी, सियारी गाउँपालिकाको अमुवा हुँदै मायादेवी गाउँपालिकाको बेथरीसम्म पुग्छ । बेथरी बजार भैरहवा–लुम्बिनी सडक खण्डमा पर्छ । यो सडक निर्माण हुँदा स्थानीय कृषि उपजको बजारीकरणमा पनि सहजता पुग्ने आशा गरिएको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बताए ।

555

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप