आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
यात्रा संस्मरण

कञ्चन कुपिण्डे

शनिबार, ०६ असोज २०८०, १३ : ०३
शनिबार, ०६ असोज २०८०

२०७८ साल असोज २ गतेको दिन । जति छिटै हिँड्ने भने पनि घण्टाघर छाडेर इत्रामखोला आइपुग्दा बिहानको दश बजिसकेछ । 

वीरेन्द्रनगर बजारलाई बीचोबीच दुुई भाग लगाउँदै निकास खोलातिर बगिरहेको इत्रामखोला कटेर अगाडि बढ्नासाथ आइपुुग्छ सुर्खेत एअरपोर्ट । एअरपोर्ट सुनसान छ । कर्णाली प्रदेशको सदरमुकाम भएर पनि कर्णालीबाट आफै ओझेलमा छ सुर्खेत । 

कर्णाली भनेकै दुुर्गम बुुझ्छ दुनियाँ । कर्णालीका विभिन्न जिल्लामा पुुग्ने सडक त राम्रा छैनन् नै, हवाई यातायातसँग जोडिनका लागि पनि भने जस्तो एअरपोर्ट छैन सुुर्खेतसँग । 

दुुर्गम कर्णालीसँग बरु नेपालगञ्ज पो नजिक रहेछ । अधिकांश कर्णालीका हवाई उडान नेपालगञ्जबाटै हुँदा रहेछन् । तर, नेपालगञ्ज अर्कै प्रदेशमा प¥यो । एउटा प्रदेशमा बसेर अर्को प्रदेशको कुरा गर्न पनि त भएन ! जति दिन बसे पनि आफू रहे बसेको ठाउँ सुन्दर र सुविधासम्पन्न भइदियोस् भन्ने मात्र कामना हो मेरो । 

सुुर्खेती फाँटहरूमा धानले बान्की फेर्न थालेको छ । धान पसाएर बाला नुघ्न थाल्दा छुुट्टै वास्ना फैलिन्छ खेतमा । खेतका आली आलीमा डुल्दै धानको वास्नामा रमाउन मन छ मलाई । आफ्नो मेहनतको बान्की र वास्नाले किसानको मनमा झन् कति खुसी थपिँदो हो ! त्यसैले त मलाई प्रकृति र खेतीपातीकै कुरा मन पर्छ बढ्ता ।   

बर्खा सकिनुुपर्ने समयमा डाँडामाथि बादल छ र शारदीय चमक अलिकति धमिलिएको छ । तथापि, कुपिण्डे ताल हेर्ने तीव्र उत्कण्ठाले भने मनमा पर्न दिएको छैन कालो छायाँ । 

धुलियाबिटलाई फन्को मारेर सुुब्बाकुना भञ्ज्याङ पार गर्दै जङ्गलभित्र छिर्छ सडक । ठूल्ठूला रुखहरूको छहारी र थाकलका पातको चित्रकारी हेरेरै मोहित भएको छु म । वनपाखामा लर्केको घाँस देखेर पनि सम्झिरहेछु पशुपालन र खेतीपातीमा तल्लिन रहरलाग्दो गाउँले जीवन ।   

झुप्राखोला भेरीमा मिसिन्छ । भेरी भने कर्णालीसँग मिसिन अधिरतापूर्वक पश्चिमै–पश्चिम हानिएको छ । हामी कुदिरहेछौँ दक्षिण–पूर्व । जति कुदे पनि भेरी बिर्सेर धेरै पर जान सक्दैनौँ हामी । थाहा छ, केही बेरपछि भेरीकै किनारमा कुद्नु छ ।  

बर्खे भेलको धमिलो अलिक घटेको छ भेरीमा । डोजरे विकासले सुन्दर पहाडका ढुङ्गेनी मन मुटु फुटालेर रगतको भेल उर्लदा थामिन सक्दैन भेरी । तै पनि ऊ नसङ्ली जगत हाँस्दैन । सुन्दर हरियालीको शीतल सियाँल र धुलो नउडेको सफा आकास हेरेर पनि सङ्लिन कर छ भेरीलाई । मान्छेले भेरी किनारका बेसी सिङ्गार्दै प्रकृतिको संरक्षणतिर लागेमा अझ कति हाँस्दो हो भेरीको हृदय !   

यात्रामा सत्तरी गयो, पैँसठ्ठी छोडियो, पाडुुले आयो । हेर्दाहेर्दै नेपालगञ्जतिर सोझिएको मुल बाटो छोडियो । छिञ्चुु बजारको छेउ लागेर रामघाटतिर हुर्रियो हाम्रो गाडी । अघिल्लो सिटमा हुनुहुन्छ ईश्वरी अर्याल सर । पछिल्लो सिटमा छौँ राधा, प्रज्ञा, सरोज पौडेल र म । साँघुरो सडक र नागबेली घुुम्ती भए पनि याम गुरुले सहज र सुरक्षित तवरले चलाउनुुभएको छ गाडी ! थाहा छ, यात्रा सुरक्षित भए रमाइलो चौगुणा बढ्छ ।  

भेरीकै किनारमा आइपुुगियो फेरि । भेरीमा मिसिन लागेको खोलामा नीलो दह छ । दह सुुहाउँदो छ केटाकेटीहरूको जलक्रीडा । ती नाङ्गै खेलिरहे पनि नाङ्गिएका छैनन् । कोही दौरा, सुरुवाल र कोटले पुरिँदा पनि नाङ्गै देखिन्छन् । यो दुनियाँको कस्तो विडम्बना ! 

म विचारको भुमरीमा फनफनी घुम्दै रहेछु, सङ्लो पानी देखेर लोभिँदै बोल्नुुहुन्छ सरोज सर– “पौडी खेलौँ जस्तो दह रहेछ ।”  

“हिँड्ने बेलामा हतार गरेर कुदियो । स्वीमिङ कस्ट्युम ल्याउन पाएको भए !” ईश्वरी सर र सबैका मुखबाट निस्किन्छ चुक्चुकाउँदो एउटै स्वर । 

रामघाटमा छन् हेर्न लायक आँपका बगैँचा । दशरथपुर र रामघाटका विभिन्न गाउँ डुलेर बोटमै पाकेका रसिला आँप खाएको सम्झिन्छौँ हामी । सम्झनासँग जति सङ्लिन सक्यो, उत्ति सुखी जिन्दगी । वर्तमान सुखद भए अति उत्तम । नभए विगतका मिठा सम्झना र भविष्यका सुन्दर कल्पनाले भए पनि खुसी खुसी चलाउनुपर्छ जिन्दगी । रामघाटका फाँटहरूमा कुदिरहँदा यसै भनिरहेको छ मेरो मन । 

चिप्लेको सुन्दर बस्ती आयो । बस्ती सुन्दर हुन चिटिक्कका घर आँगन र हरिया खेतबारी भए पुग्छ । हँसिला मान्छेहरू हुन् त्यहाँ । हाँसीखुसी बाँचुन् ती । शायद स्वर्ग भनेको त्यही होला । हो, त्यस्तै गुण लक्षण भएका गाउँबस्तीहरू आइरहे, आइरहे । स्वर्गमा डुल्दै छु भन्ने अनेक सुखानुभूति दिलाइरहे तिनले । 

भेरी बबई डाइभर्सनका लागि बाँध निर्माण भइरहेको छ । भेरीको पानी बाह्र किलोमिटर सुरुङबाट छिराएर बबईमा झार्ने राष्ट्रि«य गौरवको आयोजना हो यो । बिजुली निकाल्ने र बर्दियाका फाँटमा सिँचाई गर्ने लक्ष्य छ यस आयोजनाको । सुरुङ निर्माण भइसकेको छ । अन्य काम भने निर्माणाधीन छन् । सबै चाँजोपाँजो मिलाउँदा मिलाउँदै कछुवा गतिमा घिस्रिरहेछौँ हामी । यो त हाम्रो पहिचानै भयो ।

जहरेको अनुहार मलिन लाग्छ मलाई । भेरी थुनिँदा जहरेसम्म तालिन्छ भन्ने सुनेर त्यस्तो लागेको हुन सक्छ । यहाँका मान्छेको अनुहार हेर्छु । किञ्चित घटेको छैन, मुहारको मुस्कान र शरीरको जाँगर । व्यर्थै चिन्ता लिने मेरो बानी ।

खेतबारीका आली कान्लामा खन्यु, कुट्मिरो, बेडुलो आदि डाले घाँसका पाथ्राहरू देखिन्छन् । घरघरमा छन् बाख्रापाठा । सराबरी नै देखिन्छन् आँप, मेवा, केरा र कटहरका बोट । घर आँगनको शोभा– करेला, घिरौँला, फर्सी र लौकाका झाल । 

हेरिरहँु जस्ता टुप्पामा सेता पहेँला फूल र आँख्लैपिच्छे फलेका राम तोरियाका बोट । नेपालका अधिकांश बस्तीमा यस्तै दृश्य देख्न पाए विषादी हालेको फलफूल तरकारी त्यसै विस्थापित हुने थियो । केही गर्न नसक्नेहरूका झुठा आश्वासनले मन अमिल्याउन पर्दैनथ्यो । आशाका त्यान्द्रामा झुण्डिएर निराशा खेपिरहन पर्दैन्थ्यो । मनमा कोपिला पलाउँछ र फक्रन नपाउँदै लज्जावतीझैँ ओइलाउँछ ।   

गोचेखोला तरेपछि गुर्भाकोट नगरपालिका लाग्दो रहेछ । गोचेखोलामा पनि पौडी खेलिरहेका छन् ठिटाठिटीहरू । छेउमै छ भेरी । बर्खा बगेर गइसकेको खोलासँग डराउनुपर्दो रहेनछ । भन्छु मनमनै, खोलाको डर– धमिलो र उत्ताउलो आवेग । केही थाहा नपाउने र आँखा नहेर्ने भएर नै भनिएको होला बर्खाको खहरे खोला ।

मेहलकुनासँग छ ठूलो बजार र फराकिलो बाटो । बोटेचौरबाट छोडियो दाङ तुलसीपुरतिर जाने बाटो । मकै निकालेर आलु लगाइरहेका फाँट देखिन्छन् । ठूल्ठूला पहाडहरूको फेदीमा स–सानो उपत्यका रहेछ पोखरे । 

भेरी भेट्टाउन झरिरहेको छ झरनाको कञ्चन पानी । हेर्दा त यति शीतल लागिरहेछ, छुन नुहाउन पाएको भए ! मन बोल्छ मोहित हुँदै । म सम्झाउँछु मनलाई– संसारमा धेरै कुरा हेर्ने मात्र हो ।   

डरलाग्दा खहरे, भीर र भेरी हेर्छु । कर्णाली भेट्ने आकांक्षाले भेरीले निकै पहाड फुटालेको रहेछ । डोल्पाली भोटबाट वेगिँदै यहाँसम्म आइपुग्दा भेरीले निकै गल्छी गल्छिँडा छिचोलेको रहेछ । प्रवाह रोक्दै लड्न भिड्न आउने भीमकाय पहिरा र पत्थरिला पहराहरूलाई बगरमै सोत्तर पारेको रहेछ । र त, भनिएको होला– सङ्घर्षशील जिन्दगीका लागि नदी पनि प्रेरणाको स्रोत हो ।     

पहाडका दाँत, हेराई र मुस्कान देखाउँछिन् राधा । नीलो भेरीका सुकिला छाल देखाउँछिन् प्रज्ञा । देखिसकेको दृश्य पनि आफ्ना मान्छेले देखाउँदा झन् सुन्दर लाग्दो रहेछ । फर्की फर्की हेर्छौं, मनमा बसाउँछौँ र रमाउँछौँ दृश्यहरूसँग ।    

जाजरकोटतिर वेगिएको बाटो बालुवा सङ्ग्रहीमा विछोडियो हामीसँग । हाम्रो बाटो सल्यान खलङ्गातिर मोडियो । सङ्लो खोलाको किनारै किनार उक्लिरहेछ बाटो । वनगाड खोला रहेछ त्यो । खोलाको दुुबैतिर स–साना बेसी छन् ।  

“कस्तो राम्रो धान फलेको !” सङ्लो खोला र बेसीमै छ सबैको नजर । 

सुनभन्दा सुन्दर देखिएको छ पाकेको धान । लटरम्म फलेर सुशील सन्तानझैँ निहुरेका छन् धानका बाला । छेवैका पहाडले दुइटा हत्केलाबीच यति जतनसाथ छोपेर राखेको रहेछ बेसी खेतलाई, कुनै छेउकुनामा पनि ढलेको छैन धान । गाडी रोकेर हेरियो । गुडिरहेको गाडीको झ्यालबाट हेरियो । अहँ अघाएन मन । प्यास मेटाउन पहाडका भित्तातिर फर्कन्छु म । पहाड पनि खोलातिरै फर्केको रहेछ । म अचम्मित छु, आफ्नै काखबाट बेसी झरेको खोलो हेर्ने पहाडको नजर पनि उस्तै उन्मादी ।

माझखोला तरेर उक्लिरह्यौँ हामी । गाउँबस्ती र वनपाखाको लुुकामारी भइरहेछ । वनमा देखिन्छन् झपक्क पातले ढाकेका चिउरीका हरिया रुख । सल्लेरी वनको छहारी छ उस्तै । भेडाबाख्रा चराउन हिँडेका गोठालासँग भइरहन्छ जम्काभेट । वनपाखामा घन्केको सुनिन्छ लोकगीत– ‘सल्यानी सुसेली गाउँला, मायाले जाँ भन्छौ त्यहीँ आउँला !’ 

सल्यान जिल्लामा टेकिसकेछौँ हामीले । नाम सुन्दै मनमा सुन्दर चित्र कोरिने जिल्ला सल्यान । आफ्नै अन्तर कुन्तरका आधाअधुरा सल्यानी सन्देश घुम्न थाल्छन् मेरो मनमा ।  

पूर्वमा राप्ती, उत्तरपश्चिममा भेरी, बीचोबीच शालीन शारदा र अनगिन्ति खोलानालाको जलप्रवाहले सिञ्चित छ सल्यान । सल्यानी भूमिका ठूला ताल– कुपिण्डे र ज्यामिरे । सल्यानी उचाइ– कुमाख, चिप्ले, बाउँभीर, लस्तम, थर्कोट आदि लेकहरू । ठूलो बेँसी बागचौर थारमारे । यिनै प्रकृतिले सिङ्गारेको भूमि हो सल्यान । खैरावाङ भगवती, छायाँक्षेत्र र फालावाङको सिद्ध थान हेर्न पनि बाह्रैमास ओइरिन्छन् पर्यटकहरू । सल्यान नामकरणका अनेक कारण होलान्, तथापि अधिकांश क्षेत्रमा सल्लेरी वनले ढाकेकोले सल्यान भनिएको भन्ने भनाईले मन छोइरहेछ ।  

पृथ्वीनारायण शाहकी छोरी विलास कुमारीले आफ्नो विवाह सल्यानी राजकुमारसँग भएपछि आफ्ना बाबुसँग केही माग राखेकी रहिछिन् । दाङ जिती सल्यानलाई दिउँला भनेका पृथ्वीको असमयमै निधन भएकोले तत्काल उनको आश्वासन पूरा हुन पाएनछ । 

बहादुर शाहका पालामा बाइसी राज्यउपर विजय हासिल भएपछि दाङलाई सल्यानमा गाभी सल्यानलाई नेपालकै अधिनस्थ राज्यको रूपमा राखिएको रहेछ । चौध अञ्चल पचहत्तर जिल्ला विभाजन हुँदा २०१८ सालमा सल्यान छुट्टै जिल्ला कायम भएको रहेछ ।  

टप्पा, सिंगारू, ठाडो भाका, ख्याली आदि यस भेगमा प्रचलित लोकभाकाले लठ्ठिन्छुु म । रेडियो नेपालबाट खुुब घन्किन्थ्यो एकताका यो सल्यानी टप्पा– ‘काला कुर्तैले, छ महिना जागिर खायाँ, दैया म¥यो आफ्नै कालले म मरेँ सुर्तैले !’ 

मादल, बाँसुरी, झ्याली र खैँजडी बजाउँदै गाउने र नाच्ने गीत हो टप्पा । हातका रुमाल हल्लाउँदै नाच्छन् युवा युवतीहरू । ती शब्द, लय र नाचले यसरी छोएछन्, खाल्टाखुल्टीमा गाडीले हल्लाएको पनि यादै भएनछ । ‘दाङ राम्रो तोरीले सल्यान राम्रो सल्लेरीले, एकोहोरो पारी मलाई नौजाले मोरीले !’ भनेझैँ पो भएछ । 

खलङ्गा जाने बाटो छोडेर वनपाखाभित्र नलाग्दै आइ त हालिएछ कुपिण्डे तालमा ।  

आहा ! पहाडहरूका बीचमा नीलो ताल । कसैले उत्तर दक्षिण फैलाएर सोली घोप्ट्याए जस्तो । पहाडको फेदीमा बडेमानको कुपिण्डो लडाए जस्तो । तालका लहरमा घामको मोती खसेर छरिए जस्तो । तालमा पखालिएर पहाड सफा सुग्घर भए जस्तो । शिखरका हरिया वनमा तालको पानी सिञ्चन गरे जस्तो । 

कहाँनेर बसेर हेरौँ म प्रकृतिको अद्वितीय कलालाई ? डाँडा वारि कि डाँडा पारि नै जाउँ । उचाइबाट नियालुँ कि तालमै पुुगेर अनुहार पखालुँ ? म खुसीले मच्चिएको छु, उचालिएको छुु ।

वर्षौं पहिले प्लेनबाट सुर्खेत आउँदा पहिलो पटक देखेथेँ कुपिण्डेलाई । पहाड र जङ्गलको बीचको सुन्दर नीलिमा रारा नै त होइन भन्दै हेरेथेँ मज्जाले । कुपिण्डे ताल हो भनेर चिनाएथे कपिलले । अर्को पटक परिवार लिएर आउँला, डुङ्गा चढौँला, पौडी खेलौँला भनेका कपिल कहिल्यै नफर्कने गरी अस्ताएर गए । उनको स्मृति बिम्वले एकछिन धमिल्यायो मनको तलाउ ।    

एकजना बूढी आमै आइपुगिन् हरिया पहाडी काँक्रा लिएर । काँक्रा बेचुुञ्जेल सुनाइन् आफ्ना साँघुरा अफ्ठेराहरू– छोरा बुहारी भए पनि एक्लै बस्नु परेको, बुढेसकालको कमजोर जीउज्यानलाई ज्याला मजदुरी गर्दै पातको साँघुबाट पार लगाउनु परेको, आदि आदि । 

बूढीआमाको अनुहारको उदासी हटाउने कतै कोही ईश्वर देखिन्छ कि भनी टाउको उचालेर घुमाउँछु चारैतिर । कतिबेला लड्लान् जस्ता भीरमा झुण्डिएका बल्ड्याङ्ग्रे ढुङ्गाहरू मात्र देखिन्छन् । मान्छेको पीर मर्कामा पनि नपग्लने संसारको सबैभन्दा कडा वस्तु हो ढुङ्गा । ढुङ्गालाई काखमा राखे पनि चोट लाग्छ । ढुङ्गाको शरण परे पनि चोटै दिन्छ । सोच्छु, त्यसैले मान्छेले ढुङ्गालाई अलग्गै राखेर पुज्न थालेको होला । 

तालको किनारमा बराहको मन्दिर रहेछ । सग्ला कुभिण्डाले पुजा गरिँदो रहेछ । छेवैमा बलि चढाउने थान पनि रहेछ । सुन्तला, काँक्रा र खिच्रिङ मिच्रिङ बेच्नेहरू पनि देखिए बग्रेल्ती । ताल किनारमा डुङ्गाका लस्कर उस्तै । कुपिण्डे हेर्न आउजाउ गर्नेहरूका ताँती उस्तै ।  

ताल भएको ठाउँमा पहिला ठूलो गाउँ थियो रे । एक साँझ घुमन्ते साधुुलाई कसैले बास दिएनछ । एकजना वृद्ध आमाको घरमा बास बसेका उनले भोलिपल्ट बिहान ती आमालाई पछाडि नफर्की पहाडको चुचुरोतिर जान अह्राएछन् । ती आमै चुचुरोमा पुुगेर तल हेर्दा त पूरै गाउँ जलमग्न ताल । तालमाथि कुभिण्डा उत्रिरहेका । ती साधु कैलो बराह थिए रे ! यही किंवदन्तीले झन् गहिरो र कञ्चन बनाएको रहेछ कुपिण्डेलाई ।  

तालले मौसमअनुसार रङ बदलिरहन्छ ! तालको पानी कतैबाट निस्की बगेको देखिँदैन । तालमा खसेको पात चराले टिपेर लैजान्छ । मंसिर पूर्णिमा र वैशाख पूर्णिमामा ठूलो मेला लाग्छ , चिताएको पुुर्‍याउँछ ताल ।  प्राणशक्ति कुभिण्डो आकारको हुन्छ । बह्माण्ड उत्पत्ति गरेकी कुष्माण्डा देवीको प्रिय बलि कुभिण्डो हो । त्यसैले, यस ताललाई कुभिण्डेताल पनि भनिन्छ । 

आहा ! म सुन्दै छक्क परिरहेछुु, कुपिण्डे तालप्रति कति स्नेहभाव रहेछ स्थानीयको । ताल वरपरका गाउँहरूको दैनन्दिनको मायाले नै त यति सङ्लो र सर्सराउँदो भएको होला ताल । ताल छेउमै गाडी ओराल्ने र ताल वरपर बाटो खन्ने यत्ति नगरिदिए हुने मान्छेले । मेरो मनमा पनि उत्तिकै माया पलाएको छ तालप्रति ।  

अनि तालको पानीमा रमायौँ । ताल किनारमा फोटा खिच्छौँ । ताल छेउको तिजुको फेदमुनि बसेर भर्खरै किनेका काँक्रा र खाजा खायौँ । र, आएकै बाटो फर्कियौँ हामी । ताल छोडिए पनि कहिल्यै नमेटिने गरी मेरो नानीमा तालिएको छ कुपिण्डेको सङ्लो त्यो जल र ती मसिना मसिना लहर ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भेषराज रिजाल
भेषराज रिजाल
लेखकबाट थप