आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

जनयुद्धको ‘इपिसेन्टर’ मा रवि लामिछानेको इन्ट्री : भन्छन्– नेताहरूको खबर राम्रो सुनेनौँ

'रोल्पालाई हामीले गम्भीर ढंगले सोच्ने बेला आएको छ'
शुक्रबार, ०५ असोज २०८०, १५ : ४६
शुक्रबार, ०५ असोज २०८०

संविधान दिवसको अघिल्लो दिन असोज २ गते बेलुका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रोल्पाको लिवाङ पुगे । भोलिपल्ट माओवादी १० वर्षे जनयुद्धको ‘इपिसेन्टर’ मानिने थवाङ पुगेर युद्धमा मारिएका सहिद परिवार र स्थायीहरूसँग भेटघाट गरे । चार गते होलेरी बसेका उनी शुक्रवार रोल्पाबाट बाहिरिएका छन् । पार्टीको दस्ताबेज लेखनका लागि जनताका  आवाज सुन्न भन्दै देशैभर नेताहरूलाई खटाएर उनी आफू रोल्पा पुगेका थिए । 

थवाङ जुन ठाउँ हो, त्यहाँबाट सशस्त्र विद्रोहको क्रममा ३३ जनाले ज्यान गुमाएका छन् । युद्धको बेथा नबोको त एउटा घर पनि भेटिँदैन । अहिले सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सोही ठाउँबाट २०५२ फागुन १ गते जनयुद्ध घोषणा गरेका थिए । १० वर्षसम्म चलेको सशस्त्र विद्रोहले २४० वर्ष लामो राजतन्त्र ढाल्नका लागि महत्त्वपूर्ण भूमिका खेल्यो । 

सोही ठाउँबाट २०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका प्रचण्ड देशको तीन पटक कार्यकारी प्रधानमन्त्री भए । नन्दबहादुर पुन उपराष्ट्रपति भए, कृष्णबहादुर महरा पटक पटक मन्त्री र सभामुख भए भने वर्षमान पुन अर्थमन्त्री भए । ओनसरी घर्ती सभामुख भइन् । 

गणतन्त्र स्थापना भएपछि देशको राज्यसत्ता रोल्पाले मात्र चलाएको भन्ने आरोप नेताहरूमाथि लाग्दै आएको छ । तर राजधानी पसेपछि विद्रोहको उद्गम बिन्दू रोल्पालाई नेताहरूले भूलेको, जनताको सामान्य जीवनयापनमासमेत ध्यान नदिएको गुनासाकाबीच रविको रोल्पा कनेक्सनलाई धेरैले अर्थपूर्ण रूपमा हेरका छन् ।

माओवादीको आधार क्षेत्र मानिने रोल्पामा पुगेर रास्वपाले के सन्देश दिन खोजेको हो,  रोल्पाली जनतको मनोविज्ञान कस्तो देखियो, नेताहरूप्रति उनीहरूको गुनासा कस्ता कस्ता थिए, यसै विषयमा रास्वपाका सभापति लामिछानेसँग रातोपाटीकर्मी गणेश पाण्डेले छोटो कुराकानी गरेका छन्ः  

माओवादी जनयुद्धको ‘इपिसेन्टर’ रोल्पामा तीन दिन बस्दा रोल्पाली जनतालाई तपाईँले कसरी बुझ्नुभयो ? 

विशेष गरी लिवाङ, थवाङ र होलेरी बसाइको क्रममा माओवादी युद्धमा मारिएका सहिद परिवारहरूसँग मेरो कुराकानी भयो । उहाँहरूले ज्यानको बलिदानी दिएर बचाएका नेताहरूको खबर राम्रो सुनेनौँ, त्यसले हामी चरम निराश भयौँ भन्ने चिन्ता थियो । यस्तै शहिदमार्ग अलपत्र परेकोमा धेरैको चिन्ता थियो । थवाङमा अहिलेसम्म बिजुलीको पनि व्यवस्था रहेनछ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पनि छैन । 

थवाङ ३३ जना सहिद  भएको ठाउँ हो । सहिद संग्राहलय  भनेको छ, भवन मात्र बनेको छ । त्यसैले हामीसँग उहाँहरूले धेरै चिन्ता व्यक्त गर्नुभएको छ । जनताले असाध्यै धेरै मन दुखाएका छन् । हामीसँग अपेक्षा पनि गर्नुभएको छ । हाम्रो उम्मेदवार  नहुँदा पनि राम्रो मत आएको रहेछ । जितेर गएका नेताहरूप्रति बढो चित्त दुः खाइ छ । सहिद परिवार कष्टकर अवस्थामा जीवन गुजारी रहनुभएको छ । बालबच्चा पढाउन सक्ने अवस्थामा पनि हुनुहुन्न । 

380597498_2097475443756549_5137074033835941595_n

म खास आश्वासनको सपना बोकेर गएको होइन । जनताका गुनासा र सुझाव सुन्न गएको हुँ । जनताको पीडा देखेर बच्चा पढाउन चाहेको खण्डमा स्रोतको व्यवस्था गरिदिन्छु भनेको छु । त्यति त समन्वय गर्दा पनि गर्न सकिन्छ जस्तो लाग्यो ।  कहाँ गएर कसरी जनताको सपना टुट्यो ? रोल्पालाई विशेष गरी हामीले गम्भीर ढङ्गले सोच्ने बेला आएको छ । जनता हामीप्रति निकै उत्साहित छन् । तर, हामी पनि त्यस्तै हुने हो कि भन्ने आशङ्का गरेका छन् । 

उहाँहरूले जिताएर पठाएका नेता अहिले प्रधानमन्त्री भएका छन् । पटक पटक महत्त्वपूर्ण मन्त्रालयमा पुगेका छन् । तर एउटा बाटोसमेत बनाइदिएनन् । कृषि व्यवसाय गर्छौँ भन्दा वातावरण छैन । थवाङमा बिजुलीको व्यवस्था नहुँदा अँध्यारोमा बस्नुपर्ने अवस्था छ । मोबाइलका टावरले राम्रोसँग काम नगर्दा जनता सञ्चारविहीनताको अवस्थामा बस्नुपरेको छ । रोजगारीको व्यवस्था छैन । रोल्पालाई राजधानी बनाउँछौँ भनेका थिए राजधानीमा गएर हराए भन्ने उहाँहरूको गुनासो छ । 

जनताका मनोविज्ञान के पाउनुभयो ? 

उहाँहरूको माग र सपना नै धेरै छैन । त्यति साना विषयमा पनि नेताहरूले किन ध्यान नदिएको होला जस्तो लाग्यो । रोल्पाबाट जितेर गएका नेताहरू पटक पटक सत्तामा पुग्नुभयो । प्रचण्ड अहिलेसम्म तीन पटक प्रधानमन्त्री हुनुभयो । थवाङ, लिवाङ, होलेरीको आवाज किन बुझ्नुभएन ? होलेरी त प्रचण्डसहित उच्च नेताहरू घेराबन्दी परेको ठाउँ हो । जनताले ढाल बनेर उहाँहरूलाई  बचाएको ठाउँ हो । कमसेकम त्यो ठाउँको विकासका लागि उहाँहरूले ध्यान दिनुपर्थ्यो । हाइवे राम्रो बनाइदिए हुन्छ, कृषिमै आत्मनिर्भर हुन चाहन्छौँ, हामीलाई कुनै पद चाहिएको होइन भन्ने गुनासा स्थानीयका छन् । त्यहाँ पुगेर हामीले जिम्मेवारी बोध गरेका छौँ । यसरी हेर्दा उहाँहरू सपना धेरै ठुलो छैन, अहिलेलाई जीवनयापनका सामान्य समस्या राखेका छन् ।   

रास्वपा र परम्परागत दलहरू कांग्रेस, एमाले तथा माओवादी पनि उस्तै त हो भन्नेहरू समेत छन्, तपाईँले कसरी प्रस्टाउनुभयो ? 

कतिपयलाई लाग्दो होला, रातो क्रान्ति गरेका दलहरूले त केही गरेनन्, भर्खर खुलेका नयाँ दलले के गर्लान् भन्ने केही आशङ्का नउब्जेका होइनन् । जनतामा देखिएका त्यही आशङ्का चिर्न र उहाँहरूको समस्या बुझ्न म रोल्पा गएको हुँ । अन्य पुराना दलको तुलनामा हामी  कसरी फरक छौँ भन्ने कुरा प्रस्ट पार्‍यौँ । हामीले उम्मेदवार चुन्नका लागि प्राइमरी निर्वाचनको व्यवस्था गरेका छौँ । केन्द्रका नेतासँग बसेर चाकडी गर्ने परम्परा हामीसँग छैन । 

पार्टीको कुनै पनि समितिमा परिवारका एकै सदस्य बस्न पाइँदैन । पुराना दलका उमेर पुगेका सबै जना केन्द्रीय सदस्य भएका छन् । रास्वपामा विधानले पनि त्यसो गर्न दिँदैन । परिवारवादलाई निस्तेज गरेका छौँ । अन्य दलमा जति समय पनि राजनीति गर्न पाइन्छ । रास्वपामा २ कार्यकाल भन्दा बढी एउटै पदमा दोहोरिन पाइँदैन । दुई कार्यकालपछि म आफै बाहिरिन्छु । जति समय राजनीतिमा सक्रिय हुन्छु, इमानदारीपूर्वक भूमिका निर्वाह गर्छु ।

पुराना दल परिवारवाद, आफन्तवाद, कार्यकर्तावाद, भ्रातृसंगठनवादले गिजोलिएको कारणले राज्यको पहुँच जनतासँग पुग्न सकेन । ठेक्कापट्टा, टेन्डर, लाभका पद, नियुक्तिहरू भ्रातृसंगठनले प्राप्त गरे । रास्वपामा भ्रातृसंगठन हुँदैन सदस्य मात्र हुन्छन्, भोट हाल्न पाउँछन् । हामी खुला प्रतिस्पर्धाबाट राजनीतिक नियुक्तिमा विश्वास गर्छौँ । भ्रातृसंगठनमा योगदान दिएको, चुनाव प्रचारप्रसारमा सहभागी भएको, व्यवस्थापनमा काम गरेको आधारमा राज्यका पदहरू दिइनु भनेको राज्यको स्रोत र साधनको दोहन गर्नु हो । यसअर्थमा पुराना दल र रास्वपाबीच धेरै ठुलो फरक छ । यी कुरा मैले उहाँहरूलाई बुझाउने कोसिस गरेँ । 

रास्वपाप्रति रोल्पाली जनताबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

हामीले देशको व्यवस्था परिवर्तनका लागि पटक पटक विद्रोह, क्रान्ति गर्‍यौँ तर केही भएन तपाईँहरू नयाँ पुस्ता आउनुभएको छ खुसी लागेको छ भनेर उहाँहरूले भन्नुभएको छ । तपाईँहरूले देश र जनताका लागि आवाज उठाउनुभएको छ, हामी उत्साहित छौँ भनेका छन् । अधिकांशले सङ्गठन बनाउन र पार्टीसँग जोडिने उपायहरू खोजिरहनुभएको छ । जवाफमा मैले पार्टीसँग जोडिनुभन्दा पनि मतदाता भएर सहयोग गर्नोस् भनेको छु ।  हामीलाई एक पटक शङ्काको लाभ दिनोस् भनेका छौँ किनभने उहाँहरूको सपनामा खेल्नुहुँदैन । पटक पटक धोका भइसकेको ठाउँमा गएर भोलि फेरि धोका होला भन्नेमा हामी सचेत छौँ । उहाँहरूले उठाएकै  मुद्दाहरूलाई म सदनमा गएर उठाउँछु । म इमानदारीपूर्वक काम गर्छु र अहिले आश्वासन बाँड्ने  काम गर्न सक्दिनँ भनेर आएको छु । 

rabi rolpa

हामीले बुझेको र जनताले चाहेको के छ भने सामान्य जनजीविकाको सवालमा जनता स्पष्ट हुन चाहन्छन् । सिद्धान्तको भारी जनता बोक्न चाहँदैनन् । जनताको ठुलो सपना केही छैन । सामान्य जीवनयापनको माध्यम चाहिएको छ । 

त्यहाँका जनतामा एमसीसीप्रति असाध्यै बढी चासो रहेछ । एमसीसी के हो ? कस्तो हो ? उहाँहरू प्रस्ट हुन चाहेको पाएँ । राजनीतिमा पोचिलो विषय यही नै रहेको पाइयो । यीबाहेक स्वास्थ्य चौकी, अस्पताल, बिजुली आपूर्तिको कुरा गर्नुभयो । सडक सञ्जाल सबैभन्दा बढी सहिद मार्गको विषयलाई लिएर सबैभन्दा बढी चासो  व्यक्त गर्नुभयो । हामीले ठुलठुला राजनीति नारा दिएर होइन, जनताका स–साना आवश्यकताहरूमा केन्द्रित रहेर हाम्रा नीति र विचारहरू बनाउनुपर्छ र परिवर्तन गर्नुपर्छ भन्ने सन्देश पाएँ । राजनीति रूपमा ठूल्ठूला राजनीति गफ छाँट्ने दिन अब रहेनन् । अहिलेलाई जनजीविकाको सवालमा जनतालाई पानी, बिजुली, स्वास्थ्य चौकी, सडक, कृषि बजारीकरण, समयमा  मल, बिउ बिजन पाउने व्यवस्था, रोजगारी, गुणस्तरीय शिक्षा र उद्यमशीलता गरेर खाने व्यवस्थाको  ज्ञारेन्टी खोजेको मैले बुझें । 

382168510_2097474583756635_7725941096670382097_n

संविधान दिवसको दिन रोल्पाबाट तपाईँले कस्तो राजनीति सन्देश दिन खोज्नुभएको हो ? 

रोल्पा जानुको गहिरो अर्थ छ । रोल्पालीले जवाफ दिने नेता होइन समाधान दिने नेता चाहेका छन् । जनता चरम निराशामा छन् । परम्परागत दलबाट केही भएन । क्रान्ति र बलिदानी खेर गयो भन्ने चिन्ता देखिन्छ । उहाँहरूले विकल्प खोजिरहेको पाएँ । 

अर्को कुरा, अहिलेको प्रदेश संरचना रहिरह्यो भने व्यवस्थामाथि खतराको घण्टी बजाउँछ । दस्ताबेज र नीति विचारमा काम गर्नेछौं । शान्त विद्रोह र नीलो क्रान्तिमार्फत जनताका निराशा आशामा बदल्न चाहन्छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप