आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुलुकमा धार्मिक द्वन्द्व फैल्याउन खोजे कारबाही हुन्छ: गृहमन्त्री

शुक्रबार, ०५ असोज २०८०, १७ : ११
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सबै धार्मिक संघ, संस्थाहरूलाई अपिल गरेका छन् । 

व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधतासहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक संघ, संस्थाहरूले पनि पहल गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । एक धार्मिक समुदायका मानिसले अर्को समुदायमाथि आक्रमण गरिरहेका बेला उनले विविधताबीचको एकता, सहिष्णुता र सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ पार्ने काममा सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह गरे । 

शुक्रवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिहरूलाई बोलाएर उनले मुलुकमा नियोजित रूपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिए । एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरू देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

उनले भने, ‘हाम्रो मुलुकको रक्षा गर्नु, एकतालाई सुदृढ गर्नका निम्ति पनि हामीले धार्मिक, सांस्कृतिक सद्भाव र सहिष्णुतालाई बलियो बनाउनुपर्ने हुन्छ । यसको रक्षा गर्नैपर्ने हुन्छ । त्यसकारणले गर्दाखेरी हामीले यसले बढी ग-, हामीले किन नगर्ने ? भनेर धार्मिक संस्थाहरूले सोच्नुहुन्न भन्ने मेरो अनुरोध छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधि गर्नेमाथि कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप