आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गाेलार्द्ध

के चीनका ‘बेपत्ता’ मन्त्रीहरू राष्ट्रपति सी जिनपिङका लागि खतराको घण्टी हुन् ?

शनिबार, ०६ असोज २०८०, १० : २१
शनिबार, ०६ असोज २०८०

ती सबै सी जिनपिङका विश्वसनीय र मन पर्ने व्यक्ति थिए । तर, अहिले ती सबै हराइरहेका छन् । 

हालैका महिनामा चीनका धेरै शीर्ष अधिकारी अचानक बेपत्ता भएपछि सी जिनपिङले ‘सफाइ अभियान’ सुरु गरेको हुन् कि भन्ने अनुमानलाई बढवा दिएको छ । विशेष गरी सेनामा आबद्ध भएका व्यक्तिहरूको काँटछाँट पछि ।

शीर्ष चिनियाँ अधिकारीहरू अचानक बेपत्ता हुनुको पछिल्लो उदाहरण रक्षामन्त्री ली साङ्फु हुन् । पछिल्लो केही महिनादेखि उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

सुरुमा, साङ्फु बेपत्ता हुनु असामान्य मानिएको थिएन । तर, एक जना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले चीनका रक्षामन्त्री बेपत्ता भएको कुरा औँल्याएपछि यसबारे अनुसन्धानलाई तीव्रता दिइयो ।

पछि समाचार एजेन्सी रोयटर्सको एक रिपोर्टले सैन्य उपकरण खरिदको सम्बन्धमा जनरल ली साङ्फु विरुद्ध अनुसन्धान भइरहेको जनायो । जनरल साङ्फु पहिला पिपल्स लिबरेसन आर्मीका लागि सैन्य उपकरण किन्न जिम्मेवार थिए ।

chinaचिनियाँ सेना

जनरल साङ्फु बेपत्ता हुनु केही हप्ता अघि मात्रै रकेट फोर्सका दुई वरिष्ठ अधिकारी, आणविक क्षेप्यास्त्रका लागि जिम्मेवार चिनियाँ सैन्य इकाई र सैन्य अदालतका न्यायाधीशलाई उनीहरूको पदबाट हटाइयो ।

अब पछिल्लो अनुमान यो छ कि देशको सैन्य बललाई नियन्त्रण गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सैन्य आयोगका केही अधिकारीविरुद्ध पनि अनुसन्धान भइरहेको छ ।

‘स्वास्थ्य कारण’ बाहेक चीनले यी अधिकारीलाई बर्खास्त गर्नुको कुनै कारण भने दिएको छैन । कुनै जानकारी नहुँदा विभिन्न अड्कलबाजी गरिँदै छन् ।

सबैभन्दा बढी चर्चामा रहेको अनुमान अनुसार चिनियाँ सरकारले जनमुक्ति सेनामा भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेको छ ।

चिनियाँ सेना निकै सतर्क छ । जुलाई महिनामा पीएलएले निकै असाधारण अपिल गरेको थियो ।

चिनियाँ सेनाले जनतासँग विगत पाँच वर्षमा भ्रष्टाचार भएको कुनै पनि मुद्दाको जानकारी भए सेनालाई दिन आग्रह गरेको थियो । 

china1भ्रष्टाचार वा राजनीतिक नियन्त्रणको युद्ध ? 

राष्ट्रपति सी जिनपिङले पनि सेनामाथि छानबिन सुरु गरेका छन् । बीबीसी मोनिटरिङको अनुसन्धानका अनुसार, अप्रिलदेखि जिनपिङले देशभरका सैन्य अड्डाहरूको निरीक्षण गर्न पाँच वटा भ्रमण गरिसकेका छन् ।

सिंगापुरको नानयाङ टेक्नोलोजी युनिभर्सिटीका रिसर्च फेलो डा. जेम्स चारले चीनको सेनामा भ्रष्टाचार प्रमुख चुनौती भएको बताउँछन् । विशेष गरी सन् १९७० को दशकमा चीनले अर्थतन्त्रको उदारीकरण सुरु गरेपछि ।

चीनले हरेक वर्ष आफ्नो सेनामा एक खर्ब युआन खर्च गर्छ । यसको ठुलो हिस्सा सैन्य उपकरण खरिदमा जान्छ । राष्ट्रिय सुरक्षा कारणले गर्दा यस खरिदको पूर्ण विवरण सार्वजनिक गर्न सकिँदैन ।

चीनको सेना र कम्युनिस्ट पार्टीबीचको सम्बन्धको अध्ययन गरेका जेम्स चारका अनुसार  चीनको केन्द्रीकृत एक-दलीय प्रणालीका कारण पारदर्शिताको यो अभाव अझ जटिल भएको छ ।

उनी यसको कारण बताउँदै भन्छन्, ‘अरु देशमा सेनाको सार्वजनिक रूपमा धेरै छानबिन हुने गर्छ । तर चीनको सैन्य बलको निगरानी कम्युनिस्ट पार्टीको हातमा मात्र छ ।’

सी जिनपिङले आफ्नो देशको सेनाभित्रको भ्रष्टाचार नियन्त्रण गर्न केही हदसम्म सफलता पाएका छन् भने सेनाको प्रतिष्ठा पुनर्स्थापना गर्न पनि केही हदसम्म सफल भएका छन् ।

तर, डा. जेम्स चार भन्छन्, ‘भ्रष्टाचारलाई उन्मुलन गर्नु असम्भव होइन भने पनि यो निकै मुस्किल काम पक्कै पनि हो किनभने किनभने यसका लागि सेनाको संरचनामा संस्थागत परिवर्तन गर्नुपर्नेछ  र यसका लागि कुनै देश तयार होला जस्तो मलाई लाग्दैन ।’

उनी थप्छन्, ‘जबसम्म चिनियाँ कम्युनिस्ट पार्टीको सरकार उचित कानुनी प्रणाली लागू गर्न तयार हुँदैन तबसम्म भ्रष्टाचार नियन्त्रण हुन्छ भन्ने मलाई लाग्दैन । त्यसैले सेनामा पनि यस्तो सफाइ अभियान जारी रहनेछ ।’

chinese ministerगहिरिँदो मानसिक डर ?

तर आज जब चीनले अमेरिकासँगको जटिल सम्बन्धलाई व्यवस्थित गर्न खोजिरहेको छ, त्यहाँका शीर्ष अधिकारीहरू अचानक बेपत्ता हुनुलाई कम्युनिस्ट पार्टीभित्रको गहिरो मानसिक डरका रूपमा पनि हेरिएको छ ।

जुलाई महिनामा चीनले जासुसी रोक्न व्यापक कानुन लागू गरेको थियो ।

यस कानुनमा उच्च पदमा बसेका व्यक्तिहरूको छानबिन गर्न अधिकारीहरूलाई थप अधिकार दिइएको थियो ।

त्यस लगत्तै, चीनको राज्य सुरक्षा मन्त्रालयले सार्वजनिक रूपमा सरकारलाई देश भित्र जासुसी गतिविधिहरू विरुद्ध लड्न मद्दत गर्न आम जनतालाई अपिल गर्‌याे ।

जनरल ली साङ्फु ठ्याक्कै त्यसै गरी हराए जसरी विदेशमन्त्री छिन ग्याङ बेपत्ता भएका थिए । 

जुलाई महिनामा परराष्ट्रमन्त्री पदबाट बर्खास्त भएपछि विभिन्न अड्कलबाजीको बजार तातेको थियो ।

यस हप्ता, वाल स्ट्रिट जर्नलले रिपोर्ट गर्‍यो कि चिन ग्याङविरुद्ध, अमेरिकामा उनको अफेयरको विषयमा अनुसन्धान जारी छ ।  यही सम्बन्धबाट उनको एउटा सन्तान पनि थियो ।

चिनियाँ मामिलाका विश्लेषक बिल बिशप भन्छन्, ‘विवाहेत्तर सम्बन्ध कम्युनिस्ट पार्टीको उच्च पदमा सामेल हुनका लागि बाधक होइन । तर गुप्तचर निकायसँग सम्बन्ध राख्ने व्यक्तिसँग सम्बन्ध राख्नु खतरनाक हुन सक्छ । वा तपाईंको राजनीतिक प्रतिद्वन्द्वी देशको नागरिकसँग तपाईंको कोही सन्तान छ भने पनि यो खतरनाक हुनसक्छ । ’ 

कम्युनिस्ट पार्टीको आन्तरिक दबाबका कारण सी जिनपिङले यो सफाइ अभियान चलाएको पनि अनुमान छ । किनभने, कोभिड–१९ महामारीपछि चीनको अर्थतन्त्रको अवस्था नाजुक छ र बेरोजगारी निरन्तर बढिरहेको छ ।

chinese minister1नेतृत्वको चुनौती

चीनको राजनीतिक प्रणालीमा सी जिनपिङ देशको राष्ट्रपति मात्र होइनन् । उनी सेनाका सर्वोच्च नेता पनि हुन् ।

एक परिप्रेक्ष्यमा एकपछि अर्को वरिष्ठ मन्त्रीहरू बेपत्ता हुनु सी जिनपिङको नेतृत्वको अस्थिरताको पनि सङ्केत हो ।

पर्यवेक्षकहरू भन्छन् कि जनरल ली र चिन ग्याङ मन्त्री मात्र थिएनन् ।

उनीहरू सी जिनपिङको मन पर्ने नेता थिए र चीनका राज्य सल्लाहकारहरूमा पनि उच्च पदमा थिए । त्यसैले उनीहरूका यस्तो अचानक पतनले चिनियाँ राष्ट्रपतिको निर्णय क्षमतामा पनि प्रश्न खडा गरेको छ ।

ठुला मन्त्रीहरू बेपत्ता हुनुलाई राजनीतिक सफाइ अभियानका रूपमा हेर्दा पनि यसले जिनपिङको नेतृत्व क्षमतामाथि प्रश्न उठाएको छ ।

किनभने, गत वर्ष मात्रै जिनपिङले पार्टी कङ्ग्रेसमा आफ्नो शक्ति बढाएका थिए, सम्भावित प्रतिद्वन्द्वीहरूलाई पन्छाएर देश चलाउने सबै महत्त्वपूर्ण समितिहरू आफ्ना वफादारहरूले भरेका थिए ।

तर, अर्को दृष्टिकोण के छ भने यो सफाइ अभियान सी जिनपिङको शक्तिको प्रदर्शन हो ।

सी जिनपिङ स्वयं चिनियाँ कम्युनिस्ट पार्टीका एक यस्ता अधिकारीका छोरा हुन् जसलाई सफाइ अभियानअन्तर्गत हटाइएको थियो ।

उनी भ्रष्टाचारविरुद्धको सार्वजनिक अभियानका लागि परिचित छन् । पर्यवेक्षकहरू भन्छन् कि भ्रष्ट अधिकारीहरू विरुद्ध अभियान चलाएर जिनपिङले आफ्ना शत्रुहरूको पनि सफाया गर्छन् । 

अध्यक्ष माओत्से तुङपछि जिनपिङजस्तो ठुलो परिमाणमा अरू कुनै चिनियाँ नेताले कदम चालेका छैनन् ।

व्यापक रूपमा चलिरहेको छ अभियान

पछिल्ला केही वर्षयता जिनपिङले हजारौँ पार्टीका नेताविरुद्ध कारबाही गरेको बताइएको छ । माथिल्लो तहका कर्मचारीसँगै तल्लो तहका कर्मचारी पनि उनको भ्रष्टाचार विरोधी अभियानको निशाना बनेका छन् ।

सन् २०१३ मा सत्ता सम्हालेपछि उनले ‘टाइगर एन्ड फ्लाईस’ अभियानबाट यसको सुरुवात गरेका थिए ।

सन् २०१७ मा, जिनपिङले सैन्य बललाई निशाना बनाए र सय भन्दा बढी अधिकारीलाई बर्खास्त गरेका थिए । 

त्यस बेला, चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको थियो कि ‘नयाँ चीन निर्माण गर्न सकियोस् भनेर युद्धमा मारिएका जनरलहरू भन्दा हटाइएका मानिसहरूको सङ्ख्या बढी थियो ।’

तर, ठुला मन्त्रीहरू एक्कासि बेपत्ता हुनुले के सङ्केत दिन्छ भन्ने सबैभन्दा ठुलो प्रश्न हो ।  र अन्त्यमा यसको असर के होला ?

पर्यवेक्षकहरूले भनेका छन् कि यी कार्यहरूले चीनको सेना र सरकारमा डरको वातावरण सिर्जना गर्नेछ ।

जिनपिङले आफ्नो कुरा बुझाउन यी कदमहरू चालेको हुनसक्ने सम्भावना छ तर, यसले अधिकारीहरूको मनोबल पनि घटाउँछ ।

जिनपिङको पक्षमा नहुने अधिकारीविरुद्ध वर्षौँदेखि चलिरहेको कारबाही र सबै उच्च पदमा उनका अनुयायीलाई राख्नुको अर्थ जिनपिङले आफ्नो वरिपरि चाप्लुसी गर्नेहरूको समूह जम्मा गरेका छन् ।

ताइवानसँगको तनाव बढ्दै गएको बेला चीनमा वरिष्ठ अधिकारी बेपत्ता हुने घटना बढिरहेको छ । हालैका हप्तामा, चीनले ताइवानलाई धम्की दिन ठुलो सङ्ख्यामा युद्धपोत र लडाकु विमानहरू आफ्नो सीमामा पठाएको छ । 

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप