आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

विद्यालय शिक्षा विधेयक संशोधन गर्ने कांग्रेसको निर्णय

शुक्रबार, ०५ असोज २०८०, १७ : ५३
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव सुनाउँदै विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् । शर्माका अनुसार कांग्रेसले सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएको छ ।

‘विद्यालय शिक्षाको वर्तमान अवस्था परिवर्तन गर्न र शिक्षक एवम् विद्यालय कर्मचारीका वर्षौँदेखिका समस्या समाधान समयानुकूलको ऐन प्रतीक्षित थियो । अघिल्लो ऐन र कानुनी व्यवस्थाका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्त्वपूर्ण विषय समेट्नु एकातर्फ सुखद छ,’ उनले भने ।

साथै विधेयकले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न लगायतको संविधानको मर्मलाई पूर्णरुपमा आत्मसात गर्न नसकेको कांग्रेसले जनाएको छ । महामन्त्री शर्माले विद्यालय शिक्षक र विद्यालय कर्मचारीको जायज र उपयुक्ति मागलाई सम्बोधन गर्न नसकेको बताए । 

‘यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन, संशोधन गर्नुपर्ने विषय छन् । संसदमा दर्ता भएको विधेयकलाई संसदीय पक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहल कदमी लिने प्रतिबद्धता समेत जाहेर गर्दै छ,’ उनले भने ।

कांग्रेसले विद्यालयको पठन पाठन सहज ढंगले हुने वातावरण निर्माण गर्न पनि अपिल गरेको छ  । ‘मुलुकको समग्र मार्ग प्रशस्त गर्ने थलो विद्यालयहरू नै हुन् । विद्यालय शिक्षामा सम्पूर्ण सुधार गर्दै शिक्षक र शिक्षण पेसालाई प्रतिष्ठित, मर्यादित र आकर्षक बनाउनु हामी सबैको दायित्व हो । यस दिशामा सबैको साझा प्रतिबद्धता र प्रतिबद्धता अनुरूपको भूमिकाका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक अपिल गर्दै छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप