आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गौर घटना फाइल

के मधेसमा आन्दोलनको तयारी गर्दैछ जसपा ?

शनिबार, ०६ असोज २०८०, १० : ०१
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आन्तरिक रुपमा आन्दोलनको तयारी थालेको छ । सरकारले गौर घटनाको फाइल खोलेपछि उसले पार्टी सुदृढीकरणको नाममा तीन महिने अभियान सञ्चालन गरी आन्दोलनको लागि मनोवैज्ञानिक रुपमा तयार गरिरहेको हो । 

जसपाले गौर घटनाकै विषयलाई लिएर काठमाडौंलगायत तराई मधेसमा कार्यक्रमको आयोजना गर्दै आएको छ । संगठन सुदृढीकरणका लागि वडा तहदेखि प्रदेश तहसम्म विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । हरेक कार्यक्रममा गौर घटनाको विषयमा चर्चा हुने गरेको छ ।
 
नेताहरुले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई आह्वान गर्ने गरेका छन् । सरकारले पूर्वाग्रही ढंगबाट गौर घटनालाई उचालेर पार्टीमाथि षड्यन्त्र गरेको भन्दै त्यसका लागि तयार रहन पार्टीका नेताहरुले निर्देशन दिदै आएका छन् । 
गौर घटना राजनीतिक घटना हो तर त्यसलाई आपराधिक घटनाको रुपमा अगाडि बढाउँदै दोषीलाई कारवाही गर्ने भनिएको छ, यो पार्टीमाथिको षड्यन्त्र हो भन्दै जसपाका शीर्ष नेताहरुले सरकारले कारवाही प्रक्रिया अगाडि बढाए शतर्क रहन भनेका हुन् । त्यसबेला आन्दोलनको आवश्यकता पर्न सक्ने भएकाले त्यसको आन्तरिक तयारीमा लाग्न शीर्ष नेताहरुले निर्देशन दिएको पार्टी स्रोतले जनाएको छ । 

उता, पार्टीका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनले यो आन्दोलनको तयारी नभई पार्टी सुदृढीकरणका लागि सञ्चालन गरिएको तीन महिने अभियान मात्र रहेको दाबी गरे । सुमनले भने, ‘गौर घटनाको विषयमा नेता तथा कार्यकर्तामा चिन्ता र चासो छ । यसमा आन्दोलनका लागि तयार गर्नै पर्दैन ।’

जसपा एउटा जीवन्त र संगठित पार्टी हो । त्यसैले, आवश्यकता अनुसार जुनबेला पनि कार्यकर्ता मुभ हुन सक्छन् । तर, गौर घटनाको विषयलाई नै लिएर अहिले आन्द्योलनको कुनै आवश्यकता नरहेको उनले बताए । 

पार्टीले सरकार तथा अन्य सरोकारवालासँग छलफल तथा परामर्श गरिरहेको छ । आवश्यकताअनुसार पार्टीले निर्णयहरु लिन सक्छ तर अहिले त्यसको आवश्यकता नपरेको सुमनले दाबी गरे । 

सुमनले त्यसो भने पनि जसपाले सरकारमाथि दबाव बढाउन गौर घटनालाई लिएर विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले संगठनको काम भइरहेको तथा आवश्यकता परेमा पार्टी आन्दोलनमा पनि जान सक्ने बताउँछन् ।

गौर घटनालाई लिएर मधेसी जनतामा एक खालको आक्रोश उत्पन्न भइसकेको छ । सरकारले समयमा बुद्धि पुर्याएन भने जुनसुकै बेला पनि माहोल भड्किन सक्छ भन्दै उनले तीन महिने अभियानले संगठन पनि बन्नुको साथै आन्दोलनको तयारी पनि रहेको स्वीकारे ।

१७ वर्षअघि गौरको राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच कार्यक्रमको बहानामा झडप हुँदा २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो । 

त्यतिबेला नै जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेता तथा कार्यकर्ताको विरुद्धमा किटानी जाहेरी परेको थियो । अहिले सरकारले गौर घटना पीडितसँग पाँचबुँदे सम्झौता गरी दोषीमाथि कारवाही गर्ने भनेको छ । त्यसको विरुद्धमा जसपाले भित्रभित्रै आन्दोलनको तयारी गरिरहेको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप